रोल्पाका स्थानीय तहलाई ९ करोड अनुदान

रोल्पा– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि रोल्पाका स्थानीय तहलाई करिब ९ करोडको बजेट दिने भएको छ । प्रदेश सरकारले यहाँका स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदानका रूपमा विभिन्न शीर्षकमा ७९ आयोजनाका लागि ८ करोड ९७ लाख ८ हजार रकम दिने प्रदेश सरकारको रातो किताबमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले अनुदानका रूपमा ८ करोड २५ लाख प्रदान गरेको थियो । चालु आवको तुलनामा आगामी आवको लागि प्रदान गरिने अनुदान रकम करिब ७२ लाखले बढेर आएको छ । एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा सबैभन्दा बढी रोल्पा नगरपालिकाले अनुदान पाउने भएको छ ।
नगरपालिकाले १० आयोजनाका लागि १ करोड २५ लाख ८ हजार, त्रिवेणी गाउँपालिकाले ८ आयोजनाका लागि ९० लाख, थवाङ गाउँपालिका ६ आयोजनाका लागि ७० लाख, परिवर्तन गाउँपालिकाले ४ आयोजनाका लागि १ करोड १५ लाख रकम पाउने भएका छन् ।
त्यस्तै माडी गाउँपालिकाले ४ आयोजनाका लागि ७० लाख, रुन्टीगढी गाउँपालिकाले १० आयोजनाका लागि ९२ लाख, लुंग्री गाउँपालिकाले ३ आयोजनाका लागि ७० लाख, गंगादेव गाउँपालिकाले ७ आयोजनाका लागि ७० लाख, सुनछहरी गाउँपालिकाले ७८ आयोजनाका लागि ७० लाख र सुनिलस्मृति गाउँपालिकाले ५ आयोजनाका लागि १ करोड २५ लाख रकम पाउने भएका छन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले ९६ लाख ५० हजार, त्रिवेणी गाउँपालिकाले ७६ लाख ५० हजार, थबाङ गाउँपालिकाले ७६ लाख ५० हजार, परिवर्तन गाउँपालिकाले ८१ लाख ५० हजार, माडी गाउँपालिकाले ८१ लख ५० हजार, रुन्टीगढी गाउँपालिकाले ८१ लाख ५०, लुंग्री गाउँपालिकाले ६६ लाख ५०, गंगादेव गाउँपालिकाले १ करोड १ लाख ५० हजार, सुनछहरी गाउँपालिकाले ८६ लाख ५० हजार र सुनिलस्मृति गाउँपालिकाले ७६ लाख ५० हजार प्राप्त गरेका थिए ।
संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहको कार्यसम्पादनको आधारमा वित्तीय अनुदान हस्तान्तरण गर्ने गर्दछन् । स्थानीय सरकारले संघ र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा अनुदान पाउने गर्दछन् ।