कोलकातामा नेपाललाई ‘फोकल प्वाइन्ट’ «

कोलकातामा नेपाललाई ‘फोकल प्वाइन्ट’

नेपाली आयातकर्ताहरूले कोलकाता बन्दरगाहको विकल्प खोज्न थालेपछि बन्दरगाह व्यवस्थापनले हाल उत्पन्न समस्याहरूको सहज व्यवस्थापन गरिदिने आश्वासन दिएको छ । व्यवसायीहरू कोलकाताको विकल्पका रूपमा विशाखापट्टनम् र हल्दिया बन्दरगाहतर्फ आकर्षित भइरहेका बेला कोलकाताका प्रतिनिधिहरू नेपालमै आएर व्यवसायीलाई ‘कन्भिन्स’ गराउने प्रयासमा छन् । उनीहरूले कोलकाता बन्दरगाहमा सामान समयमै छुटाइदिने, विलम्ब शुल्क घटाउने तथा अन्य सहजीकरण गर्ने भन्दै नेपाली आयातकर्तालाई विशाखापट्टनम बन्दरगाहको विकल्प नरोज्न आग्रह गरेका छन् ।
नेपाली आयातकर्ताले भोग्दै आएका समस्या समाधानका लागि भारतले कोलकाता बन्दरगाहमा अलग्गै फोकल प्वाइन्ट खडा गरिदिने बताएका छन् । कोलकाता बन्दरगाह प्रशासनले नेपाली आयातकर्ताका लागि २४ सै घण्टा खुल्ने गरी अलग्गै फोकल प्वाइन्ट खडा गर्ने र आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । बन्दरगाहका दुई अधिकृत जेजे विश्वास र हिमांशुले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सभाकक्ष पुगेर सिपिङ एजेन्सीहरूका कारण उब्जिएका समस्या समाधानको आश्वासन दिँदै विकल्प नखोज्न आग्रह गरेका छन् । कोलकाता बन्दरगाहमा नेपाली आयातकर्ताले भोग्नुपरेका समस्या समाधानका लागि भारत तयार भएको उनीहरूले बताए ।
कोलकाता बन्दरगाह नेपालबाट करिब ७ सय किलोमिटरको दूरीमा पर्छ । हाल बन्दरगाहमा सिपिङ एजेन्सीहरूले जथाभावी रूपमा शुल्क लिने तथा सामान छुटाउन महिनौं लगाइदिने गरेका छन् । सामान छुटाउन महिनौं लगाइदिने गरेका कारण नेपाली आयातकर्ताहरूले बिलम्ब शुल्कवापत वार्षिक २ अर्ब रुपैयाँसम्म तिर्दै आएको सम्बद्ध आयातकर्ताहरूले बताएका छन् । सिपिङ एजेन्सीहरूको मनोमानीका कारण सामान आयात गर्दा बन्दरगाहमा बुझाउनुपर्ने रकमको बारेमा आफूहरूले पूर्वानुमान नै गर्न नसक्ने अवस्था आएको आयातकर्ताहरूको भनाइ छ । त्यही कारण आफूहरूले १४ सय किलोमिटरभन्दा टाढा पर्ने विशाखापट्टनम बन्दरगाहबाट सामान ल्याउने तयारी गरेको आयातकर्ताहरूले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका महासचिव सुरेशमान श्रेष्ठले आयातकर्ताहरूले भोग्दै आएका समस्याका बारेमा एक सातापहिले कोलकाता बन्दरगाहमै पुगेर बन्दरगाह प्रशासनलाई अवगत गराएको बताए । कोलकाता बन्दरगाह अस्तब्यस्त, साँघुरो रेल्वे साइट, भण्डारणगृहको अभावले तेस्रो मुलुकबाट सामान आयात गर्न दुई साताभन्दा बढी समय कुर्नुपर्ने बाध्यता छ । कोलकाता बन्दरगाहमा स्थान अभाव हुँदा जहाजबाट झारिएका कन्टेनर टर्मिनलको अन्य स्थानमा लगेर भण्डारण गर्नुपर्ने अवस्थाले गर्दा लागत बढी लाग्ने सरोकारवालाले बताएका छन् । पानी जहाजबाट झारिएका कन्टेनर टर्मिनलको अन्य स्थानमा लगेर भण्डारण गर्न प्रतिकन्टेनर ५ हजार भारतीय रुपैयाँ बढी खर्च लाग्छ ।
कोलकाता बन्दरगाहमा समस्या हुन थालेपछि नेपाली व्यापारीका लागि हाल हल्दिया बन्दरगाह आकर्षक बनेको छ । पछिल्लो तीन वर्षयता यो बन्दरगाहले कोलकातामाथिको निर्भरता घटाएको छ । कोलकाताको तुलनामा हल्दिया बन्दरगाहको टर्मिनल निकै फराकिलो र अत्यधिक भार क्षमतायुक्त भएकाले नेपाली आयातकर्ताबीच लोकप्रिय भएको हो । हल्दिया बन्दरगाह किफायती र ढुवानी खर्चमासमेत सस्तो पर्ने भएकाले नेपाली आयातकर्ताको संख्या बढ्दै गएको छ । तेस्रो मुलुकबाट ठूला पानी जहाजमार्फत आएको कोइला, क्लिंकर, औद्योगिक कच्चा पदार्थ र रासायनिक मल वीरगन्जस्थित सुक्खा बन्दरगाहमा भित्रायाउन नेपाली आयातकर्ताले उक्त बन्दरगाहको प्रयोग गर्न थालेका हुन् । कोलकाता बन्दरगाह समुद्रबाट २ सय २० किलोमिटर दूरीमा छ । तर, हल्दिया समुद्रबाट करिब ४ किलोमिटर दूरीमा छ । यसले पनि ठूला पानी जहाज सोझै हल्दिया बन्दरगाहको टर्मिनलमा आउने गरेका छन् । यसले नेपाली आयातकर्ताको हकमा ढुवानी खर्च निकै सस्तो पर्ने गरेको छ ।
नेपाल आयातकर्ताहरू दूरीका हिसावले तुलनात्मक रूपले टाढा परे पनि विशाखापट्टनम बन्दरगाहमा जान थालेका छन् । कोलकाताको झन्झटिलो व्यवस्थाबाट मुक्ति पाउनकै लागि टाढा नै भए पनि अन्य बन्दरगाहमा जान थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्