Logo

बिर्तामोडको बजेट एक अर्ब ५१ करोड ८३ लाख

झापा– झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभा तथा सातौं अधिवेसनमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सामाजिक सुरक्षा भत्ताबाहेक एक अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेका हुन् ।

बजेटमा आगामी आर्थिक वर्ष २०८२/०८३ को विभिन्न शिर्षकमा प्राप्त हुन सक्ने रकमलाई आम्दानीको रुपमा प्रक्षेपण गर्दै संघीय समानीकरणतर्फ २० करोड ३२ लाख, संघीय राजस्व बाँडफाँटतर्फ १४ करोड ७६ लाख, प्रदेश समानीकरणतर्फ एक करोड ९७ लाख, प्रदेश राजस्व बाँडफाँट एक करोड ४५ लाख १४ हजार, आन्तरिक स्रोततर्फ २१ करोड, जग्गा रजिष्ट्रेशनतर्फ १२ करोड ५० लाख, संघीय सशर्त कार्यक्रम ७६ करोड ३ लाख र प्रदेश सशर्त कार्यक्रम २ करोड ८० लाख १६ हजार र प्रदेश समपुरक १ करोड बजेट प्रस्ताव गरिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तसम्म आन्तरिक राजस्व २० करोड ५० लाख अनुमानित गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा १३ करोड ९६ लाख ८१ हजार ४२, घरजग्गा रजिष्ट्रेशनमा १२ करोड अनुमानित गरिएकोमा ८ करोड ५९ लाख ९५ हजार, त्यसैगरी संघीय समानीकरण १९ करोड ४८ लाख ६हजार, संघीय सशर्तमा २८ करोड ९ लाख ९ हजार १८०, संघीय विशेष अनुदान ५५ लाख ४५ हजार ६१, संघीय समपुरक १५ करोड ८० लाख २४ हजार १४५ र संघीय राजस्व बाँडफाँटबाट १० करोड ८६ लाख १९ हजार ९३५ रुपैयाँ प्राप्त भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।

त्यसैगरी प्रदेश समानीकरणमा १ करोड ३ लाख २ हजार ७५०, प्रदेश सशर्तमा १ करोड ७१ लाख २९ हजार ९८९, प्रदेश समपूरकमा ४३ लाख ३३ हजार ३३३ र प्रदेश राजस्व बाँडफाँट १ करोड ४० लाख ३६ हजार ७९९ रुपैयाँ, जनसहभागिता ३ करोड ११ लाख ९५ हजार ४६१ समेत गरी जम्मा एक अर्ब ५ करोड ३५ लाख ८० हजार १३५ रुपैयाँ प्राप्त भएको उनले बताए । वडास्तरीय योजना कार्यान्वयनका लागि नगरपालिकाले १० करोड, विपत् व्यवस्थापनको लागि ५० लाख, नदीजन्य सामग्री खरिद संकलन गर्नका लागि ८० लाख, फोहोरमैला व्यवस्थापनका लागि ६० लाख विनियोजन गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिए ।

त्यस्तै नगर अस्पतालका लागि २ करोड ५० लाख, विपन्न बीमा स्वास्थ्य कार्यक्रमका लागि ७० लाख, कृषि पशुपंक्षी तथा मत्स्य विकासका लागि एक करोड, नगर खेलकुद कार्यक्रमका लागि ४० लाख, विपन्न आवास कार्यक्रमका लागि १ करोड रूपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिए । त्यस्तै मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापनाका लागि सहलगानी बापत ६७ लाख रुपैयाँ, प्रशासनिक खर्चमा २२ करोड ५० लाख, नगर गौरव योजनाका लागि ४ करोड ८३ लाख विनियोजन गरिएको छ ।

बैठकमा नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नगरपालिकाले शिक्षा विकास कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधार गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा र जीवनोपयोगी सीप सिकाइमा विशेष जोड दिएको छ । विद्यालयहरूलाई प्रविधिमैत्री कक्षाकोठा निर्माण र प्रविधिमा आधारित सिकाई व्यवस्थापनका लागि प्रोत्साहन गर्दै नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन अनुगमन प्रणालीलाई सूचकमा आधारित बनाउने नीति अघि सारेको छ ।

शैक्षिक सत्र २०८२ लाई सिकाई उपलब्धि सुधार वर्षको रुपमा कार्यान्वयन गर्दै मुख्य पाँच विषयमा विद्यालयमा विषयगत समिति परिचालन गरी नगरमा निर्माण भएका विषयगत सञ्जालमार्फत सिकाई सुधार प्रतिबद्धता कार्यान्वयन गर्ने नगरपालिकाको नीति छ । विपन्न २००० घरपरिवारलाई नि:शुल्क स्वास्थ्य बीमा गराई उनीहरूलाई नियमित स्वास्थ्य जाँच तथा उपचार प्रक्रियामा आबद्ध गराउने नीति अघि सारिएको नगर प्रमुख प्रसाईले बताइन् ।

त्यसैगरी गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका लागि आमा सुरक्षा कार्यक्रम र सुनौलो हजार दिन कार्यक्रमलाई निरन्तरता दिइएको छ । नगर अस्पतालको सेवालाई २४ घण्टे बनाउने गरी गृहकार्य सुरु गरिएको बताइएको छ । बिर्तामोड नगरलाई स्वास्थ्यको हबका रूपमा स्थापित गर्न नगर स्वास्थ्य समन्वय समिति गठन गरी विस्तृत कार्य योजना तयार गर्ने नीति नगरपालिकाले प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्