बजेट ल्याउने तयारीमा पर्वतका स्थानीय तह

पर्वत– असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार पर्वतका सात वटै पालिका यतिबेला तयारीमा जुटेका छन् ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई जनमुखी र स्थानीयको प्रत्यक्ष सहभागितामा निर्माण गर्नका लागि विभिन्न सुझाव संकलन तथा छलफल गरिरहेका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये अधिकांशले असार ९ र १० गते बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।
संघीय सरकार र प्रदेश सरकारबाट पाउने विभिन्न अनुदानमा आधारित बजेट सार्वजनिक गर्नुपूर्व सरोकारवालाबाट राय सुझाव लिने र उनीहरुका माग र आवश्यकताका आधारमा बजेट तथा योजना निर्माण गर्न अधिकांस स्थानीय तहले क्यूआर कोर्ड, इमेल, तथा लिखित रुपमा वडा कार्यालय वा पालिकामा सुझाव उपलब्ध गराउन सूचना जारी गरेका छन् ।
केही स्थानीय तहले सर्वपक्षिय बैठक तथा भेला आयोजना गरेर बजेटबारे छलफलसमेत सुरु गरेका छन् । जिल्लाको विहादी, मोदी, जलजला र महाशिला गाउँपालिकाले इमेल, म्यासेन्जर वा क्यूआर कोर्ड स्क्यान गरी आवश्यक राय सुझाव तथा योजना माग गर्न अनुरोध गरेका छन् ।
फलेवास नगरपालिकाले सर्वपक्षिय छलफल गरी बजेटमा रायसुझाव संकलन गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित छलफलका सहभागीले दीर्घकालीन योजनामा बजेट विनियोजन गर्न सुझाव दिएका छन् । विकासोन्मुख नगरको रुपमा रहेकाले वडा तहबाट एक हजार तीन सय भन्दाबढी योजनामा बजेट माग भएको नगर प्रमुख गंगाधर तिवारीले बताए । उनका अनुसार योजनाको चाप अत्याधिक भएपनि बजेट सीमित हुँदा समस्या भएको बताए ।
फलेवास नगरपालिकाका संस्थापक नगरप्रमुख पदमपाणी शर्माले केही तत्कालीन आवश्यकताका योजनाबाहेक टुक्रे योजनामा बजेट विनियोजन गर्न नहुने सुझाव दिए । दीर्घकालीन महत्त्वका योजना बनाउनुपर्ने भन्दै उनले थोरै काम गर्ने तर प्रभावकारी गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालमै फलेवासको समृद्धि र विकासका लागि विज्ञहरुद्वारा तयार पारिएको गुरुयोजना अनुसार काम अघि बढाउन सुझाव दिए ।
नगरको आन्तरिक आय वृद्धि गर्न सकेमा विकासका काम गर्न सहज हुने भएकाले त्यसतर्फ लाग्न उनको सुझाव छ । अहिले अधिकांस योजनाहरु सडक, खानेपानी, सिंचाई लगायतका पूर्वाधारमा मात्र केन्द्रित गर्ने गरिएको भन्दै स्वरोजगारमुखी र मानवीय विकासका योजना ल्याउनुपर्ने सुझावसमेत आएको नगर उपप्रमुख शोभा क्षेत्रीले बताइन् ।
मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले आगामी वर्षको बजेट नीति तथा कार्यक्रममा नागरिकको सार्थक सहभागिताका लागि विभिन्न माध्यमबाट राय सुझाव माग गरिएको बताइन् । उनले सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम नै राखेर जनताका माग र आवश्यकता संकलन गरिएको जानकारी दिइन् ।
यसैगरी दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले गत भदौ २८ गते एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक योजना तथा कार्यक्रम तर्जुमाका लागि सुझाव संकलन गरिएको जनाएको छ । सरोकारवालाले रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माणलगायतका विविध क्षेत्रमा विश्लेषणात्मक सुझाव प्रस्तुत गरेको पालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए ।
जिल्लाका सात वटै पालिकाका सरोकारवालाले बाँदर नियन्त्रणलाई साझा मागका रुपमा राखेका छन् । बाँदर आतंकले जमिन बाँझिदै गएको, बसाइँसराई बढ्दै जानुका साथै बस्ती रित्तिँदै गएकाले प्रभावकारी नीति बनाएर नियन्त्रण गर्नुपर्ने सुझाव गाउँलेहरुले दिएका छन् ।