मनोकांक्षाको देवीः सुपा देउराली

हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल तथा आस्थाको केन्द्र सुपा देउराली मन्दिर पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिङ्गेबाट करिब ४७ किलोमिटर उत्तरमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको सिमानामा अवस्थित छ । समुद्र सतहबाट करिब ४ हजार ५ सय फिटको उचाइमा रहेको यस मन्दिरको दुवैतर्फ अग्ला–अग्ला सुन्दर नरपानी र फलामे महाभारत पहाडहरू रहेका छन् । मन्दिरको पूर्वमा खस्ने झरना र खोलाको छङछङ आवाजले आनन्दित बनाउँछ । यो मन्दिर पश्चिम नेपालको धार्मिक महत्व र प्राकृतिक सुन्दरताको प्रतीक मानिन्छ ।
निकै कलात्मक र आकर्षक रहेको यस मन्दिरमा सुपा देउराली देवीलगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव आदि विभिन्न देवीदेवताका मूर्ति छन् । यो मन्दिर स्थापनाको सन्दर्भमा विभिन्न किंवदन्ती रहेका छन् । एक किंवदन्तीअनुसार, वि.सं. १६०० मा खाँचीको राजकुलमा सुपा देउराली देवीले जन्म लिएकी थिइन् । १६१९ मा भारतको बलरामपुरको राजकुलमा उनको मन्जुरीबिना विवाह भयो । डोलीमा बोकेर भारततर्फ लैजाने क्रममा देवी स्वरूपा दुलहीले आत्महत्या गरिन् । हालको मन्दिर रहेको स्थानमा पुग्दा डोलीबाट रगत चुहेको देखियो । त्यसै क्षेत्रमा उनको दाहसंस्कार गरी सबै आ–आफ्नो घरतर्फ लागे । यो घटनापछि खाँची राजकुलमा ठूलो हलचल भयो । गाउँमा रोगव्याधि पनि फैलियो । गाउँका जान्ने धामीलाई डाकी सोबारे सोध्दा राजकुमारीको इच्छाविपरीत विवाह गरिदिएकाले यस्तो घटना भएको बताउँदै रगत चुहेको स्थानमा कालो पाठी अर्पण गरेमा राजकुमारीको आत्माले शान्ति पाउने भनेपछि सोहीअनुसार गरियो । त्यसपछि गाउँमा रोगव्याधि पनि हरायो । देवी शिलाको रूपमा प्रकट भइन् । त्यसपछि त्यहाँ देवीको पूजाद्वारा अर्चना गर्न सुरु गरिएको मानिन्छ ।
त्यस्तै, संस्कृतिविद्का अनुसार, खाँचीका राजा ध्वजन शाहकी छोरी लीलावतीका रूपमा उनको जन्म भएको थियो । खाँचीका राजवंशको वंशावली टिप्पनअनुसार वि.सं. १६२७ देखि १६६९ सम्म ध्वजन शाहले खाँचीमा राजकाज सञ्चालन गरेका थिए । लीलावती सानैदेखि एकान्तप्रिय र बैरागीजस्ती एवं देवीदेवताको पूजा प्रार्थना गर्ने स्वभावकी थिइन् । उनको विवाह हालको गण्डकी प्रदेशअन्तर्गतको गोर्खाका राजा राम शाहसँग भयो । उनको यो विवाह इच्छाविपरीत गरिदिइएको थियो । उनले अभिभावकसँग मेरो विवाह नगरिदिनोस्, सिद्ध भएर बस्छु भनेकी थिइन् । उनी गोर्खामा विवाह भएर रानी बने पनि राजकाजमा भन्दा देवीदेवताको पूजा, प्रार्थनाप्रति इच्छा गर्ने सिद्धिका रानीको रूपमा प्रख्यात भइन् ।
देहावशानपछि उनी मनकामना देवीको रूपमा प्रकट भइन् । गृह देश गोर्खामा मनकामना देवीका रूपमा र माइती देश खाँचीमा सुपा देउराली देवीका रूपमा प्रकट भइन् । ऐतिहासिक प्रमाण र किंवदन्ती दुवैलाई केलाउँदा सुपा देउराली मन्दिर १७ औँ शताब्दीदेखि प्रचलनमा आएको मान्न सकिन्छ । यसकारण अर्घाखाँचीको सुपा देउराली र गोर्खाको मनकामना मन्दिरबीचको अन्तरसम्बन्ध रहेको मानिन्छ । गोर्खाको मनकामना मन्दिर मनोकामना पूरा गरिदिने देवीका रूपमा परिचित छ । त्यस्तै अर्घाखाँचीको सुपा देउराली मन्दिर पनि मनोकामना पूरा गरिदिने देवीका रूपमा लोकमा पुज्य छ । मनकामना मन्दिरमा बलिको रूपमा बोका, राँगा, हाँस, कुखुरा अर्पण गरिन्छ । सुपा देउरालीमा भने पहिले कालो पाठी अर्पण गर्ने चलन थियो । अहिले पाठो, पाठी, भेडा, कुखुरा आदि अर्पण गर्ने चलन छ ।
सुपा देउरालीको मूर्ति पहिले भैँसीभेला पहाडको फेदी अर्थात् सुपा खोलाको भीरमा रहेको थियो । त्यस बेला शिलालाई सुपा देउराली देवी मानी विशेष गरी त्यस भेगका लाहुरेहरू आवतजावत गर्दा उत्तर देवीलाई दक्षिणा मात्र चढाइने गरिन्थ्यो । अर्को किंवदन्तीअनुसार, खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुअघि सुपामाईसँग राम्रो जागिरका लागि प्रार्थना गर्दै फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोगी गएछन् । भारत बसाइमा उनी लाहुरे भएर धन कमाइ फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जंगलको बाटो हुँदै जान लाग्दा जंगलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । हाल सो भीर लाहुरे टाँसिएको भीर नामले चिनिन्छ ।
वरिपरि ठूला–ठूला हरिया पहाड, प्राकृतिक रूपमा अत्यन्त रमणीय, अग्लो झोलुङ्गे पुलबाट देखिने मन्दिर क्षेत्र आदिको दृश्यले जो–कोही पनि मनमोहित हुन्छन् । यस मन्दिरमा बलि दिने प्रथासमेत छ, तर औँसी, श्रीपञ्चमी, ऋषि पञ्चमी, कृष्ण जन्माष्टमी, एकादशी, रामनवमी र अक्षय तृतीयाका दिन बलि चढाइँदैन । यस मन्दिरमा गुल्मी, पाल्पा, कपिलवस्तुलगायत देशभित्रका विभिन्न स्थान र भारतबाट समेत भक्तजनहरू आउँछन् । मन्दिरमा मनोकामना पूरा होस् भनी भाकल गर्नेले विभिन्न ध्वजा, वस्त्र, रातो फूलमाला चढाउने, पाठापाठीको बलि पूजाका साथै परेवा उडाउने प्रचलन छ । धार्मिक विश्वास तथा शान्तियुक्त स्थानमा रहेको यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका कारण दैनिक ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गर्छ । साँच्चै भन्नुपर्दा यो मन्दिर धार्मिक पर्यटनको केन्द्रका रूपमा रहेको छ ।
समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोशाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको धार्मिक, प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै धार्मिक पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।
सुपा देउराली क्षेत्र धार्मिक, प्राकृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुरूप पर्यटकको संख्यामा वृद्धि र धार्मिक पर्यटन गतिविधि विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । सुन्दर प्राकृतिक, ऐतिहासिक, धार्मिक सम्पदाका कारण सुपा देउराली क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने ठूलो सम्भावना छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै यहाँको धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।
सुपा देउराली क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । सन्धिखर्क तथा शीतगङ्गा नगरपालिकाभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्ववपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । अन्तरपालिका समन्वयमा स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विवक तथा धार्मिक महत्ववका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक छ । त्यस्तै, यस क्षेत्रका लागि एकीकृत पर्यटन गुरुयोजना निर्माण गरी पर्यटन प्रवद्र्धनका विशेष आयोजनाहरू कार्यान्वयन गर्न आवश्यक देखिन्छ । यस क्षेत्रको समग्र विकासका लागि अर्घाखाँची जिल्लामा रहेका अन्य प्रसिद्ध स्थल जस्तै— सिद्ध देउराली, कट्टे देउराली, खन देउराली, ठाडादह, उलुक महाराजको क्षेत्र, पाणिनी ऋषिको तपोभूमि पणेना आदिलाई पर्यटकीय सर्किटका रूपमा विकास र प्रचार–प्रसारद्वारा पर्यटकको आगमनमा वृद्धि गर्न सकिन्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्ववहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाएर गरिबी न्यूनीकरण गर्दै सुपा देउराली क्षेत्रका बासिन्दादेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई व्यवस्थित तवरबाट प्रवद्र्धन गरिनु समयको माग तथा आवश्यकता हो ।