फेवातालमा गाडियो साढे तीन सय सीमास्तम्भ

पोखरा– पोखराको फेवातालमा बिहीबारसम्म ३४ प्रतिशत सीमास्तम्भ (पिल्लर) गाडिएको पोखरा उपत्यका नगर विकास समितिले बताएको छ । समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले गत जेठ १७ देखि सुरु अभियानअन्तर्गत हालसम्म तीन सय ६० पिल्लर गाडिएको जानकारी दिएका हुन् । सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको पुन: सीमांकनपछि सीमास्तम्भ गाड्ने काम तीव्र पारिएको पोखराका मेयर धनराज आचार्यले बताए ।
पोखरा महानगर, गण्डकी प्रदेश र सरकारको संयुक्त पहलमा तालघरमा सीमास्तम्भ गाड्ने काम सुरु भएसँगै बिहीबार फेवातालको भकुन्डे माछापोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको मेयर आचार्यले निरीक्षण गरे । फेवाताल संरक्षणका सम्बन्धमा सर्वोच्चको आदेशअनुसार महानगरले सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक काम तीव्र रुपमा अघि बढाउँदै लगेको उनको भनाइ छ । तालघरमा सीमास्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उनले हौसलासमेत दिए ।
‘निष्ठाका साथ फेवातालको प्राकृतिक न्यायका लागि पहल गर्ने सबैप्रति आभार गर्न चाहन्छु । फिल्डमा खटिएका जनशक्ति प्रशंसाका पात्र हुन् । पहिलो चरणमा तालघरमा सीमास्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरु गर्ने योजना महानगरको छ’, उनले भने । तालको ६.३४३ वर्गकिलोमिटर क्षेत्रफलको चार किल्लामा १ हजार ५५ वटा पिल्लर गाड्ने योजना छ । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ ।
फेवाताल संरक्षणका लागि सर्वाेच्चको फैसला कार्यान्वयन सहजीकरण समिति संयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मेयर आचार्य र जिल्ला प्रशासन कास्कीका तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले फेवा किनारबाट पोल गाड्न सुरु गरेका थिए । पोखराको फेवाताल सीमांकन डिजिटल रूपमा सकेर भौतिक रुपमा पोल गाड्न सुरु भएको हो । तालमा बर्खाको समय उच्च सतहबाट ६५ मिटरसम्म मापदण्ड कायम गर्ने गरी सर्वाेच्चको आदेशअनुसार सीमांकन गरिएको मेयर आचार्यले जानकारी दिए ।
यद्यपि फेवा सीमांकनप्रति जग्गाधनी र केही स्थानीयले विरोध गर्दै आएका छन् । फेवातालको सीमांकन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण गरेको थियो । पछिल्लो रिपोर्टअनुसार २९ वटा मुख्य आधारबिन्दु कायम गरी ४० सेमि उचाइका २९ पिल्लर जमिनमुनि गाडिएका छन् । ९ हजार नियन्त्रण बिन्दु कायम गरिएका छन् ।
सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्सा अध्ययनपछि फेवातालको हाइ फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको छ । उक्त बिन्दुलाई आधार मान्दा तालको तालघर ६.३४३ वर्गकिमि अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम भएको छ । सर्वोच्चले तोकेको ६५ मिटरसमेतको क्षेत्रफल ७.६१६ वर्गकिमि (१४ हजार ९७० रोपनी) हुन आएको मेयर आचार्यले बताए ।