राइडहेलिङ यांगोमा दैनिक चार हजारसम्म कमाउने अफर

काठमाडौं– केही समयअघि नेपाली बजार प्रवेश गरेको राइड हेलिङ एप ‘यांगो’ले बोनस अफर सार्वजनिक गरेको छ । नेपालमा सञ्चालित दर्जन बढी राइड सेयरिङ एपमध्ये ठूलो हिस्सा दुई विदेशी कम्पनी पठाओ र इन्ड्राइभले ओगटेको समय अर्को विदेशी कम्पनीले यांगोमा जोडिएका चालकले दैनिक कम्तीमा १६ ट्रिप गरे चार हजार रुपैयाँसम्म कमाउने अफर ल्याएको हो ।
उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चरलगायत नेपाली कम्पनीसँग मिलेर यांगोले एक महिनाअघि काठमाडौंमा परीक्षण राइड सेवा सुरु गरेको थियो । दोस्ती राइडमा रहेर फूलटाइम बाइक चालक सञ्जीव राईले यांगो एपमार्फत दैनिक २ हजार ५ सय देखी ३ हजार रुपैयाँ कमाउने बताएका छन् ।
‘बढ्दो दैनिक बोनसले मलाई सबैभन्दा बढी आकर्षित गर्यो’, अर्का चालक किरण राई पनि याङ्गोको बोनस प्रणालीबाट सन्तुष्ट छन् । बाइक चालक तेजकुमार लामाले यांगोमा आफू अनुकूल समय मिलाएर दैनिक १६ ट्रिप पूरा गरेपछि बाइक पार्किङमा राखे हुने र आम्दानी पनि दैनिक तीनदेखि चार हजार रुपैयाँसम्म लिन सकिने प्रतिक्रिया दिए ।
राइड–हेलिङ सेवामा यात्रु वा चालकको सुरक्षा नै पहिलो प्राथमिकता भएको कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले २० भन्दा बढी सेफ्टी फिचरसमेत ल्याएको छ । यांगो समूहले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एसियासहित ३० बढी देशमा गतिशीलता, डेलिभरी, फुडटेक, मनोरन्जनलगायत डिजिटल सेवा दिँदै आएको छ ।