Logo

नेपाल–बंगलादेश पर्यटन सहकार्य

काठमाडौं–नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास, ढाकाको सहकार्यमा बंगलादेशको चटगाउँमा ‘नेपाल–बंगलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ । ‘गन्तव्य नेपाल: बंगालको खाडीदेखि हिमालयसम्म’ नारासहित आयोजित कार्यक्रममार्फत नेपाल र बंगलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य लिइएको थियो ।

कार्यक्रममा बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल–बंगलादेश सम्बन्धको आधारशिला भएको उल्लेख गरे । उनले दुई देशबीचको बढ्दो आपसी सम्बन्ध र सहकार्यमा सघन पर्यटन कूटनीतिको खाँचो औंल्याए । नेपाल सरकारद्वारा पर्यटन पूर्वाधार सुधारमा भइरहेका कार्यबारे जानकारी दिँदै निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रिय भूमिकाको उच्च मूल्यांकन गरे ।

पर्यटन प्रवर्द्धन विभागका कार्यवाहक निर्देशक रोहिणीप्रसाद खनालले नेपालका विविध र समृद्ध पर्यटन उत्पादन तथा गन्तव्यबारे प्रस्तुति दिएका थिए । बंगलादेशलाई नेपालको प्रमुख स्रोत बजारमध्ये एकको रुपमा चिनाउँदै नेपाली गन्तव्यमा बंगलादेशी पर्यटकको आकर्षण बढिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा सन् २०२४ मा सगरमाथा शिखर आरोहण गर्न सफल पर्वतारोही बाबर अलिले नेपाल भ्रमणका प्रेरणादायी अनुभव स्मरण गरे । हालै अन्नपूर्ण हिमाल आरोहण गरेका उनले नेपालमा प्राप्त आतिथ्य, प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै पर्वतीय चुनौतीबारे जानकारी गराए ।

बंगलादेशी ट्राभल व्यवसायी संस्था एसोसिएसन अफ ट्राभल एजेन्ट्स अफ बंगलादेश (एटीएबी) तथा टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश (टीओएबी) चट्टग्राम शाखा अध्यक्षले नेपालसँगको पर्यटन सहकार्यमा बढ्दो विश्वास, व्यापारिक साझेदारी र भविष्यका सम्भावनाको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्