अघोषित लोडसेडिङ नगर्न वीउवा संघको माग

काठमाडौं– विद्युत् प्राधिकरणले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका साथै वीरगञ्ज क्षेत्रमा गरिरहेको अघोषित लोडसेडिङ हटाउन वीरगञ्ज उद्योग वाणिज्य संघले माग गरेको छ ।
बारा पर्सा औद्योगिक करिडोरमा दैनिक आठ घन्टा अघोषित लोडसेडिङका साथै दिनको १०–१२ पटक ट्रिपिङ हुँदा यस क्षेत्रका उद्योगले क्षमताको ३०/३५ प्रतिशत मात्र उत्पादन गरिरहनुपरेको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
२०७३ मा घरायसी र २०७५ मा औद्योगिक क्षेत्रको लोडसेडिङमुक्त घोषणा गरी नेपालभरि हर्षोल्लास मनाइएको ६–७ वर्ष नबित्दै पुन: पूर्ववत् अवस्थाझैं लोडसेडिङ हुन थालेपछि उद्योगी/व्यवसायीलगायत सर्वसाधारणमा चिन्ता बढेको संघको ठहर छ ।
करिडोर क्षेत्रमा सिमेन्ट, फलाम र स्टील, पशुदाना, खाद्यान्न, औषधी, चुरोटलगायत ठूला उद्योगसहित करिब एक हजार दुई सय उद्योग सञ्चालन भइरहेका बेला बिनासूचना विद्युत् कटौती हुँदा उद्योगीलाई घाटा बेहोर्नुपरको संघले जनाएको छ ।
विद्युत् आपूर्तिमा भएको हेलचेक्र्याइँका कारण उद्योग प्रतिष्ठानको करोडौं मूल्यका औद्योगिक उपकरण खराब भइरहेका उत्पादित सामानको लागत बढिरहेको संघले जनाएको छ । संघले वैकल्पिक व्यवस्था गर्न विद्युत् प्राधिकरणसँग संघ माग गरेको छ ।