Logo

आइएमई ग्रुपको डेढ अर्ब लगानी

फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

काठमाडौं– आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ । आइएमई ग्रुपले रौतहटमा डेढ अर्ब लगानीमा सञ्चालन गरेको उद्योगको बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंमा आयोजित कार्यक्रममा भर्चुअल उद्घाटन गर्दै फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादन सार्वजनिक गरे ।

मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए । उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोहोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोत प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरिएको जानकारी दिए । यसले देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने अध्यक्ष ढकालले उल्लेख गरे ।

स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्री उत्पादन सम्भव भएको सन्देश उद्योगले दिएको उनको भनाइ छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेन्ट फाइबर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ ।

यहाँ उत्पादित बोर्ड चार फिट लम्बाइ, आठ फिट चौडाइ र चार एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन् । यी बोर्ड लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ रहेको कम्पनीको दाबी छ । फाइबर सिमेन्ट बोर्ड प्रयोग भवनको बाहिरी भाग, पार्टेसन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानललगायत विभिन्न संरचनामा गरिन्छ । उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ । हाल करिब दुई सय जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्