३२ वर्षदेखि मुहानकै पानीको भरमा स्थानीय

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशको डोटीमा पिउने पानीको अभाव बढ्दै गएको छ । जिल्लाको राजपुर डोटीको के आई सिँह गाउँपालिका–६ का स्थानीयलाई पिउने पानीको अभाव बढ्दै गएको हो । सो गाउँमा स्थानीयका घर छेउमा धारा छन् तर, पानी छैन । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । उक्त गाउँका स्थानीय अहिले पनि पानीको अभाव भोगिरहेका छन् ।
विगत १२ वर्षदेखि खानेपानी योजना निर्माण थालिए पनि घर नजिकमा बनाइएका धारामा अझै पानी झरेको छैन । उक्त क्षेत्रका स्थानीय पानी लिन टाढासम्म हिँडेर जानुपर्ने बाध्यता रहेको छ । स्थानीयका अनुसार प्रत्येक वर्षको नीति तथा कार्यक्रममा एक घर एक धाराको नीतिलाई निरन्तरता दिइएको छ । खानेपानी आयोजना सञ्चालन गर्दा विगतमा सुरु गरिएका क्रमागत आयोजनालाई प्राथमिकतामा राख्दै थप सम्भावना र आवश्यकतालाई मध्यनजर गरी कार्यक्रम तर्जुमा समेत गरिएको छ ।
ऐतिहासिक र धार्मिक महत्त्व बोकेका पुराना धाराहरुको जगेर्ना र संरक्षित गर्न धारा संरक्षित कार्यक्रमलाई निरन्तरता दिइएको छ । गाउँपालिकामा निर्माण भई सञ्चालनमा रहेका खानेपानी आयोजनाको संरक्षित र सम्वद्र्धन गर्न स्थानीय सरोकारवालाको सहभागीता वृद्धि गर्ने नीति अवलम्बन गरिनुका साथै गाउँपालिकामा निर्माण हुने खानेपानीका संरचना बालमैत्री र अपांगमैत्री बनाउँदै लैजाने नीति तथा कार्यक्रममा गरिएपनि कुनै पनि योजना लागु नभएको स्थानीयको भनाइ छ ।
गाउँपालिका–६ का स्थानीय पुस्कर जोशीले ३२ वर्षदेखि मुहानकै पानी पिउने गरेको बताए । उनले खानेपानी योजना प्रत्येक वर्ष आउने तर लागु नहुने बताए । ‘अहिलेसम्म खानेपानी योजनामा डेढ करोड बजेट विनियोजन भइसकेको छ’ उनले भने, ‘प्रत्येकको घरमा एक घर एक धारा निर्माण हुन् सकेको छैन । घर नजिक धारा निर्माण भएपनि त्यसको सही तरिकाले व्यवस्थित गर्न नसक्दा पानी सुचारु हुन सकेको छैन । समितिमा आफ्नै मान्छे राख्ने प्रवृति भएकाले खानेपानीका लागि आएको बजेटसमेत आफैंले खाने गरेका छन् ।’
खानेपानी समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर नभएको स्थानीयले गुनासो गरेका छन् । १५० घरधुरी रहेको उक्त गाउँमा टोलको सार्वजनिक धारामा कहिले काँहीमात्र पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्ने गरेका छन् । खानेपानी आयोजना निर्माणले गति लिन नसक्दा उक्त क्षेत्रका स्थानीयले खानेपानीका लागि दु:ख खेप्नु परिरहेको छ । आयोजना निर्माणमा भएको ढिलाइले प्रत्येका घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका सथनीय निरास बनेका छन् ।