Logo

सुनिलस्मृतिको बजेट ५६ करोड ५४ लाख

रोल्पा–सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ५६ करोड ५४ लाख २ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १८औं अधिवेशनको सोमबार सम्पन्न दोस्रो बैठकमा गाउँपालिकाकी उपाध्यक्ष मिना थापाले बजेट सार्वजनिक गरेकी हुन् । यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब २ करोडले बढी हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि चालुतर्फ ४१ करोड ५३ लाख ५३ हजार अर्थात् ७३.०६ प्रतिशत र पुँजीगततर्फ १५ करोड ३१ लाख अर्थात् २६.९४ प्रतिशत विनियोजन गरिएको छ । उपाध्यक्ष थापाले गाउँसभामा पेश गरेको बजेट गाउँसभाले सर्वसम्मत पारित गरिसकेको छ । गाउँपालिकाले प्रस्तुत गरेको बजेट वक्तव्यमा संघीय समानिकरण अनुदान १० करोड ३१ लाख, संघीय सशर्त अनुदान २६ करोड ४७ लाख, संघिय विशेष अनुदान ६८ लाख, संघीय समपुरक अनुदान ८९ लाख र संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त १० करोड ६४ लाख रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान ६८ लाख ७३ हजार, सशर्त अनुदान १ करोड २५ लाख, समपुरक अनुदान ७५ लाख, विशेष अनुदान २० लाख र राजस्व बाँडफाँटबाट १ करोड २ लाख ३९ हजार रहेको छ । गाउँपालिकाको आन्तरिक राजस्व आम्दानी १ करोड ९ लाख ८५ हजार र बैंक नगद मौज्दात २ करोड १४ लाख ६ हजार गरी कुल ५६ करोड ५४ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि क्षेत्रको विकास विस्तार व्यावसायिकरण तथा आधुनिकीकरण, उद्योग तथा वाणिज्य क्षेत्रको विकास र विस्तार, पर्यटन प्रवर्द्धन, सहकारी र वित्तीय क्षेत्रको विकास र विस्तार जलस्रोत तथा सिँचाइ विस्तार वन वातावरण तथा जलवायु सन्तुलन कायम राखेर आर्थिक विकासका सूचकहरु मजबुत बनाउन संघीय सरकार र प्रदेश सरकारबाट सशर्त अनुदानमार्फत हस्तान्तरित कार्यक्रमबाहेक गाउँपालिकाबाट २५ लाख विनियोजन गरिएको जनाएको छ ।

शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा विस्तार, स्वस्थ खानेपानीको सुनिश्चितता तथा सरसफाइ, संस्कृति प्रवर्द्धन, खेलकुद तथा मनोरञ्जन, लैंगिक समानता तथा सामाजिक समावेशिकरण सामाजिक सुरक्षा तथा संरक्षण युवा शक्तिको परिचालन समग्र विकास र विस्तारका लागि ५ करोड ५८ लाख, स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल, सिँचाइ भवन तथा सहरी विकास उर्जा, लघु तथा साना जलविद्युत र सञ्चार क्षेत्रको समग्र विकास र विस्तारका लागि ६ करोड ८७ लाख रकम विनियोजन गरेको जनाएको छ ।

वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ वन तथा भूसंरक्षण जलाधार संरक्षण वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोर मैला तथा ढल व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन तथा वारुण यन्त्र सञ्चालनलगायतका लागि ९ लाख २८ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनका लागि १३ करोड ९ लाख बराबरको बजेट सार्वजनिक गरेको जनाएको छ । सुनिलस्मृति गाउँपालिकाले कृषि, शिक्षा, पूर्वाधार, स्वास्थ्य, पर्यटन विकासलगायतको क्षेत्रलाई मुख्य प्राथमिकता दिएर बजेट विनियोज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्