Logo

पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड

पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र व्यावसायिक कृषिलाई प्राथमिकता

पोखरा– पोखरा महानगरपालिकाले आगामी वर्ष २०८२/८३ को लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ । पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र व्यावसायिक कृषिलाई प्राथमिकता दिँदै ल्याइएको बजेट चालु वर्षको तुलनामा ११ प्रतिशत बढी हो ।

महानगरको १७ औं नगरसभामा आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर मन्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन् । उक्त बजेट चालु वर्षको तुलनामा ८३ करोड ८० लाख रुपैयाँ बढी छ । बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड १२ लाख अर्थात् ३७.४९ प्रतिशत, आन्तरिक आयबाट ५ अर्ब २२ करोड अर्थात् ६२.५ प्रतिशत रहेको छ ।

नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड अर्थात् १८.१५ प्रतिशत, सामाजिक विकासतर्फ ३८ करोड अर्थात् ७.२८ प्रतिशत, आर्थिक विकासतर्फ १८ करोड अर्थात् ३.४५ प्रतिशत, वडा कार्यालयतर्फ १ अर्ब अर्थात् १९.१६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड अर्थात् ४४.६४ प्रतिशत, सहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड अर्थात् ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।

त्यसैगरी आन्तरिक राजस्व परिचालनतर्फ ३ अर्ब २३ करोड ७२ लाख रहेको छ । स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब १ करोड १९ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ४ करोड २८ लाख, संघीय राजस्व बाँडफाँटबाट ३३ करोड ८ लाख, संघीय समानीकरण अनुदानबाट ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदानबाट ८ करोड १५ लाख रुपैयाँ व्यहोरिने बजेटमा उल्लेख छ ।

चालु वर्षमा ७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ विनियोजन भए पनि यही जेठ मसान्तरसम्म ४ अर्ब १६ करोड ५२ लाख रुपैयाँ खर्च भएको उपमेयर गुरुङले बताइन् । यस वर्षमा ७५ प्रतिशत खर्च हुने उनको दाबी थियो । चालु वर्षमा एक अर्ब ५५ करोड ५१ लाख रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य रहेकोमा जेठ मसान्तसम्म महानगरले ६२.२० अर्थात् ९६ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी दिगो पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण, सम्वर्द्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यवसायिक कृषि प्रणालीको प्रवर्द्धनमा बजेटले प्राथमिकता दिएको छ ।

आठ छिमेकी पालिका तथा दुई मितेरी पालिकाकाहरुसँग साझेदारी गरी पर्यटन पूर्वाधार निर्माणका लागि अनुदानतर्फ एक करोड ५० लाख विनियोजन गरिएको छ । राजस्व प्रशासनको क्षमता अभिवृद्धि गरी कर प्रणालीलाई चुस्त, सरल, प्रविधि र करदातामैत्री बनाउँदै व्यवसायी र करदाताको कर परिपालना अभिवृद्धि गर्न र कर चुहावट नियन्त्रण गर्न प्रभावकारी उपायहरु अवलम्वन गरिने भएको छ ।

यसअघि पोखराका मेयर धनराज आचार्यले आउँदो वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, पर्यटनलाई प्राथामिकता दिएको उल्लेख गरे । समुन्नत पर्यटकीय पोखरा, समुन्नत पोखराका आधार: सबल अर्थतन्त्र र पूर्वाधारलगायतका अभियानलाई नीति तथा कार्यक्रमले महत्त्व दिएको छ ।

पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकास गर्ने, उत्पादनमूलक व्यावसायिक कृषि प्रणालीको विकास गर्ने, समानुपातिक विकास प्रक्रिया अवलम्बन गर्ने, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनमार्फत प्रदुषण नियन्त्रण गर्नेलगायतका उद्देश्य रहेका छन् ।

सहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड
सहरी विकास पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड विनियोजन गरिएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत तालचोक बेगनास सडक, शिशवा शिशाघाट सडक र बागमारा–लामनादी लामेआहाल पक्की सडक निमाण कार्य सम्पन्न गर्न ५२ करोड ४७ लाख विनियोजन गरिएको छ ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित सहरी उत्थानशील तथा जिवनयापन सुधार आयोजनाअन्तर्गत पोखरा ड्रेनेज, सडक, फुटपाथ र स्ट्रिट सुधार, पञ्चासे इको विकास तथा पहुँच मार्ग निर्माण, पुरानो पोखरा सम्पदा बस्ती संरक्षण, रानीवन इको ट्रेल तथा फेवाताल सुधार कार्यक्रम र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्मको फास्ट ट्रयांक निर्माण जस्ता दीर्घकालीन महत्त्वका परियोजनाहरू तयार गरी सञ्चालन गरिने भएको छ । उक्त योजनाका लागि ३७ करोड २६ लाख बजेट विनियोजन गरिएको छ ।

पोखरालाई स्वच्छ हराभरा बनाई हरित सहरका रूपमा विकास गर्न परियोजना सञ्चालन गर्दै सहरी वन व्यवस्थापन र वृक्षारोपण तथा संरक्षण अभियानलाई निरन्तरता दिन एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर गुरुङले बताइन् । त्यसैगरी मुक्तिक्षेत्र प्रवेशद्धारका लागि एक करोड ४० लाख, फेवा विच निर्माणका लागि एक करोड ५० लाख र पुरानो वस्ती संरक्षणका लागि ५० लाख विनियोजन गरिएको छ ।

पर्यटकीय राजधानी पोखराको सार्वजनिक स्थल, चोक, सडकमा उज्यालो पोखरा कार्यक्रमअन्तर्गत जडान गरिएका सडक बत्तीको विद्युत महशुल खर्चका लागि ७० लाख विनियोजन गरिएको छ । मेट्रिक प्रणालीमा आधारित घर नम्बर प्रणालीको विकास र स्थापना साथै सामाजिक–आर्थिक विवरणसँग एकीकरण गर्ने कार्यका लागि ३ करोड विनियोजन गरिएको छ ।

पूर्वाधार विकासका लागि २ अर्ब ३३ करोड
महानगरको पूर्वाधार विकासका लागि कुल २ अर्ब ३३ करोड विनियोजन गरिएको छ । सहरी क्षेत्रको मुख्य सडक, सार्वजनिक स्थलहरुको नियमित सरसफाइ तथा बोट बिरुवा गोडमेलका लागि २ करोड ५० लाख, सार्वजनिक निजी साझेदारीमा कार्यक्रम सञ्चालन गर्न तथा कार्यक्रममा म्याचिङ गर्न ३० लाख रुपैयाँ विनियोजन गरिएको हो ।

महानगरस्तरीय ३५ वटा बहुवर्षीय योजना सम्पन्न गर्न ८७ करोड, बहुवर्षीय योजनालाई वर्षभर बजेट अभाव हुन नदिने गरी चालु वर्षमा नयाँ कार्यक्रम अगाडि बढाउने बजेटमा समेटिएको छ । सबै वडाहरूको सन्तुलित विकास गर्ने नीति अनुरूप वडा कार्यालयहरुको पूर्वाधार निर्माण गर्न एक अर्ब बजेट प्रस्ताव गरिएको छ भने वडा कार्यालयको प्रशासनिक तथा कार्यालय सञ्चालनतर्फ ६ करोड बजेट विनियोजन गरिएको छ ।

समग्र सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्न कुल ३ करोड ८५ लाख विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ । बालबालिकाको क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गर्ने गरी ४५ लाख, दश प्रकारका अपांगता भएका व्यक्तिहरुलाई अपांगमैत्री कार्यक्रमका लागि ५५ लाख र ज्येष्ठ नागरिकहरुलाई २१ लाख बजेट छुट्याइएको छ ।

सामाजिक क्षेत्रका विविध पक्षहरु समेट्ने गरी ४३ लाख, विपन्न तथा मध्यम आय भएका परिवारको आवास निर्माण तथा मर्मत संभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति ८ लाख परिचालन गर्ने गरी व्यवस्था गरिएको छ । शिक्षाको समग्र विकास गर्न एक अर्ब ७३ करोड ३३ लाख रुपैयाँ विनियोजन भएको छ ।

स्वास्थ्य क्षेत्रमा ३१ करोड २ लाख बजेट विनियोजन भएको छ । नि:शुल्क आधारभूत स्वास्थ्य सेवा महानगर भित्रका सबै स्वास्थ्य संस्थाबाट ५८ प्रकारका औषधि तथा उपकरण नियमित उपलब्ध गराउन एक करोड ६ लाख ९३ हजार बजेट विनियोजन गरिएको छ । महानगरले प्रशासनिक तथा कार्यालय सञ्चालन तथा कार्यक्रम सञ्चालन गर्न एवं नगरपालिकाको कार्यालयअन्तर्गत ९५ करोड विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्