पूर्ण रुपमा चल्यो माथिल्लो तामाकोसी

दोलखा– क्षतिग्रस्त संरचना मर्मत गरेपछि बिहीबारबाट माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले पूर्ण रूपमा उत्पादन सुचारु गरेको छ ।
देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसी (४५६ मेगावाट) को क्षतिग्रस्त दुवै बालुवा थिग्राउने पोखरी (डिस्याण्डर) सञ्चालनमा आएपछि विद्युत उत्पादन पूर्ण रूपमा हुन थालेको हो । १० महिनामा क्षतिग्रस्त दायाँतर्फको बढी क्षति भएको बालुवा थिग्राउने पोखरी पुनर्निर्माणपछि सञ्चालनमा आएको छ । दुई वटा पोखरीमध्ये दायाँतर्फको पोखरी ४० प्रतिशत क्षति भएको थियो ।
अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीका कारण गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाँधको सबै ढोका खोलेर उत्पादन बन्द गरेको थियो । विद्युत गृह बन्द गर्दा विद्युतगृह र सुरुङ सुरक्षित रहे पनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी (डिस्याण्डर) र भूमिगत नहरमा ठूलो क्षति भएको थियो ।
दुईवटा डिस्याण्डरमध्ये कम क्षति भएको बायाँतर्फको डिस्याण्डर र भूमिगत कल्भर्ट पुनर्निनिर्माण गरेर गत पुसदेखि विद्युत गृह सञ्चालनमा ल्याइएको थियो । अहिले दुवै पोखरी दुरूस्त भएपछि पोखरीमा जम्मा भएको बालुवा सफा गर्न सहज भएको छ । अपर तामाकोसी जलविद्युत केन्द्रका प्रमुख पूर्णगोपाल रञ्जितले एउटामात्रै हुँदा बालुवाका कणहरू पनि आउँदा विद्युत गृहका उपकरण खिइने समस्या हुने बताए । दायाँ पोखरी तयार भएपछि बायाँ पोखरीको बालुवा सफा गर्ने उनले जानकारी दिए ।
कम क्षति भएको र हिउँदमा विद्युतको माग धान्न आपत्कालिन अवस्थामा रोल्वालिङ खोला जलविद्युत आयोजनाकै निर्माण कम्पनी हाइ हिमाल कन्ट्रक्सनमार्फत सफा गर्ने र मर्मतको काम गरेको थियो । तर बढी क्षति भएको दायाँ पोखरीको सार्वजनिक खरिद ऐनअनुसार ठेक्का आह्वान गरेर पुनर्निर्माण गरिएको हो । पोखरी निर्माणको ठेक्का लिएका च्छोरोल्पा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक निर्देशक फुर्लाक्पा शेर्पाले देशको विद्युत आवश्यकतालाई मध्यनजर गरेर रातदिन काम गरेर निर्धारित समयमा पोखरी पुनर्निर्माण गरेको बताए । ठेक्का सम्झौता भएको ४ महिनामा निर्माण व्यवसायीले काम पूरा गरेको हो । यसअघि अन्तर्राष्ट्रिय ठेक्का अन्तर्गत चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पाेरेसनले डिस्याण्डर सहितको सिभिल काम गरेको थियो ।
डिस्याण्डरभन्दा माथिको खोल्साबाट ठूला ठूला बोल्डर र लेदो आएपछि डिस्याण्डर र कल्भर्डमा क्षति भएको थियो । थप बोल्डरहरू आउन सक्ने ठाउँको समेत सुरक्षाको काम समेत जारी छ । पहिरोले हेडवक्र्स क्षेत्रको सुरक्षा नियन्त्रण गृह समेत पूर्ण रुपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका २ जना र माथिल्लो तामाकोसीकै २ जना कर्मचारी सहित ४ जनाको ज्यान समेत गएको थियो । माथिल्लो तामाकोसीको २ वटा पोखरी मध्ये दायाँ तर्फको ४० प्रतिशत क्षति भएको थियो भने बायाँ तर्फको २० प्रतिशत क्षति भएको थियो ।
बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरीवेक्षणका लागि एनइए इञ्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ । उसैको सिफारिसका आधारमा कम्पनीले पुनर्निर्माणको काम गरेको हो ।