Logo

वीरगन्ज महानगरको बजेट ३ अर्ब २२ करोड

डिजिटलमैत्री सेवा प्रवाहलाई प्राथमिकता

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सोमबार १७ औं नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि महानगरपालिकाले तीन अर्ब २२ करोड ४८ लाख रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट ल्याएको हो । उक्त बजेट चालु आर्थिक वर्षको भन्दा झण्डै ३३ करोड बढी छ ।

चालु आर्थिक वर्षका लागि महानगरले २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको थियो । उपमेयर इम्तियाज आलमले सार्वजनिक गरेको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख अर्थात् कुल बजेटको ७०.२४ प्रतिशत, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात् १.१२ प्रतिशत रहेको छ ।

महानगरले आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड, संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, संघीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ लाख , प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड अनुमानित खर्च व्यहोर्ने श्रोतहरू राखेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाई, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई बजेटको प्राथमिकतामा राखेको छ । त्यसअघि नगरसभामा मेयर राजेशमान सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रवर्द्धन गर्ने महत्त्वकांक्षी योजना समावेश गरिएका थिए ।

मेयर सिंहले प्रस्तुत गरेको नीतिमा वीरगन्जको पर्यटन प्रवर्द्धनका साथै शिक्षा, स्वास्थ्य, सरसफाइलाई प्राथमिकतामा राखिएको छ । वीरगन्जमा नेपालको पहिलो रेल सेवा (रक्सौल–अमलेखगञ्ज) प्रारम्भ भएको ऐतिहासिक सहर भएको भन्दै मेयर सिंहले रेलवे सेवा स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचनाहरूलाई संरक्षण र पुन:प्रयोग गर्दै ‘रेल्वे म्युजियम’निर्माणको कार्य अगाडि बढाइने बताए ।

वर्षौदेखि निर्माणको तयारी गरेको तर निर्माण हुन नसकेको सुव्यवस्थित, हरित र आधुनिक ‘ बीपी उद्यान’को निर्माण गरिने योजनापनि नीति तथा कार्यक्रममा समावेश छ । महानगरको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । यसअन्तर्गत वीरगन्ज–२८ बगहीमा ‘महानगर नमुना अस्पताल’ निर्माण गरिनेछ ।

त्यसैगरी वीरगन्ज–२३ मा सहुलियत दरको ल्याब सेवा सञ्चालनमा ल्याइनेछ भने वीरगन्ज–१६ इनर्वामा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरिनेछ । महानगर आफैँले ‘महानगर फार्मेसी’ सञ्चालनमा ल्याउने योजना पनि समावेश गरेको छ । यी योजनाहरूले वीरगन्जका बासिन्दालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रयोग र पहुँच विस्तारलाई प्राथमिकता दिइएको छ ।

यसअन्तर्गत महानगरका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक स्मार्ट कक्षा’ कार्यक्रम लागु गरिनेछ । आधारभूत तहका सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ ‘एक विद्यालय, एक ल्यापटप र एक प्रिन्टर’ कार्यक्रम लागु गरिने छ । वीरगन्ज–१० आदर्शनगरमा रहेको पुस्तकालयलाई आधुनिकीकरण गरिने छ भने ३२ वटै वडामा सामुदायिक पुस्तकालय स्थापना गरिनेछ ।

मेयर सिंहका अनुसार, कक्षा १० का विद्यार्थीलाई लक्षित गरी एसइई परीक्षाको तयारीका लागि नि:शुल्क कोचिङ कक्षा पनि सञ्चालन गरिनेछ । महानगरले स्थानीय भाषा र संस्कृतिको संरक्षण तथा पूर्वाधार विकासमा समेत ध्यान दिएको छ । यस क्रममा स्थानीय भोजपुरी भाषा र संस्कृतिको संरक्षण, अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने उद्देश्यले वीरगन्जमा अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन आयोजना गरिनेछ ।

मेयर सिंहले आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण, धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको संरक्षण र प्रवर्द्धन, सुशासनसहितको डिजिटल प्रशासन, योजनाबद्ध सहरी विस्तार र स्वच्छ, सफा तथा सुन्दर वीरगन्जको पहिचान निर्माणका योजनाहरू समावेश गरिएको जानकारी दिए । यी योजनाहरू वीरगन्ज बासीको चाहना र आफूले चुनावमा गरेका प्रतिबद्धताहरूलाई मूर्त रूप दिनका लागि तयार पारिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्