जग्गा कारोबार राजस्व पाँच अर्ब १२ करोडले बढ्यो
जेठसम्म ४२ अर्ब ४६ करोड राजस्व

काठमाडौं– अर्थतन्त्र सुस्त भए पनि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म घरजग्गा कारोबारको राजस्वमा वृद्धि भएको छ । गत आवको जेठसम्ममा देशभरका मालपोत कार्यालयहरूबाट ३७ अर्ब ३४ करोड रुपैयाँ राजस्व असुली भएकोमा चालु वर्षको जेठसम्ममा ४२ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन भएको हो । यो गत जेठसम्मको तुलनामा ५ अर्ब १२ करोड अर्थात् १४ प्रतिशतले धेरै हो ।
मालपोत कार्यालयहरूले घरजग्गा कारोबारमा रजिष्ट्रेशन शुल्कसहित करिब आधा दर्जन अन्य शीर्षकमा कर उठाउँछन् । जेठसम्म उठेको ४२ अर्ब ४६ करोड राजस्व रजिष्ट्रेशनसहित सबै कर हो । जग्गा कारोबार भने गत वर्षको तुलनामा केही कमी आए पनि राजस्व संकलन बढेको छ । गत आवमा १४ लाख ८ हजार जग्गा कारोबार भएकोमा यो वर्ष सामान्य घटेर १४ लाख २२ हजारमा कायम रहेको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालु आवको जेठसम्ममा औसत प्रतिमहिना ३ अर्ब ८६ करोड रुपैयाँका दरले राजस्व असुली भएको छ । गत वर्ष जेठसम्मको प्रतिमहिना राजस्व असुली औसतमा ३ अर्ब ३९ करोड रुपैयाँ थियो । विभागका अनुसार यो वर्ष जेठसम्मका ११ महिनामध्ये एक बाहेक सबै महिनामा राजस्व बढेको छ । अन्य सबै महिनामा राजस्व बढेको छ ।
विभागका अनुसार चालु वर्षको सुरु महिना साउनमा यो वर्ष ३ अर्ब ८३ करोड राजस्व असुली भएको छ । गत वर्षको साउनमा २ अर्ब ९१ करोड रुपैयाँ राजस्व उठेको थियो । यद्यपि जग्गा राजस्व वृद्धि भए पनि कारोबार भने गत आवको भन्दा घटेको छ । जग्गा कारोबार कम भए पनि बढी राजस्व आउने मूल्यमान जग्गाको कारोबार भएमा राजस्व बढ्ने गर्छ ।
गत वर्ष भदौमा ३ अर्ब ४ करोड राजस्व संकलन भएकोमा यो वर्ष भदौमा ५ करोडले बढेर ३ अर्ब ९ करोड पुगेको छ । गत वर्षको असोजभन्दा यो वर्ष असोजमा एक अर्ब रुपैयाँ राजस्व कम उठेको छ । यो वर्ष कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व असुली भएको थियो । गत वर्षको कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व उठेको थियो ।
विभागका अनुसार गत वर्ष मंसिरमा २ अर्ब ८६ करोड राजस्व उठेकामा यो मंसिरमा ३ अर्ब ८७ करोड पुगेको छ । यो महिना पनि राजस्व एक अर्ब एक करोडले बढेको छ । घरजग्गा कारोबारबाट उठ्ने राजस्व पुसमा पनि गत वर्षभन्दा एक अर्ब ५ करोड रुपैयाँले बढेको छ । गत वर्ष पुसमा ३ अर्ब २० करोड राजस्व उठेकामा यो वर्ष पुसको राजस्व ४ अर्ब २५ करोड पुगेको छ ।
माघमा पनि राजस्व केही बढेको छ । यो वर्ष माघमा ३ अर्ब ८७ करोड राजस्व असुली भएको छ । गत वर्षको माघमा राजस्व ३ अर्ब ३७ करोड रुपैयाँ थियो । यसरी गत आवको फागुनमा ३ अर्ब ५९ करोड राजस्व संकलन भएकोमा चालु आवमा बढेर ४ अर्ब १२ करोड राजस्व संकलन भएको छ । यसरी नै गत चैतमा ३ अर्ब ९४ करोड राजस्व संकलन भएकोमा चालु आवमा वृद्धि भएर ४ अर्ब ३९ करोड राजस्व संकलन भएको छ ।
गत आवको वैशाखमा ३ अर्ब ८६ करोड राजस्व सकलन भएको चालु आवमा ४ अर्ब ५४ करोड राजस्व संकलन भएको छ । यसरी नै गत जेठमा ४ अर्ब ३३ करोड संकलन भएकोमा चालु आवको जेठमा ४ अर्ब ७२ करोड संकलन भएको छ । विभागले यो वर्ष घरजग्गा कारोबार उच्च दरले नबढे पनि कित्ताकाट र जग्गा वर्गीकरणको काम लगभग सकिएकाले यो वर्ष भित्र राजस्व थोरै भए पनि बढने जनाएको छ ।
केही वर्षदेखि घरजग्गा कारोबारमा आएको मन्दीले आर्थिक क्रियाकलापलाई सुस्त बनाउन सहयोग पुर्याएको छ । सरकारले जग्गा कित्ताकाट गर्न रोकेपछि यसको कारोबारमा पनि मन्दी आउन सुरु भएको थियो । अहिले कित्ताकाट खुला भएको छ । तर पनि देशभरका मालपोत कार्यालयमा घरजग्गा कारोबार कित्ताकाट रोक्नु अगाडिका वर्षहरूको जसरी बढेको छैन ।
२०७६ सालमा भू-उपयोग ऐन र २०७९ मा भू-उपयोग नियमावली जारी भएपछि सरकारले जग्गा वर्गीकरणका लागि कित्ताकाट रोकेको थियो । यसपछि घरजग्गा कारोबारमा मन्दी आउन सुरु भएको थियो । सरकारले गत साउनबाट जग्गाको कित्ताकाट खुला गरेको थियो । यसपछि कारोबारमा केही सुधार देखिँदै आएको छ ।
अहिलेसम्म घरजग्गा क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी छ । विगतमा घरजग्गामा गरेको लगानीबाट उच्च दरको प्रतिफल आउने गरेको थियो । यही कारण यो क्षेत्रको लगानीमा रियलस्टेट व्यवसायी मात्र नभएर सबैको ध्यान गएको थियो । सर्वसाधारणदेखि उद्योगी–व्यवसायी सबैको यो क्षेत्रमा ठूलो लगानी छ । अहिले यही क्षेत्र चलायमान हुन नसक्दा अधिकांशको लगानी फसेर बसेको छ ।