सामाजिक व्यवसाय दिवस सम्पन्न

काठमाडौं– विश्वव्यापी बढ्दो गरिबी, बेरोजगारी र वातावरणीय असन्तुलनका चुनौतीलाई दृष्टिगत गर्दै युनुस सेन्टर, ढाका (बंगलादेश) को पहलमा सन् २०१० देखि प्रत्येक वर्ष मनाइँदै आएको सामाजिक व्यवसाय दिवस नेपालसहित विश्वभर मनाइएको छ ।
दिवस अवसरमा सम्मेलनमा सहभागीले आ–आफ्नो देशमा कन्ट्री फोरम आयोजना गर्दै आएका छन् । स्वावलम्बन विकास केन्द्रको संयोजनमा सामाजिक व्यवसाय दिवस अवसरमा नेपाल कन्ट्री फोरम २०८२ आयोजना गरिएको छ । एक सय १० जना सहभागी कार्यक्रममा देशका प्रमुख लघुवित्त वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी संस्था तथा सामाजिक अभियन्ताको सक्रिय उपस्थिति रहेको थियो ।
फोरमको मुख्य उद्देश्य सामाजिक व्यवसायको अवधारणालाई प्रवर्द्धन गर्दै गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार, स्वास्थ्य सेवा र वातावरणमैत्री विकासका क्षेत्रमा नीति निर्माण र सहकार्यको मार्गचित्र तय गर्नु रहेको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले महिला सशक्तीकरण तथा समग्र आर्थिक विकासमा लघुवित्त संस्थाको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे ।
लघुवित्त संस्थाले औपचारिक वित्तीय पहुँचबाट वञ्चित महिलालाई लक्षित गर्दै ऋण, बचतलगायतका आधारभूत वित्तीय सेवा दिँदै आएकाले साना उद्यम, कृषि तथा घरेलु उद्योगमा सक्रिय हुन उत्प्रेरित गरेको बताए । नेपाल कन्ट्री फोरम, सञ्चालक समिति अध्यक्ष शंकरमान श्रेष्ठले गरिब इमानदार हुने भएकाले लघुवित्तले सफलता पाउँदै आएको धारणा व्यक्त गरे । उनले लघुवित्तले मूल मर्म, सिद्घान्तअनुसार अगाडि बढे असुली दर ९९ प्रतिशतभन्दा कम हुन नसक्ने जनाए ।