Logo

२७ वर्षसम्म अधुरै मार्तडी कोल्टी सडक

बाजुरा– बाजुराको मार्तडी कोल्टी सडक खण्डको ढम्कनेदेखि कोल्टीसम्म सडक निर्माणका लागि समयमै ठेकेदारले काम नगर्दा चालू आर्थिक वर्षका लागि विनियोजन भएको बजेट फ्रिज हुने भएको छ । चालू आर्थिक वर्षमा उक्त सडक कालोपत्रेका लागि १५ करोड विनियोजन भएको थियो । काम गर्ने जिम्मा पाएको पिएस बानिया निर्माण सेवाले करिव डेढ करोडको मात्र काम गरेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले बताए ।

ठेकेदारले काम नगरेपछि झण्डै १३ करोड ५० लाख फिर्ता हुने भएको थापाले बताए । आर्थिक वर्ष २०६७/०७७ मा २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर असारमा सम्झौता गरेको थियो । सम्झौताका बेला ३ वर्षमा काम सम्पन्न गर्ने रहेको थियो । तीन वर्षमा काम नसकेपछि कार्यालयले एक पटक म्याद थप गरेको थियो ।

म्याद थपिए पनि चालू आर्थिक वर्षमा भने ठेकेदारले काम नगर्दा रकम फिर्ता हुन लागेको पूर्वाधार कार्यालय अछामले जनाएको छ । कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेण्डर गरेको थियो । पिएस बानिया निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा वर्षातमा मार्तडी कोल्टी सडक बन्द हुने गरेको स्थानीय मदन जैशीले बताए ।

पिएस बानिया निर्माण सेवा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाको हो । उनी बागमती प्रदेश सभाका सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति हुन् । मार्तडी कोल्टी सडक खण्ड जम्मा ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुवर्षिय योजनामा रहेको छ । यो सडकको २६ किलोमिटरबाहेक मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड विनियोजन भएको थियो । पहिलो मार्तडीदेखि चुथिसम्म ९ किलोमिटरको धेरै काम भइसकेको छ ।

चुथिदेखि ढम्कने ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । समपुरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ । मार्तडीदेखि कोल्टीसम्म ४१ किलोमिटर बुढीनन्दा नगरपालिका २ कोल्टीगाँउसम्म पुग्ने रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मार्तडी कोल्टी ४१ किलोमिटर सडक कालोपत्रेका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रकम बराबरको तीन खण्डमा टेण्डर भएको हो ।

विगतमा ४१ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको थियो । २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक निर्माण भएको २७ वर्षसम्म पनि पूरा हुन सकेको छैन । १६ वर्षसम्म ३५ करोड भन्दा बढी खर्च भइसकेको भएपनि सामान्य बाटो खुल्ने काम पनि पूरा नभएको स्थानीयले बताएका छन् । २०५६ फागुन ७ गते तत्कालिन जिल्ला विकास समितिका सभापति लालबहादुर थापाले उक्त सडकको शिलन्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्