Logo

अन्नपूर्ण गाउँपालिकाको आगामी बजेट ६५ करोड

पोखरा– कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ६५ करोड १५ लाख ३४ हजार ७७५ रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले मंगलबार गाउँसभामा आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

उनले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा ७.६४ प्रतिशत अर्थात ४ करोड ६२ लाख ५९ हजार ३८७ रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा पालिकाले ६० करोड ५२ लाख ७५ हजार ३८६ रुपैयाँको बजेट विनियोजन भएको थियो । आउँदो आर्थिक वर्षको लागि चालुतर्फ ४३ करोड ३२ लाख ६२ हजार ७७५ र पुँजीगत तर्फ २१ करोड ८२ लाख ७२ हजार खर्च हुने अनुमान गरिएको बजेटमा उल्लेख गरिएको छ ।

बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ५७ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ ११ करोड ८२ लाख, ९८ हजार ७७५ नेपाल सरकार सशर्त अनुदानतर्फ २९ करोड ८१ लाख, नेपाल सरकार समपुरक अनुदानतर्फ ३ करोड, नेपाल सरकार विशेष अनुदान रकम २ करोड ५५ लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँट १ करोड़ ४ लाख ६२ हजार, गण्डकी प्रदेश सरकार समपुरक अनुदानतर्फ ६० लाख रहेको छ ।

यसैगरी बजेटको स्रोतमा गण्डकी प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड़ ३२ लाख ७४ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम ४० लाख र चालु आर्थिक वर्षका लागि आन्तरिक स्रोत अनुमान ३ करोड व्यहोरिने अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताइन् ।

उक्त बजेट सामाजिक विकासतर्फ ३२ करोड ५० लाख ६२ हजार ७७५, पूर्वाधार विकासतर्फ १४ करोड ४३ लाख ७२ हजार, आर्थिक विकासमा ४ करोड ८१ लाख, वातावरण तथा विपद व्यवस्थापनमा ६७ लाख, सुशासन तथा संस्थागत विकासतर्फ १ करोड ५ लाख, वडागत पुँजीगत अनुदान २ करोड ३८ लाख विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले जारी गरेको बजेटमा उल्लेख गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै पारितसमेत भई बजेट आएको हो । चालु आर्थिक वर्षको हालसम्म ७२.१५ प्रतिशत बजेट खर्च भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए । उनका अनुसार चालु वर्षको हालसम्म ५७ करोड ३३ लाख खर्च भएको छ ।

चालुतर्फ ७६.४२ प्रतिशत र पुँजगततर्फ ६१.९७ प्रतिशतले खर्च भएको पोखरेलले जनाए । चालुतर्फ ४२ करोड ६३ लाख १२ हजार ५र पुँजीगततर्फ १७ करोड ८९ लाख ६२ हजार ८८६ रुपैयाँ विनियोजन भएको थियो । गाउँपालिकाले कृषिलाई बजेटको पहिलो प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले ‘कृषि, पर्यटन, उर्जा र पूर्वाधार: अन्नपूर्ण समृद्धिको आधार’ भन्ने मूल नारासहित अगामी आर्थिक वर्षका योजना तथा प्राथमिकता सार्वजनिक गरेको हो । उत्पादनमुखी, समावेशी र सामाजिक न्यायमा आधारित समृद्ध अन्नपूर्णको दिशामा अघि बढ्नका लागि प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्