Logo

तिलोत्तमाले ल्यायो २ अर्ब ९२ करोडको बजेट

बुटवल उपमहानगरको बजेट ३ अर्ब ३६ करोड

बुटवल– बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने उनले बताइन् ।

बुटवलले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेश गरेको छ । प्रस्तुत बजेटमा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ । कलेजमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ ।

जसका लागि ५० लाख रुपैयाँ व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन् । यस्तै बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गर्ने बजेट वक्तव्यमा उल्लेख छ । बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्नका लागि पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ ।

विद्यालय सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रमअन्तरगत बुटवलका किसान ‘हाम्रो सान’ कार्यक्रमका लागि १ करोड, छात्रालाई नि:शुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम ‘छोरी पढाउँ’ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड र स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ ।

यस्तै जेष्ठ नागरिक र असहायलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम ‘बा–आमासँग नगर प्रमुख’ कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ ।

यसैगरी, नगरलाई सफा र स्वच्छ राख्न ‘मेरो टोल म सफा गर्छु’ कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड, गृहिणी महिलालाई रोजगारीसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उधमी महिलाका लागि ७० लाख विनियोजन गरिएको छ ।

दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन् ।

किसानका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि १ करोड, दुग्ध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिनका लागि ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ । यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख, पुन: नापी गर्नका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ ।

बुटवलले यसअघि शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नगर प्रमुख खेलराज पाण्डेयले शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई प्राथमिकता दिएर नीति बनाएको बताएका थिए । उनले जनशक्ति उत्पादन र खपतमा जोड दिँदै पढाइसँगै रोजगार कार्यक्रम र ४० छात्रालाई नि:शुल्क प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गर्ने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । उनले परम्परागत सीपलाई प्रवर्द्धन गर्नका लागि सीप विकास केन्द्र सञ्चालन गर्ने बताए ।

बुटवलका गृहिणी महिलालाई रोजगारीसँग जोड्दै स्वरोजगार बनाउन ‘नगर प्रमुख गृहिणी महिला रोजगार कार्यक्रम’ अन्तरगत उत्पादित वस्तुको उत्पादन र बिक्री केन्द्र (कोसेली घर) स्थापनामा जोड दिइने बताए । यसैबीच रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ४४.१७ प्रतिशत र पूँजीगतर्फ ५५.८३ प्रतिशत रहने अनुमान गरिएको बताइन् ।

आर्थिक वर्ष २०८१/०८२ का लागि तिलोत्तमामा २ अर्ब ७६ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । उपप्रमुख चौधरीले आ.व. २०८२/०८३ का लागि तिलोत्तमाले आन्तरिक राजस्वतर्फ ३३ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य लिएको बताइन् । उनले ‘समृद्ध नगर: सुखी नगरबासी’ भन्ने लक्ष्य हासिल गर्न बलियो आधार तय गर्नु बजेटको मुल उद्देश्य रहने उल्लेख गरिन् ।

शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको सर्वागींण विकास र गुणस्तरमा वृद्धि, सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरबासीमा सुनिश्चित गर्ने, उद्यमशीलताको विकास र नवप्रर्वतनमा आधारित योजनमार्फत रोजगारी सिर्जना गर्ने, वातावरण, विपद् व्यवस्थापन क्षेत्रमा लगानी वृद्धि गरी समुन्नत र सुरक्षित नगर निर्माण गर्ने बजेटका अन्य उद्देश्य रहेको चौधरीले जानकारी दिइन् । तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको परिणात्मक अभिवृद्धि गर्ने, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार लगानी, उद्यमशीलता, रोजगारी, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने उपप्रमुख चौधरीले बताइन् ।

त्यस्तै वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम पहिचान तथा न्यूनीकरण, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, समन्यायिक विकास र विकासको प्रतिफलमा न्यायपूर्ण पहुँच कायम गर्ने, समतामूलक समाज र समावेशी विकासलाई अगाडि बढाउने र गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने जस्ता कार्यक्रमले बजेटमा प्राथमिकता पाएका छन् । यसअघि नगर प्रमुख रामकृष्ण खाणले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्