बजेटबाट हट्यो टेक एण्ड पे पीपीए, ऊर्जा उत्पादकले गरे स्वागत

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको ‘टेक एण्ड पे पीपीए’ को व्यवस्था हटाएको छ । निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको दबाबमा बजेटबाट यो व्यवस्था हटेको हो ।
बजेटको बुँदा नं. २२७ मा रहेको टेक एण्ड पे व्यवस्थालाई हटाएर नयाँ व्यवस्था गरिएको छ । यसअनुसार बजेटमा ‘वित्तीय जोखिम मूल्यांकनको आधारमा ऊर्जा खपत तथा निर्यात हुने यकिन भएका र नेपाल विद्युत प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाहरुको विद्युत खरिद सम्झौता गर्न सकिने’ उल्लेख छ । नयाँ व्यवस्थाले टेक एण्ड पे र टेक अर पे बारे केही पनि उल्लेख गरेको छैन ।
यसअघि जेठ १५ गते संसद्मा प्रस्तुत भएको बजेटमा ‘जलविद्युत आयोजना सम्पन्न हुने समय तालिकासँग संगति मिल्ने गरी सबस्टेशन र प्रसारणलाइन निर्माण गरिने, विद्युत उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत खरिद सम्झौता गर्ने नीति लिइने र रन अफ रिभर आयोजनाको टेक एण्ड पे अवधारणा अनुरूप विद्युत खरिद सम्झौता गरिने’ उल्लेख थियो ।
मंगलबार संसद्मा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले यसअघि बजेटमा ल्याइएको व्यवस्थाको आशय उत्पादित विद्युत खेर जान नदिने रहेको बताए । ‘ऊर्जा खपतको सुनिश्चितता भएका जलविद्युत आयोजनामा निजी लगानी आकर्षित गर्ने, निजी र बैंकिङ क्षेत्रको लगानी जोखिम न्यूनीकरण गर्ने, जलाशय र अर्धजलाशय आयोजनामा लगानी गर्न प्राथमिकता दिई सुख्खा याममा विद्यमान ऊर्जाको कमी पूरा गर्ने, नेपाल सरकारको सम्भावित दायित्व व्यवस्थित गर्ने र आर्थिक रुपले धान्न सक्ने गरी मात्र दायित्व सिर्जना गर्नेगरी सम्झौता गर्न जोड दिन खोजेका थियौं,’ उनले भने ।
अर्थमन्त्री पौडेलले ऊर्जा विकास मार्गचित्र अनुसार सन् २०३५ सम्म नदी प्रवाही आयोजनाको लागि छुट्याएको कोटाअनुसार १ हजार ७ सय मेगावाट क्षमताका आयोजनाको मात्र पीपीए हुने स्पष्ट गरेका छन् । मार्गचित्रले कुल साढे २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरेकोमा १२ हजार मेगावाट क्षमताका जलविद्युत आयोजना नदी प्रवाही हुने निर्धारण गरेको छ । अहिलेसम्म करिब ९ हजार ३ सय मेगावाट नदी प्रवाही जलविद्युत आयोजनामा पीपीए भइसकेको छ । त्यसमध्ये केही निर्माणाधीन र केही निर्माण सम्पन्न भइसकेका छन् । अन्य नदी प्रवाही जलविद्युत आयोजना भने विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएर निर्माणको चरणमा पुगेका छन् ।
अर्थमन्त्री पौडेलले ऊर्जा मन्त्रालयको प्रस्तावका आधारमा ऊर्जा विकास मार्गचित्रलाई लामो छलफलपछि मन्त्रिपरिषद् बैठकले पारित गरेको स्मरण गरे । मार्गचित्रले सन् २०३५ सम्ममा साढे २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरेकोमा १० हजार मेगावाटका अर्धजलाशययुक्त र ५ हजार ९ सय जलाशययुक्त जलविद्युत आयोजना हुने निर्धारण गरेको छ ।
अर्थमन्त्री पौडेलले ऊर्जा विकासमा सरकारको लगानी पर्याप्त नहुने भएकाले निजी लगानी अत्यावश्यक हुनेमा जोड दिए । ‘निजी क्षेत्रलाई प्राथमिकता दिइएको छ र आउने दिनमा पनि प्राथमिकता पाउनेछन्,’ उनले भने । निजी लगानीलाई अझ प्रभावकारी बनाउने र उत्पादन, प्रसारण र खपतबीच संगति मिलाउनेमा सरकारले जोड दिने उनको भनाइ छ ।
यसैगरी संसद्मै जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले ‘टेक एण्ड पे’को विषयमा बोलेका थिए । माओवादी सांसद अमनलाल मोदीले बजेटमा ल्याइएको टेक एण्ड पे किन हटाइएको भनेर सोधेकामा प्रधानमन्त्री ओलीले राम्रो गर्ला भनेर ल्याएको तर नराम्रो गर्ला जस्तो भएर हटाएको प्रष्टीकरण दिए ।
नयाँ व्यवस्थालाई ऊर्जा उत्पादकले गरे स्वागत
आगामी आर्थिक वर्षको बजेटमा रहेको टेक एण्ड पे व्यवस्था हटाएकोमा ऊर्जा उत्पादकहरुले सरकारलाई धन्यवाद दिएका छन् । यसले उत्पादकको माग पूरा गरेको र दीर्घकालिन रुपमा ऊर्जा क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उनीहरुको भनाइ छ । ‘संशोधित व्यवस्थाले आयोजनालाई वित्तीय संस्थामार्फत लगानीयोग्य बनाउन बाटो खोलेको छ भने खपत हुने र बिक्री गर्नको लागि पूर्वाधार तयार भएको खण्डमा टेक अर पे (लिऊ वा तिर) प्रणालीमा नै पीपीए गर्ने बाटो खुला गरेको छ,’ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका उपमहासचिव प्रकाश दुलालले भने, ‘यसले लगानीको लागि ढोका खोलेको छ । खपत वा बिक्रीको सुनिश्चितता गरेपछि मात्र ‘टेक अर पे’ मा पीपीए हुनेछ ।’
मंगलबार ऊर्जा उद्यमीहरुले सबै राजनीतिक दलका प्रमुख सचेतकलाई एसएमएस पठाएर ‘टेक एण्डे पे’ प्रावधान फिर्ता लिन खबरदारी गरेका थिए । संसद्बाट बजेट पारित हुने दिन उनीहरुले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी र जनता समाजवादीका प्रमुख सचेतकलाई एकैपटक एसएमएस पठाएका थिए । एसएमएसमा उनीहरुले ‘ऊर्जामा निजी क्षेत्र समाप्त पार्ने, लोडसेडिङ निम्त्याउने, लगानीकर्तालाई डुबाउने र देशको अर्थतन्त्र सिध्याउने टेक एण्ड पे पीपीए खारेज गर’ भन्ने सन्देश लेखेका थिए ।