नेपालगन्ज भन्सारको लक्ष्य यस वर्ष पनि पुरा नहुने

नेपालगन्ज– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा वार्षिक लक्ष्यको ६७.२९ प्रतिशत राजस्व संकलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्षमा २७ अर्ब १८ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा जेठसम्म १८ अर्ब २९ करोड १२ लाख १२ हजार मात्र असुली गरेको हो । पछिल्लो तीन वर्षदेखि लगातार लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयले यस वर्षको जेठ मसान्तसम्म २४ अर्ब ७५ करोड १२ लाख संकलन गर्ने लक्ष्य राखेपनि ६७.२९ प्रतिशत मात्र असुली गरेको कार्यालयको तथ्यांक छ ।
कार्यालयका अनुसार साउनदेखि जेठ मसान्तसम्मको यस अवधिमा भन्सार महसुलतर्फ ९ अर्ब ५६ करोड ७८ लाख ६३ हजार लक्ष्य रहेकोमा ६ अर्ब २३ करोड १८ लाख १९ हजार, मूल्य अभिवृद्धि करतर्फ ९ अर्ब २९ करोड ७१ लाख ७४ हजार लक्ष्य रहेकोमा ७ अर्ब ४३ करोड ७३ लाख ८ हजार राजस्व संकलन गरेको छ ।
यस्तै अन्त: शुल्कतर्फ ७० करोड ६८ लाख ६९ हजार लक्ष्य रहेकोमा ७० करोड ३ लाख ६८ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । नेपालगन्ज भन्सार कार्यालय एकीकृत जाँच चौकी (आइसीपी) अन्तर्गत सञ्चालन भएपछि भन्सार असुली बढ्ने अपेक्षा गरिएको थियो । तर असुली भने खासै बढ्न सकेको छैन । कार्यालयले चालु आर्थिक वर्षको मासिक लक्ष्यसमेत कुनै महिनामा पनि पुरा गर्न सकेको छैन ।
गत साउनमा २ अर्ब ४ करोड १४ लाख ६६ हजार असुली गर्ने लक्ष्य निर्धारण भएकोमा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार अर्थात लक्ष्यको ७३.७७ मात्र असुली भएको थियो । यस्तै भदौमा ६६.६२, असोजमा ६६.९१, कात्तिकमा ७६.४४, मंसिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३, फागुनमा ७३.६८, चैतमा ८२.५४, वैशाखमा ७७.७२ र जेठमा ७२.०२ प्रतिशत मात्रै राजस्व असुली गरेको हो ।
हालसम्म संकलन गरेको राजस्व हेर्दा नेपालगन्ज भन्सार कार्यालयको यस वर्षपनि लक्ष्य पुरा नहुने भएको छ । चालु आर्थिक वर्षमा कार्यालयले २७ अर्ब १८ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर जेठसम्म १८ अर्ब २९ करोड १२ लाख १२ हजार मात्रै राजस्व असुली गरेको छ । भन्सार विभागले असारमा कार्यालयलाई २ अर्ब ४३ करोड २३ लाख २६ हजार लक्ष्य दिएको छ । लक्ष्य अनुसार राजस्व संकलन गरेमा पनि यस वर्ष कार्यालयले जम्मा २० अर्ब ६८ करोडको हाराहारीमा मात्रै राजस्व असुली हुने देखिन्छ ।