Logo

बाराका स्थानीय तहको बजेट सार्वजनिक

बारा– बाराका स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सार्वजनिक गरेका छन् । आन्तरिक आय रहेका केही स्थानीय तहले समावेशी, समतामूलक र दिगो विकासलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरे पनि आन्तरिक स्रोतबाट पर्याप्त राजस्व संकलन गर्न नसकेका अधिकांश स्थानीय तहले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर बजेट सार्वजनिक गरेका छन् ।

स्रोत परिचालन र पारदर्शी कार्यान्वयनमार्फत बजेटको प्रभावकारिता बढाउने र स्थानीय तहमा सुशासन र समावेशी विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित कलैया उपमहानगरले एक अर्ब ७२ करोड ७३ लाखको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै उपप्रमुख रोशन प्रविणले समावेशी र समतामूलक विकासको परिकल्पना बजेटले गरेकाले यसमा नगरको पूर्वाधार विस्तार, विद्यालय स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच वृद्धि, युवा सशक्तीकरण तथा कृषिको आधुनिकीकरणलाई प्राथमिक एजेण्डा रहेको बताइन् ।

त्यस्तै सामाजिक, आर्थिक रुपान्तरण गरी उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने योजनासहित कोल्हवी नगरपालीकाले ७९ करोड २३ लाख बराबरको आय व्ययको बजेट प्रस्तुत गरेको छ । जसमा गुणस्तरीय पूर्वाधार निर्माण, रोजगार अभिवृद्धि, समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण उल्लेख छ । सिम्रौनगढ नगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखी शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई जोडेर ६७ करोड ७१ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

कार्यपालिका, विषयगत समिति, वडास्तर, स्थानीय तह र सार्वजनिक सुझाव संकलन प्रणाली जस्ता समावेशी प्रक्रिया अपनाई पचरौता नगरपालिकाले १४औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड ३१ लाख ६६ हजारको बजेट र नीति कार्यक्रम सार्वजनिक गरेको छ । महागढीमाई नगरपालिकाले ८१ करोड ५८ लाखको बजेट सार्वजनिक गरेको छ । महागढीमाईले प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटमा गुणस्तरीय पूर्वाधार निर्माण, रोजगार अभिवृद्धि, समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारणलगायतका विषय उल्लेख गरीएको छ ।

आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्लाका विश्रामपुर, करैयामाइ र प्रसौनी गाउँपालिकाले कानुन अनुसार स्थानीय तहले असार १० गतेभित्र ल्याइसक्नु पर्ने आर्थिक वर्षको बजेटको दुई साताअघि नै सभा सम्पन्न गरी ल्याएका थिए । जसमा विश्रामपुर गाउँपालिकाले समावेशी, दिगो विकास र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै ३२ करोड १० लाखको बजेट प्रस्तुत गरेको थियो भने ‘सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण करैयामाईको आधार’ भन्ने नारासहित करैयामाइ गाउँपालिकाले ४३ करोड ७२ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको थियो ।

सात वटा वडामा समावेशी र सन्तुलित विकासलाई प्राथमिकता दिँदै प्रसौनी गाउँपालिकाले ४० करोड एक लाख रुपैयाँ बराबरको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेर सभा सम्पन्न गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको बाँडफाँट योग्य बजेटमा विवाद भएपछि नगर सभा स्थगीत भएको छ । बाँडफाँट योग्य बजेटको सीमा बढाउने विषयमा सहमति हुन नसक्दा नगरसभाको पहिलो बैठक स्थगित भएको प्रमुख राजन पौडेलले बताए । त्यस्तै निजगढ नगरपालिको नगरसभासमेत विवादकै कारण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्