तातोपानी नाकाबाट वैदेशिक व्यापार
झण्डै ४७ अर्बको आयात हुँदा निर्यात शून्य

काठमाडौं– नेपाल र चीनबीच व्यापारको सबैभन्दा पुरानो सिन्धुपाल्चोकस्थित तातोपानी नाका यो वर्ष आयातका लागि मात्र सीमित बनेको छ । चालु आर्थिक वर्षको ११ महिनामा तातोपानी नाकामार्फत चीनतर्फ निर्यात शून्य छ भने आयात अर्बौंको पुगेको छ ।
नेपाल र चीनबीच हाल मुख्य रुपमा दुई स्थल नाका सुचारु अवस्थामा छन् । भन्सार विभागका अनुसार ती नाकामध्ये रसुवागढी नाकाबाट आयात र निर्यात दुवै भइरहेको छ । तर, तातोपानी नाकाबाट भने आयातमात्र भइरहेको तथ्यांक छ ।
चालु आवको जेठ मसान्तसम्म तातोपानी नाकाबाट कुल ४६ अर्ब ८९ करोड ३५ लाख ८१ हजार रुपैयाँबराबरको वस्तु आयात भएको छ । यही नाकाबाट एक रुपैयाँको पनि निर्यात भएको छैन ।
विभागका अनुसार यही अवधिमा रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख २३ हजार रुपैयाँको आयात भएको छ । यो तथ्यांक नेपालको कुल आयातको झन्डै ५ प्रतिशत हो । रसुवागढी नाकाबाट ११ महिनामा एक अर्ब ९६ करोड १४ लाख ३ हजार रुपैयाँबराबरको निर्यात भएको छ । नेपालको कुल निर्यात व्यापारमा यो रकम ०.७९ प्रतिशत हो ।
अघिल्लो आव (२०८०–८१) मा पनि यस नाकाबाट निर्यात निराशाजनक थियो । एक वर्षमा नेपालले ९३ लाख २१ हजार रुपैयाँको मात्र निर्यात गरेर तातोपानी नाकाबाट ४० अर्ब ३४ करोड रुपैयाँबराबरको आयात गरेको थियो । यस नाकाबाट नेपालले विद्युतीय गाडी, फलफूल, लत्ताकपडा तथा जुत्ता लगायतका वस्तु आयात गर्ने गरेको छ ।
नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष रामहरि कार्कीका अनुसार तातोपानी नाकामा क्यारेन्टाइन र ल्याक दुवै छैन । चिनियाँ पक्षले ल्याब परीक्षण महत्वपूर्र्ण मान्छ भने समयमै क्यारेन्टाइनको व्यवस्था हुन नसक्दा सामान बिग्रिने, सड्ने, गल्ने हुँदा निर्यातकर्ता पनि त्यो नाका भएर निर्यात गर्न रुचि राख्दैनन् । यसका साथै चिनियाँ पक्षले खासातर्फ पूर्वाधार निर्माणका काम गरेकोले यो नाकामा ध्यान दिएका छैनन् ।
अरनिको राजमार्गको दूरावस्थाका कारण तातोपानी नाका वर्षायाममा पूर्ण रुपमा सञ्चालनमा आउन सक्दैन । हिउँद महिनामा सुचारु नै रहे पनि तातोपानी नाकाबाट एकपक्षीय व्यापार हुनुलाई सरोकारवालाहरुले चिन्ताको विषय भनेका छन् । एक दशकअघिसम्म नेपाल र चीनबीचको एकमात्र ‘लाइफलाइन’ रहेको यो नाका नेपालको रसुवा र चीनको केरुङ जोड्ने सडक सञ्चालनमा आएसँगै ठप्प भएको हो । रसुवागढी नाका सन् २०१४ को डिसेम्बरबाट सञ्चालनमा आएको हो । यता जुरे पहिरो र भूकम्पका कारण सिन्धुपाल्चोकका विभिन्न स्थानमा भौगोलिक विपत्ति आएसँगै चीनको खासा बजार जोड्ने तातोपानी नाका लामो समय बन्द रह्यो । दुई वर्षअघि सञ्चालनमा आए पनि यो नाकाबाट नेपालभन्दा चीनका लागि मात्र लाभ भइरहेको छ ।
नेपाल–चीनबीचको तातोपानी (कोदारी–खासा) नाका ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्थ्यो । यसले हिमालय पार गर्दै व्यापार र यात्रालाई सहज बनाउँथ्यो । तातोपानी क्षेत्र लामो समयदेखि नेपाल–तिब्बत (चीन) को प्राचीन द्विपक्षीय व्यापार मार्ग भएर आएको थियो । सन् १९६० र ७० को दशकमा अरनिको हाइवे र कोदारी–खासा सडक विस्तार हुँदा यस नाकाको व्यावसायिक महत्व बढ्दै गएको थियो । २०७२ को भूकम्पले नेपाल–चीन मैत्री पुल र आसपासको संरचनामा भयानक क्षति गरेको थियो । जसका कारण दुई मुलुकबीच व्यापार पूर्ण रूपमा ठप्प भयो र नेपालतर्फको तातोपानी तथा चीनतर्फको खासा बजार सुनसान भयो ।
यसलगत्तै भू–स्खलन र ग्लेशियर विस्फोट लगायतका कारणले सडक र पुलहरू अवरुद्ध बनाएको थियो । कोभिड महामारीका कारण लामो समय बन्द रहेको यो नाका दुई वर्षअघिदेखि सीमित व्यापार र कच्चा संरचनासहित पुनः सञ्चालनमा आए पनि यसबाट हुने व्यापार नेपालको पक्षमा छैन । २०२३ मे महिनाबाट दुवैतर्फ व्यापार खुल्ने सहमति भए पनि व्यवहारमा भने निकै अवरोध भइरहेको नेपाल चीन उद्योग वाणिज्य संघले जनाएको छ । अहिले पनि चीन निर्यातमा अवरोध छ भने तातोपानीबाट निर्यातमा झनै बढी अवरोध रहेकाले नेपाली उत्पादन चीन पठाउन चुनौतीपूर्ण छ ।
तातोपानी नाका ऐतिहासिक रुपमा नेपाल–चीन प्रशासनिक र व्यापारिक केन्द्र रहँदै आए पनि अहिले उपेक्षामा परेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । प्राकृतिक विपद् र अपर्याप्त पूर्वाधारले यसलाई बारम्बार अवरुद्ध पार्दै आए पनि सरकारको इच्छाशक्ति कम हुँदा यसको मर्मतसम्भार गर्न नसकिएको उनको भनाइ छ । हाल केही हदसम्म सञ्चालनमा भए पनि स्थायी र भरपर्दो कामका लागि नेपालको स्थानीय सडक सुधार, पुल मर्मत र द्विपक्षीय स्पष्ट व्यापार नीति पुनर्निर्माण अनिवार्य देखिएको उनीहरुको भनाइ छ ।