यूएई जाने कामदारको न्यूनतम पारिश्रमिक एक हजार दिराम

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यूएई मा जाने नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक एक हजार दिराम तोकेको छ । सरकारले न्यूनतम पारिश्रमिक तोकेपछि मेनपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा यूएईमा कामदार पठाउन नपाउने भएका हुन् । अब यूएई जाने नेपालीको करार सम्झौता एक हजार दिरामभन्दा बढी उल्लेख गरिएको हुनुपर्छ ।
एक हजार दिराम वा त्यसभन्दा कम सुविधामा आएको मागपत्र दूतावासले प्रमाणीकरण गर्न पाउँदैन् । श्रम मन्त्रालयले जेठमा न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरे पनि सोमबारबाट कार्यान्वयनमा आएको हो । यूएई सबैभन्दा बढी कामदार भएको नेपालको श्रम गन्तव्य हो । यूएईमा गत आवमा एक लाख ७३ हजार युवा गएका थिए । जब की दोस्रो स्थानमा रहेको साउदी अरबमा एक लाख १० हजार गएका थिए ।
यसअघि यूएईमा अदक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक आठ सय दिराम तोकिएको थियो । तोकिएको नयाँ पारिश्रमिक अदक्ष कामदारका लागि न्यूनतम एक हजार दिराम, मासिक खाना खर्च चार सय दिराम वा त्यसमाथि गरी कुल एक हजार चार सय वा त्यसभन्दा माथि हुनुपर्ने छ । अर्धदक्ष कामदारका लागि एक हजार २ सय वा त्यसभन्दा माथि पारिश्रमिक, खाना खर्च चार सय दिराम गरी कुल एक हजार ६ सय वा त्यसभन्दा माथि हुनुपर्ने उल्लेख छ ।
दक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक एक हजार पाँच सय दिराम, खाना खर्च चार सय वा त्यसभन्दा माथि गरी कुल एक हजार नौ सय दिराम हुनु पर्ने उल्लेख छ । उच्च दक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक ६ हजार वा त्यसमाथि हुनुपर्ने छ । यसमा खाना खर्च चार सय जोडेर ६ हजार चार सयभन्दा माथि हुनुपर्ने राजपत्रमा उल्लेख छ ।
नेपालका प्रमुख चार श्रम गन्तव्य मध्ये यूएईलाई रोजगारीको क्षेत्र बनाउने नेपाली बढ्दै गइरहेको पाइएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको साउनदेखि फागुनसम्मको तथ्यांक हेर्दा यूएई जाने नेपाली युवाको संख्या ४४ प्रतिशतले बढेको छ । कोभिड संक्रमणपछि ओरोलो लागेको आफनो अर्थतन्त्र सुधार गर्न यूएईले सेवा क्षेत्रमा लगानी बढाएसँगै यूएई जाने नेपालीको संख्या बढेको हो ।
यूएईले सेवा क्षेत्रसहित निर्माणका ठूला परियोजनामा लगानी गरिरहेकाले त्यहाँ जाने नेपालीको संख्या बढेको हो । यूएईले विश्वको सबैभन्दा ठूलो सिटी परियोजना ल्याएका कारण निर्माण क्षेत्रमा त्यहाँ जाने नेपाली धेरै रहेका कारण पनि संख्या बढेको हो । भिजिट भिसा तथा अन्य भिसाको माध्यमबाट यूएई जाने र रोजगारी पाएपछि वैधानिकीकरण श्रम स्वीकृति लिन सकिने प्रावधान भएका कारण यूएई जाने संख्या बढ्दो रहेको देखिन्छ ।
कतारले विश्वकप फुटबलको आयोजनापछि निर्माण क्षेत्रमा नेपाली श्रमिकको माग नगर्दा गत वर्ष कतार जाने नेपालीको संख्या सबैभन्दा कम रहेको थियो । यसरी साउदी अरब जाने नेपाली अघिल्लो वर्ष मलेसिया र यो वर्ष यूएई केन्द्रित हुँदा खाडीका अन्य श्रम गन्तव्य जाने नेपालीको संख्या घटेको थियो ।