चैते धानमा मूल्य स्थिरता र थप सिँचाइ सुविधा भए आत्मनिर्भर सम्भव
धानमा दुई वर्षभित्र आत्मनिर्भर बन्ने बजेटको लक्ष्य

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट संसद्मा प्रस्तुत गर्ने क्रममा दुई वर्षभित्र मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने घोषणा गरेका छन् । आन्तरिक बजारको मागअनुसार धान उत्पादन बढ्न नसकेर अर्बौंको चामल आयात भइरहेको अवस्थामा सरकारले यो महत्वाकांक्षी लक्ष्य राखेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१–८२ मा १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धानखेती गर्दा ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भएको छ । धानमा आत्मनिर्भर बन्न अझै साढे ७ लाख टन उत्पादन अपुग छ । मन्त्रालयका सहसचिव हरिबहादुर केसी उत्पादित चैते धानको मूल्यमा स्थिरता गरी सिँचाइको क्षेत्रफल विस्तार गरे दुई वर्षमा धानमा मुलुक आत्मनिर्भर हुने सम्भावना देख्छन् । उनका अनुसार चैते धानको मूल्यमा स्थिरता नहुँदा कृषकले प्रतिक्विन्टल ८ सयदेखि एक हजारमा बिक्री गर्नुपर्ने बाध्यता छ । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ । तर, किसानले उक्त मूल्य नपाएर सस्तोमा बिक्री गर्नुपरेको उनले बताए ।
चैते धान प्रवद्र्धनका लागि किसानलाई प्रोत्साहित गर्न लागतअनुसार धानको मूल्य स्थिरता हुन अति आवश्यक देखिएको उनको भनाइ छ । दुई वर्षभित्र चामलमा मुलुकलाई आत्मनिर्भर बनाउन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम ल्याउनुपर्ने उनले बताए । यी जिल्लामा १२ लाख टन धान थप उत्पादन गर्न सके आत्मनिर्भरको कार्यक्रमले सार्थकता पाउने उनले दाबी गरे । केसीका अनुसार चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार निर्माण अर्को महत्वको विषय हो । आगामी बजेटमा पूर्वाधार निर्माण गर्न ३३ करोड बजेट विनियोजन गरिएको छ । अहिले चैते धान खेती योग्य कुल जमिनको करिब ५० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ । उत्पादन वृद्धि गर्न पर्याप्त सिँचाइको अति आवश्यक रहेको सचिव केसीको भनाइ छ ।
चैते धानको स्थिर मूल्य र सिँचाइ सुविधाबाहेक समयमा मल, गुणस्तरिय बीउबिजनको सहज आपूर्ति पनि हुनुपर्छ । उनका अनुसार बर्खे धानभन्दा चैते धानको उत्पादकत्व बढी छ । अहिले चैते धान प्रतिहेक्टर ५ टन फल्छ । अहिले चैते धान १ लाख २० हजार हेक्टरमा मात्र रोपिन्छ । अर्कोतिर किसानले उत्पादन गरेको धानको भण्डारणमा आधुनिक प्रविधिको पहुँच पुर्याउन पनि आवश्यक रहेको उनले बताए ।
मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी पनि सचिव केसीको धारणामा सहमत छन् । उनले बर्खेभन्दा चैते धानको उत्पादकत्व बढी हुने हुँदा यसको रोपाइँ हुने क्षेत्रफल विस्तार गर्न सके मुलुक धानमा आत्मनिर्भर बन्न समस्या नभएको बताए । उनका अनुसार बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ४.५ टन छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ५ टन छ । रेग्मीका अनुसार औषतमा एक वर्षमा एक नेपालीले १ सय ३३ किलो चामल खान्छन् । यस्तै, एक क्विन्टल धानबाट औषत ६२ किलो चामल आउँछ । उनले भने, ‘यो आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको छ । यो परिमाण गत वर्षको तुलनामा ४.०४ प्रतिशत अर्थात् २ लाख ३१ हजार २ सय ४२ टन बढी हो ।’
सरकारले कृषकलाई चैते धान खेतीमा प्रोत्साहन गरेर मूल्यमा स्थिरता ल्याउन सके अहिलेको १ लाख २० हजार हेक्टरमा हुने चैते धानलाई विस्तार गर्न सकिन्छ । उनका अनुसार करिब ४ लाख हेक्टरसम्म चैते धान खेती पुर्याउन सक्ने आधार छन् । यति भए धानमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ ।
उनका अनुसार अहिले बर्खे र चैते गरी नेपालमा १७ लाख हेक्टर क्षेत्रफल धान खेतीका लागि योग्य जमिन छ । यसमध्ये १४ लाख हेक्टरमा मात्र सिँचाइ पुगेको छ । गत आवमा मन्त्रालयले थप १७ हजार ६ सय ३८ हेक्टर क्षेत्रफलमा खेती विस्तार गर्ने गरी कार्यक्रमको मस्यौदा तयार पारेको थियो । पहिलो वर्षमै करिब ८० हजार टन थप धान उत्पादन हुने अनुमान थियो । बजार मूल्यअनुसार २ अर्ब ४६ करोड रुपैयाँबराबरको उत्पादन हुने मन्त्रालयले अनुमान गरेको थियो ।