पर्वतमा मेकाडेमिया नट खेती विस्तार

पर्वत– जनशक्ति अभाव र बाँदर आतंकले खेतीपाती गर्न छाडेर वर्षौदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर मेकाडेमिया नट खेती विस्तार गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित पुवाडाँडामा रहेको १४० रोपनी क्षेत्रफलमा जापानिज कटुसको नामले परिचित मेकाडेमिया नट खेती सुरु गरिएको हो ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, प्रादेशिक आयोजना कार्यान्वयन ईकाई पोखराको सहयोगमा पर्वतमै पहिलो पटक ठूलो क्षेत्रफलमा मेकाडेमिया नट खेती सुरु गरिएको छ । स्थानीय उन्नत कृषि कृषक समुहमा आवद्ध २५ जना भन्दा बढी सदस्यको बाँझो जग्गा उपयोग गरेर खेती विस्तार गरिएको समुहका अध्यक्ष टिकराम उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार यस वर्ष मेकाडेनिया नटका एक हजार बिरुवा रोप्ने योजना छ । आयोजनाको ५० प्रतिशत अनुदानसहित झण्डै ४६ लाख रुपैयाँ लगानी गरेर खेती विस्तार गरिएको हो । यसका लागि पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले २३ लाख सहयोग गर्ने भएको छ । झाडी फडानी, सिँचाइ पोखरी निर्माण, मल तथा बिरुवा खरिद, बिरुवा रोपणलगायतका कार्य गर्न उक्त रकम खर्च भएको अध्यक्ष उपाध्यायले बताए ।
यस वर्ष लगाइएको मेकाडेनिया नटले चार वर्षदेखि फल दिने बताइएको छ । दुई वर्षमै सामान्य रुपमा फल लाग्न सुरु हुने भएपनि चार वर्षदेखि पूर्ण मात्रामा आम्दानी लिन सकिने गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार थोरै ठाउँबाट बढी आम्दानी, रोग तथा जंगली जनावरबाट कम नोक्सानी हुने फलफूलको खोजीमा रहेका किसानका लागि मेकाडामिया नट बढी उपयोगी हुने देखिएको छ ।
समुद्री सतहदेखि १६ सय मिटरसम्मको सुख्खा क्षेत्रमा यसको उत्पादन राम्रो हुने भएकाले अहिले ठूलीपोखरीमा विस्तार गरिएको खेतीबाट प्रसस्त फाइदा लिन सकिने सचिव रेग्मीले बताए । मेकाडेमिया नटलाई बदाम जस्तै काँचै फुटाएर खान सकिने र यसबाट खाने तेल, चकलेट, बिस्कुट, आइसक्रिमलगायतमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।
मेकाडेमिया नटको एउटा बोटमा प्रतिवर्ष ५० देखि ७० किलोसम्म फल लाग्ने उनले बताए । बाँदरले खान नसक्ने भएकाले बढी बाँदर लाग्ने ठाउँमा यसको खेती गर्नुपर्ने उनको भनाइ छ । बढ्दो बाँदर आतंकले खेतबारी बाँझै रहने क्रम बर्षेनी बढेका बेला फलफूल खेती विस्तार गरे कृषकको आम्दानी बढाउन सकिने उनले बताए ।
पर्वतमा पहिलोपटक बिस्तार गर्न थालिएको मेकाडेमिया नट खेतीको गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले वृक्षरोपण गरेर शुभारम्भ गरिन् । सो अवसरमा मन्त्री श्रेष्ठले बाँझो जमिन सदुपयोग गरेर प्रसस्त आम्दानी लिन सकिने भएकाले यसको खेती विस्तारका लागि आयोजना सञ्चालन गरिएको बताइन् । बढ्दो युवा पलायन, बाँदर आतंक, जनशक्तिको अभाव भएकाले एक पटक मेहनत र लगानी गरेर वर्षौंसम्म फाइदा हुने खालको खेतीबाली लगाउनतर्फ कृषकलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।