ऊर्जा उद्यमीले प्रधानमन्त्री, अर्थ र ऊर्जामन्त्रीलाई एकैसाथ पठाए एसएमएस

काठमाडौं– सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा ‘टेक एन्डे पे’ (लिऊ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई एकैपटक सयौं एसएमएस पठाएका छन् ।
ऊर्जा उद्यमीले आन्दोलनका कार्यक्रमअन्तर्गत शनिबार बिहान १० बजे एकैपटक प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकैपटक सयौं ‘टेक एन्ड पे’ फिर्ता लिन एसएमएस गरेका हुन् ।
टेक एन्ड पे पीपीएको व्यवस्था ऊर्जामा निजी क्षेत्रको लगानी बन्द गर्ने गरी ल्याइएको भन्दै उनीहरूले एसएमएसमा ‘ऊर्जामा निजी क्षेत्र समाप्त पार्ने, लोडसेडिङ निम्त्याउने, लगानीकर्तालाई डुबाउने र देशको अर्थतन्त्र सिध्याउने टेक एन्ड पे पीपीए खारेज गर’ उल्लेख गरेका छन् ।
सरकारले जेठ १५ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले निर्माण गर्ने नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) टेक एन्ड पे अवधारणाअनुसार मात्र हुने व्यवस्था गरेको छ । ऊर्जा उद्यमीले त्यसको विरोध गर्दै आइरहेकामा असार ६ देखि चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का कार्यवाहक अध्यक्ष एवं इप्पान आन्दोलन समिति संयोजक मोहनकुमार डाँगीले टेक एन्ड पे फिर्ता लिन सरकारलाई दबाब दिन एकैपटक एसएमएस गरिएको जानकारी दिए । डाँगी नेतृत्वको आन्दोलन समितिले आन्दोलनको पहिलो दिन प्रधानमन्त्री ओलीलालाई भेटेर ज्ञापनपत्र बुझाएको थियो ।