Logo

होटलमैत्री मौद्रिक नीति ल्याउन हानको सुझाव

काठमाडौं– होटल संघ नेपाल (हान)ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाएको छ । सोमबार हान प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर पर्यटन तथा होटल उद्योगको बृहत्तर विकासका उपयुक्त नीति अवलम्बन गर्न आग्रह गरेको हो ।

सुझाव ग्रहण गर्दै गभर्नर डा पौडेलले सकारात्मक प्रतिक्रिया दिएको हानले विज्ञप्तिमार्फत जनाएको छ । संघ अध्यक्ष विनायक शाहले पूर्वाधारको उचित व्यवस्थापन हुन नसक्दा होटल व्यवसाय सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चमा ठूलो मात्रामा वृद्धि भएको बताए ।

उनले होटलको अकुपेन्सी अत्यन्तै कम हुँदा नियमित किस्ता बुझाउनसमेत कठिनाइ भएको उल्लेख गरे । उनले व्यवसायको वित्तीय अवस्थाअनुसार विशेष उद्योगसरह कर्जाको साँवाब्याज भुक्तानी गर्न पाउने व्यवस्थाका लागि आग्रह गरे । अध्यक्ष शाहले होटललाई डलर भुक्तानीका लागि सहजीकरण गर्न आग्रह गरे ।

उनले होटलको स्तर हेरेर अमेरिकी डलर टपअपको दायरा विस्तार गर्दै होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराउन आवश्यक भएको बताए । सरकारले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएकाले विशेष उद्योगसरहको छुट तथा उत्पादनमूलक उद्योगसरहको छुट तथा सुविधा पाउनुपर्ने माग गरिएको हानको छ ।

प्रतिक्रिया दिनुहोस्