दुई अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाईस फुड सञ्चालन

काठमाडौं- रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फस्र्ट च्वाईस फुड सञ्चालनमा आएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ घर भई बुटवल बस्दै आएका व्यवसायी सञ्चालक कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् ।
काठमाडौंमा बिहीबार एक कार्यक्रमकाबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फस्र्ट च्वाईस फुडको उत्पादन सार्वजनिक गरे । आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताए । अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको सञ्चालक पौडेलले जानकारी दिए ।
५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ । त्यसैले १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले बताए । उनकाअनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् । अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको बताए ।
नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताए । यसले कृषिको व्यवसायिककरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । अहिले भारतमा उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी दिए । उद्योगका अहिले काठमाडौं, धरान, काठमाडौं, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर छन् भने देशभर ४ सय वटा रेष्टुरेष्ट पनि छन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने जिकिर गरे । विदेशबाट खालि हात स्वदेश फर्किएका सञ्चालक पौडेलको जीवन्त उदाहरण हेर्दा यसबारे स्पष्ट हुने उनको भनाइ छ । आलुको आयात प्रतिष्थापन गरेर स्वदेशमा रोजगारी सिर्जना गर्न सकिने बताए ।