Logo

कञ्चनपुरका ७ पालिकाले ल्याए बजेट

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार भीमदत्त नगरपालिकाको नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ९३ करोड ८३ लाख बराबरको बजेट ल्याएको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटको स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट ३३ करोड, वित्तीय समानिकरण अनुदान संघीय सरकारबाट २३ करोड ९१ लाख, वित्तीय समानिकरण अनुदान प्रदेश सरकारबाट २ करोड ३७ लाख ६० हजार, संघीय सरकारबाट सशर्त अनुदान ५३ करोड २९ लाख, संघीय सरकारबाट राजस्व बाडफाँटको १७ करोड २२ लाख ६३ हजा र प्रदेश सरकारबाट राजस्व बाडफाँटको ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी विशेष अनुदान संघीय सरकारबाट ७८ लाख, विशेष अनुदान प्रदेश सरकारबाट ६० लाख, सडक बोर्ड नेपालबाट १ करोड, सामाजिक सुरक्षातर्फ ५७ करोड, क्षेत्रिय शहरी विकास आयोजनाबाट २० लाख र नगद मौज्दात २ करोड बजेटको स्रोतको रुपमा रहने नगर प्रमुख पदम बोगटीले बताए । नगरपालिकाले आगामी वर्षदेखि लागु हुने गरी छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति कार्यक्रम ल्याएको छ । आर्थिक अभावका कारण कोही पनि छोरी बुहारी उच्च शिक्षा अध्ययनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको बताइएको छ ।

नगर क्षेत्रभित्र शव यात्राका लागि प्रयोग हुने शववाहना नि:शुल्क उपलब्ध गर्ने, विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा अतिरिक्त क्रियाकलाप गर्ने विद्यालयमा पुस्तकविहीन शुक्रबार ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्ञ्चालन गर्ने, नगरपालिकाको दुर्गम क्षेत्र, अति विपन्न, दलित, लोपान्मुख जाति, द्वन्द्व पीडित, महामारी विपद् प्रभावित, हिंसामा परेका महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, गम्भिर दुर्घटनामा परेका व्यक्ति तथा साहाराविहीन व्यक्ति विषेशको हकमा ‘मेयर अन द स्पट’ कार्यक्रम निरन्तरता दिइएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा नगरवासीको अत्यावश्यक माग, आवश्यकता र समस्या सम्बोधन गर्न ‘नगर प्रमुख पूर्वाधार विकास कार्यक्रम’ नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाको पहिचान, संरक्षण र लगत तयार गरी अतिक्रमित जग्गा क्रमश: खाली गराई संरक्षण गर्ने, भीमदत्त नगरपालिकालाई विषादीमुक्त नगरपालिका बनाउन प्रांगारिक एवम् जैविक मल उत्पादन गर्ने किसानलाई प्रोत्साहान गर्ने, ‘विद्यार्थीसँग मेयर कार्यक्रम’, ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम’ अन्तरगत नगर क्षेत्रका विद्यालयबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

त्यसैगरी ७५ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने, प्रसुति सेवा केन्द्रबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्दै संस्थागत प्रसुति सेवा प्रोत्साहन गर्न गर्भवती सुत्केरीहरुका लागि नगरभित्र नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिई प्रभावकारी बनाइने लगाएतका कुरा समेट्दै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

समग्रमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति कार्यक्रम प्रस्तुत गरिएको छ । बैठकमा नगरप्रमुख तथा नगरसभा अध्यक्ष बोगटीले पेस गरेको नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मतले पारित गरेका हुन् । बैठकमा नगर सदस्यहरुले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए । नगर प्रमुख बोगटीले नगरसभा सदस्यहरुले उठाएका विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।

कृष्णपुर नगरपालिकाको प्राथमिकता शिक्षादेखि भौतिक पूर्वाधार र सामाजिक सुरक्षा
त्यसैगरी कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब १ करोड ११ लाख ८२ हजार ४५१ रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा बसेको १७ औं नगर सभामा उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तावित बजेट अनुसार आन्तरिक स्रोतबाट ८ करोड, संघीय सरकारको वित्तीय समानीकरण शीर्षकबाट १५ करोड ९९ लाख र प्रदेश सरकारबाट एक करोड ४९ लाख १३ हजार रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट १५ करोड ३० लाख ९३ हजार ४५१ रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ४७ लाख २१ हजार रुपैया, सामाजिक सुरक्षाका लागि २५ करोड, संघीय सशर्त अनुदानमार्फत २५ करोड १ लाख र प्रदेश सशर्त अनुदानबाट १ करोड ९६ लाख ५५ हजार, संघीय समपूरक अनुदानबाट ८३ लाख, प्रदेशबाट २ करोड १० लाख तथा संघीय विशेष अनुदानबाट ४ करोड ५५ लाख र प्रदेश विशेष अनुदानबाट ४० लाख रुपैयाँ प्राप्त हुने छ ।

नगरपालिकाले बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी, खानेपानी, खेलकुदलाई प्राथमिकता दिइएको छ । नगरपालिकाको नीति तथा कार्यक्रम नगर प्रमुख ओझाले नगरसभामा प्रस्तुत गरेका थिए । नगर प्रमुख ओझाले आगामी आर्थिक वर्षमा शिक्षादेखि भौतिक पूर्वाधार र सामाजिक तर्फ नयाँ कार्यक्रम सञ्चालन भएको बताए । उनका अनुसार पूर्वमन्त्रीसमेत रहेका लबरु राना थारुका नामबाट उच्च शिक्षा छात्रवृति कार्यक्रम सञ्चालन गरिनुका साथै कृष्णपुर स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र स्थापना, २ र ५ वडा मोहना चोकमा कोल्ड स्टोर स्थापना, कृष्णपुर नगरपालिकाका स्थायी बासिन्दा ओलम्पियन दिपक विष्टलाई सद्भावना दुत बनाइएको छ ।

त्यसैगरी वडा नम्बर ७ को दक्षिण कोरिया सरकारको सहयोगमा प्रदेश स्तरको टेक्निकल इन्सिच्युट स्थापना गरिने, कृषि एम्बुलेन्सको ब्यवस्था गरिने, नगरपालिकामा ३ वटा रङ्शाला ठेक्का प्रक्रिया अगाडि बढाइने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन र दिवा तथा रात्रीकालिन छात्रावासको सञ्चालन, १५ शैयाको नगर अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाइने, दमकल खरिद, शव बहानको व्यवस्थालाई प्राथमिकता दिइएको छ ।

चालु शैक्षिक सत्र २०८२ देखि नगरका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने अभियान अघि सारेको कृष्णपुरले सामुदायिक विद्यालयको थप सुधारका कार्यक्रम गर्ने जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका
त्यसैगरी शुक्लाफाँटा नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९२ करोड ७८ लाख ५३ हजार ६३१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । २०औं नगरसभामा नगर उपप्रमुख कल्पना पन्तले अगामी आर्थिक वर्षको अनुमानित आयव्याय प्रस्तुत गरेकी हुन् । उनले प्रस्तुत गरेको बजेट अनुसार चालु खर्च ६७ करोड ७१ लाख १४ हजार ५६६ र पूँजीगत खर्च २५ करोड ७ लाख ३६ हजार ३४ रुपैयाँ रहेको छ ।

नगरसभामा प्रस्तुत आयतर्फ आन्तरिक आय २ करोड ४२ लाख ८४ हजार, मालपोतबाट ७३ लाख, संघीय सरकार राजस्व बाँडफाँटको १३ करोड ६ लाख ५६ हजार ६६१, प्रदेश सरकार राजस्व बाँडफाँटबाट ५१ लख ६४ हजार, नेपाल सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण ४३ करोड ३२ लाख, प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण ४ करोड ३६ लाख २६ हजार, अनुमानित आन्तरिक आय अल्या २ करोड ७५ लाख, क्षेत्रीय सहरी विकास कार्यक्रम २० लाख ६० हजार, सडक बोर्डबाट ४० लाख र सामाजिक सुरक्षातर्फ २५ करोड रहेको छ ।

त्यसैगरी नगरपालिकाले आर्थिक विकास क्षेत्रतर्फ १ करोड १२ लाख ४६ हजार, सामाजिक विकासतर्फ २६ करोड ४६ लाख १५ हजार, पूर्वाधार विकासतर्फ २४ करोड ८६ लाख ३६ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७६ लाख, कार्यालय सञ्चालनतर्फ ११ करोड ५४ लाख ५० हजार, बजेट विनियोजन गरेको छ ।

बेलौरी नगरपालिकाको प्राथमिकता कृषि
त्यसैगरी बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७४ करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । १५ औं नगरसभामा उपप्रमुख जोगराज चौधरीले अगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम नगर प्रमुख पोतीलाल चौधरीले प्रस्तुत गर्दै नगरपालिकाले नीति, कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकता दिएको बताए । नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि प्रवर्द्धन गर्ने योजना अघि सारेको छ ।

केराको थामबाट धागो र डोरी उत्पादन, उखुबाट मिठाई र गुड उत्पादन उद्योग स्थापना गर्ने नीति बजेटमा समावेश गरिएको छ । यसैगरी, नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक सुरक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ । ‘एक घर, एक बीमा’ कार्यक्रम, नगर प्रहरी गठन तथा विद्यार्थी र स्थानीयलाई एक लाख रुपैयाँसम्म अध्ययन खर्च उपलब्ध गराउने योजना रहेको उपप्रमुख जोगराज चौधरीले जानकारी दिए । विपद् व्यवस्थापन कोषमा जनप्रतिनिधि र कर्मचारीको एक दिनको पारिश्रमिक जम्मा गर्ने नीति नगरपालिकाले लिएको छ ।

दोधारा चाँदनी नगरपालिकाको प्राथमिकता शिक्षा, पूर्वाधार विकास र युवा उद्यम प्रवर्द्धन
दोधारा चाँदनी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७५ करोड ३० लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख गंगादेवी जोशीले नगरसभामा बजेट प्रस्तुत गरेकी हु्न् । नीति तथा कार्यक्रम नगर प्रमुख किशोर कुमार लिम्बुले प्रस्तुत गर्दै नीति तथा कार्यक्रममा आगामी वर्षमा खाद्य डिपो सञ्चालन, पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन, किसान आत्मनिर्भर कार्यक्रम, शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य र युवा उद्यम प्रवर्द्धनजस्ता कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । नगर प्रमुख लिम्बुले पूर्वाधार विकासका गौरवका योजनालाई निरन्तरता दिँदै समृद्ध नगर निर्माणमा प्रतिबद्ध रहेको बताए । प्रस्तावित नीति, कार्यक्रम र बजेट बारे नगरसभा सदस्यलाई अध्ययनका लागि समय दिइएको छ भने छलफलपछि पारित गरिने जनाइएको छ ।

लालझाडीको प्राथमिकता पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सडक
कञ्चनपुरको लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले १८औं गाउँसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । उनले गाउँसभामा प्रस्तुत गरेको बजेट अनुसार चालू खर्चतर्फ २३ करोड ९९ लाख २६ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १९ करोड ६५ लाख ९६ हजार रुपैँया रहेको छ । चालू खर्चतर्फ प्रशासनिक सञ्चालन, तलब भत्ता, सेवा प्रवाह, कार्यक्रम व्यवस्थापनजस्ता कार्यक्रममा बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक निर्माण, ऊर्जा र महिला सशक्तीकरणका कार्यक्रम राखिएका छन् । गाउँसभामा अध्यक्ष निर्मल रानाले अगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बेलडाँडीको प्रथमिकता शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास
कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । मंगलबार १७ औं गाँउसभाबाट बेलडाँडी स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले नयाँ बजेटसंगै केही नयाँ कार्यक्रम ल्याएको बताए ।

प्रमुख रानाले चालुतर्फ ३७ करोड ४३ लाख र पुँजीगततर्फ १७ करोड ७ लाखसहित ५४ करोड ५० लाख ४४ हजार बराबरको बजेट ल्याएको बताए । उनका अनुसार आन्तरिक आयतर्फ १ करोड, राजस्व बाँडफाँट ७ करोड ९४ लाख ९० हजार, वित्तीय हस्तान्तरण संघीय सरकार ३१ करोड १४ लाख, प्रदेश सरकार २ करोड ४१ लाख ५४ हजार, समाजिक सुरक्षा १२ करोड रहेको छ । प्रमुख रानाले आगामी आर्थिक वर्षमा बेलडाँडीको दलदल जमिन पुर्नरुत्पादनको नयाँ कार्यक्रम ल्याएको बाए ।

छिमेकी बेलौरी र पुर्नवास पालिकामा चिनिमिल भएकाले चिनी उत्पादनका लागि चाहिने कच्चा पदार्थ उखु खेतीतर्फ जनतालाई अग्रसर गरिने बताइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग–१, २ र ५ नम्बर वडा प्रत्यक्ष जोडिएकाले वन्यजन्तु र मानवबीच भइरहेको द्वन्द्व न्यूनिकरणका लागि निकुञ्ज किनारमा सोलार बत्ति जडान गरिने उनले बताए । विगतमा सञ्चालनमा रहेका गौरवका योजना १५ सैयाको अस्पताल, कोल्ड स्टोर सञ्चालन, बेलडाँडीदेखि निकुञ्ज सफारीको पर्यटन रुट सञ्चालन, सरकारी विद्यालयमा पूर्ण नि:शुल्क शिक्षा, आधारभूत स्वास्थ्य, पूर्वाधार विकास, निर्माणसहितका योजना एवम् कार्यक्रम प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्