सिटिजन्स बैंकको मुद्दती निक्षेप धितोमा अनलाइन कर्जा सुविधा

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहक सेवालाई थप सहज र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।
सुविधाअन्तर्गत ग्राहकले मुद्दती निक्षेपका आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा बैंकको मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा पाँच हजारदेखि दुई लाखसम्म ऋण लिन सकिनेछ ।
उक्त रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । बैंकले ग्राहकको समय, श्रम र स्रोत सेवा प्रवाह थप प्रभावकारी बनाउन नयाँ–नयाँ डिजिटल सेवा सार्वजनिक गर्दै आएको जनाएको छ ।