दैलेखमा भेटिएको ग्यास ५० वर्षसम्म आपूर्ति हुन सक्ने, एक वर्षभित्र उत्पादन सुरु गर्ने तयारी

काठमाडौं– लामो समयदेखि दैलेखको जलजलेमा अध्ययन गरिरहेको चिनियाँ अध्ययन टोलीले उक्त क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास (मिथेन) रहेको प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको छ ।
चीनको सरकारी संस्था चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा गरेको अन्वेषणमा यो परिमाणको ग्यास रहेको पुष्टि भएको हो । अब एक वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्ने गरी सरकारले तयारी गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जानकारी दिए । चिनियाँ अध्ययन टोलीले बुझाएको प्रतिवेदनअनुसार दैलेखको जलजलेमा ५० वर्षलाई पुग्ने प्राकृतिक ग्यासको खानी रहेको मन्त्री भण्डारीले बताए । अन्तिम अध्ययन प्रतिवेदन आएपछि ग्यासको परिमाण अझै थपिन सक्ने उनको भनाइ छ ।
मन्त्री भण्डारीले भने, ‘नेपालको ऊर्जा भविष्यलाई आत्मनिर्भरता र स्वदेशी स्रोतमा आधारित बनाउने सपना अब सम्भावनाको चरण पार गर्दै यथार्थतिर उन्मुख हुँदैछ । पहाडी जिल्ला दैलेखको जलजले क्षेत्रमा मिथेन ग्यासको विशाल भण्डार भेटिएको चिनियाँ टोलीको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । सो क्षेत्रमा कुल ४३० अर्ब घनमिटर ग्यास रहेको प्रारम्भिक प्रक्षेपण गरिएको छ ।’
मन्त्री भण्डारीका अनुसार विस्तृत प्रतिवेदनपछि परीक्षण उत्पादन सुरु गर्ने योजना छ । ‘आगामी एक वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्न सरकारले गृहकार्य गरिरहेको छ । ग्यास उत्पादनले नेपालको इन्धन आयातमा भारी कटौती गर्नुका साथै हजारौं स्थानीयलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना हुन्छ । दैलेखको ग्यासले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउन टेवा पुर्याउनुका साथै राजस्व वृद्धि र कुनै मुलुकमाथिको परनिर्भरता कम गर्न ठूलो सहयोग पुग्नेछ,’ उनले भने ।
चनियाँ अध्ययन टोलीले २०७८ वैशाख २८ गतेदेखि सुरु गरेको पहिलो ड्रिलिङ ४ हजार १३ मिटर गहिराइमा पुर्याएको थियो । उत्खनन् कार्य भने २०८० वैशाखदेखि सुरु भएको थियो । त्यसबाट संकलन गरिएका नमुनाको परीक्षणमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको हो ।
विस्तृत अन्वेषण र ड्रिलिङ गर्नको लागि सरकारले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । अहिले चारवटा सम्भावित इनारमध्ये पहिलोको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी तीनको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमा कुल ४ सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ ।
ड्रिलिङ गर्ने क्रममा जमिन मुनिबाट निस्केको चट्टानबाट ग्यासको गन्ध आएपछि त्यसको नमुना परीक्षणको लागि चीन पठाइएको थियो । चिनियाँ टोलीले हालसम्म १ हजार किलोमिटर क्षेत्रमा भौगर्भिक रुट सर्भे सम्पन्न गरिसकेको छ । यस्तै, पेट्रोलियम पदार्थको भौगर्भिक सर्भे २ हजार ५ सय वर्गमिटर, जियोकेमिकल सर्भे ८ सय वर्गकिलोमिटर, रिमोट सेन्सिङ सर्भे ५ हजार वर्गकिलोमिटर, म्याग्नेटो टेलुरिक सर्भे ८ सय लाइन किलोमिटर सम्पन्न भइसकेको छ । यसैगरी टुडी सेस्मिक सर्भे २ सय लाइन किलोमिटर र अन्वेषणात्मक वेल एउटा ४ हजार १३ मिटर गहिराइसम्म भएको मन्त्रालयले जनाएको छ । हालसम्म जियोफिजिकल लगिङ, मड लगिङ, पाइरोलसिस, ग्यास क्रोमाटोग्राफी, पेट्रोग्रापिक एनालाइसिस र पीटी एनालाइसिस जस्ता अत्यावश्यक परीक्षण सम्पन्न भएको छ ।
मन्त्रालयका अनुसार हाल भइरहेको अध्ययन चीन सरकारको पूर्ण अनुदानको पाइलट प्रोजेक्ट हो । चीन सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा यो अध्ययन भइरहेको छ । यसको प्रारम्भिक लागत अनुमानित खर्च २ अर्ब ५० करोड छ ।
चिनियाँ अध्ययन टोलीले बुझाएको प्रतिवेदनअनुसार दैलेखका साथै दाङ, पाल्पा र सुनसरी जिल्लामा पनि पेट्रोलियम पदार्थको भण्डार रहेको पाइएको छ । यी जिल्लामा सर्भे, अन्वेषण र ड्रिलिङ गर्न चार वर्ष लाग्नेछ । यसको अनुमानित बजेट २ अर्ब ७५ करोड नेपाली रुपैयाँ छ । विस्तृत अन्वेषण गर्नका लागि दुई सरकारबीच जीटुजी सम्झौता गरेर भौगर्भिक, भू–रासायनिक, एमटी र सिस्मेक सर्भे तथा ड्रिलिङ गरेर आगामी दिनमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने कार्यलाई निरन्तरता दिइने मन्त्रालयले बताएको छ ।
प्रधानमन्त्री केपी ओली चीन भ्रमण गएको समयमा चिनियाँ सरकारसँग २०७२ चैत १० गते सम्भाव्यता अध्ययनको लागि सहमति गरेका थिए । त्यसपछि २०७३ भदौ ९ गते आयल एण्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्टसम्बन्धी चीन सरकारसँग सहयोग सम्झौता भएको थियो । त्यसपछि २०७५ फागुन १६ गते नेपाल र चीनबीच चीनको सहयोगमा प्रोजेक्ट सञ्चालन हुने विषयमा दुईपक्षीय कार्यान्वयन सम्झौता भएको थियो । तीन वर्षको म्याद थपसहित प्रोजेक्टको अवधि २०७५ फागुन १६ गतेदेखि २०८१ फागुन १६ गतेसम्म थियो ।