Logo

अर्घाखाँचीका स्थानीय तह पुरानै कार्यक्रम

अर्घाखाँची– अर्घाखाँचीका ६ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । जेठ २७ बाट सभा सुरु गरी असार १० भित्र बजेट ल्याएका हुन् । सार्वजनिक गरिएको बजेटमा शितगंगा नगरपालिकाको ९३ करोड ६७ लाख, सन्धिखर्क नगरपालिकाको १ अर्ब ११ करोड १४ लाख, मालारानी गाउँपालिकाको ६२ करोड ९२ लाख, पाणिनी गाउँपालिकाको ७२ करोड २० लाख, छत्रदेव गाउँपालिकाको ५४ करोड ९ लाख र भुमिकास्थान नगरपालिकाको ८३ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।

उनीहरूले ल्याएको बजेटमा अधिकांश पुरानै योजना रहेका छन् । सन्धिखर्क नगरसभाको १८ औं अधिवेशनमार्फत नगर उपप्रमुख मिश्रा आचार्यले सार्वजनिक गरेको बजेटमा स्थानीय रैथाने बालीबाट उत्पादित वस्तु ब्रान्डिङ र प्याकेजिङ गरेर बजार पठाउने भनिएको छ । पालिका भित्रका छनोट गरेका सहकारीबाट बजारीकरण गर्ने भएको छ । स्थानीय कृषि उत्पादनको प्रशोधन, भण्डारण, ब्राण्डिङ, प्याकेजिङ, लेबलिङ गरेर उत्पादित वस्तु जिल्ला र ठूला सहरहमा निर्यात गरिने बजेटमा उल्लेख छ ।

कृषि उद्यमबाट स्थानीयलाई रोजगारी बनाउने नीतिअघि सारेको हो । सन्धिखर्क नगरपालिकालाई खाद्यान्नमा आत्ननिर्भर बनाउन लुम्बिनी प्रदेश विशेष कार्यक्रमअन्तरगत नवीनतम प्रविधि अन्तर्गतको धान, मकै बाली प्रवर्द्धन गर्ने उल्लेख छ । जसका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कृषि व्यवसायलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने आचार्यले विनियोजन गरेको बजेटमा उल्लेख छ । तरकारी पकेट विकास कार्यक्रम, कफी पकेट र सुन्तला विशेष कार्यक्रम ल्याइने पनि उल्लेख छ ।

एभोगाडो, ड्रागन फुड, कागती, आरुबखडालगायतका हिउँदे तथा वर्षे फलफूल खेतीको लागि बिरुवामा ५० प्रतिशत अनुदानमा वितरण गरिने उल्लेख छ । क्षेत्रफलका हिसाबले देशैको ठूलो अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषि उद्यमबाट स्थानीयलाई रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको छ ।

वडा कार्यालयसँगको समन्वयमा सहकारीमार्फत कृषि उद्यमशीलता कार्यक्रम सबै वडामा सञ्चालन गरी कृषि तथा पशु विकास सम्बन्धी उत्पादन बढाउने उल्लेख छ । उपप्रमुख गीता भाटले सार्वजनिक गरेको बजेटमा कृषि तथा पशु विकासका माध्यमबाट रोजगारी सिर्जना र आयआर्जन बढाइने उल्लेख छ । मालारानी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

उपाध्यक्ष दीपा पोखरेलले सार्वजनिक गरेकी बजेटमा सडकलाई पिच गर्ने, कृषि, पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई स्वरोजगार बनाउने उल्लेख छ । सुन्तला, फलफूल, कोदो खेती विस्तारसहित स्थानीय बालीको संरक्षण गर्दै बाँझो बारी नराख्ने र उत्पादन बढाउने लक्ष्य लिइएको छ । कृषि तथा पशु उद्यमशीलता विकास परियोजना बहुवर्षीय रुपमा सञ्चालन गर्ने भएको छ ।

सामुदायिक स्कुलको शैक्षिक गुणस्तर वृद्धि गर्ने, सबै नागरिकको स्वास्थ्य सेवालगायत पुरानै कार्यक्रम तथा योजनालाई निरन्तरता दिइएको छ । पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले सार्वजनिक गरेको बजेटमा कृषि उत्पादनलाई जोड दिइएको छ । शिक्षामा सुधार, स्वास्थ्यमा सहज पहुँच, पूर्वाधार विकास, खेलकुद गतिविधि, पालिकाभित्रका सडकलाई सुधारसहित स्थानीय तथा युवालाई कृषि उद्यममा जोड्ने र रोजगारीका अवसर सिर्जना गर्ने उल्लेख छ ।

छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थीले ल्याएको बजेटमा पनि पुरानै कार्यक्रम र योजनालाई निरन्तरता दिइएको छ । पालिकाभित्र शैक्षिक गुणस्तर वृद्धि गर्ने, कृषि उद्यमलाई महत्त्व दिइएको छ । शितगंगा नगरपालिकाले कृषि क्षेत्रअन्तर्गत बिउ फल उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । समपूरक क्षेत्रबाट विनियोजन भएका योजनालाई कार्यान्वयनमा जोड दिँदै स्थानीयलाई रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको नगरप्रमुख झविलाल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्