Logo

बेसीशहर नगरपालिकाको बजेट ७५ करोड ४८ लाख

लमजुङ– बेसीशहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७५ करोड ४८ लाख २० हजार बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको सोमबार सुरु भएको नगरसभाको १७औं अधिवेशनमा सो बजेटसहित योजना, नीति र कार्यक्रम प्रस्तुत भएको हो । नगरसभामा उपप्रमुख पद्मा गुरुङले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि २४ लाख ५३ हजार रुपैयाँँ कम बजेट प्रस्तुत गरेकी हुन् । बेसीशहरले चालु आर्थिक वर्षमा ७५ करोड ७२ लाखको बजेट स्वीकृत गरेको थियो ।

नगरसभामा उप–प्रमुख पद्मा गुरुङले नगरस्तरीय र वडास्तरीय योजना प्रस्तुत गर्दै चालुतर्फ ४७ करोड ८१ लाख र पुँजीगततर्फ २७ करोड ६७ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेकी हुन् । बजेटमा राजस्वका विभिन्न शीर्षकबाट १९ करोड ५८ लाख ५१ हजार र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५५ करोड ८९ लाख ६९ हजार आय हुने अनुमान गरीएको छ ।

अनुमानित आय विवरणअन्तर्गत आन्तरिक स्रोतबाट तीन करोड ५१ लाख ४५ हजार, स्थानीय राजस्व दुई करोड ५४ लाख, २० हजार, संघीय राजस्व बाँडफाँटबाट प्राप्त १० करोड सात लाख, प्रदेश राजस्व बाँडफाँटबाट प्राप्त एक करोड ४५ लाख ८६ हजार र बैंक मौज्जातसहितको अन्य आयबाट दुई करोड रहेको छ ।

त्यसैगरी अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारबाट ५२ करोड १४ लाख, प्रदेश सरकारबाट दुई करोड ७५ लाख ६९ हजार, विविध कार्यक्रमबाट एक करोड रुपैयाँ रहेको छ । नगरसभामा बजेट प्रस्तुत गर्नुअघि उपप्रमुख गुरुङबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।

पालिकाबासीको आवश्यकता र प्रथामिकताका आधारमा बिना भेद्भाव र पक्षपातरहितरुपमा नगरको समृद्धिका लागि नीति, कार्यक्रम, योजना र बजेट ल्याइएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । नगरप्रमुख अर्यालले केन्द्रबाटै बजेट कम आउने भएकाले नगरबासीको अपेक्षा अनुसार योजना निर्माण गर्न अझै नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्