भिडियो कन्फरेन्समार्फत साझेदारी व्यवसाय विधेयकमाथि सुझाव संकलन «

भिडियो कन्फरेन्समार्फत साझेदारी व्यवसाय विधेयकमाथि सुझाव संकलन

धनगढी-सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि भिडियो कन्फरेन्समार्फत सुझाव लिएको छ ।
अर्थ समितिले बिहीबार भिडियो कन्फरेन्समार्फत नौवटै जिल्लाका जिल्ला समन्वय समिति र उद्योग वाणिज्य संघहरूबाट सो विधेयकका प्रावधानको विषयमा राय सुझाव लिएर प्रतिवेदन तयार गरेको हो । अर्थ समितिका सभापति हर्कबहादुर कुँवरले विधेयकमाथि दफवार छलफल गर्दै जिल्ला समन्वय समिति र उद्योग वाणिज्य संघका प्रतिनिधिसँग सुझाव लिएको बताए । उनले अछाम, बाजुरा, डोटी र बैतडीबाट महत्वपूर्ण सुझाव आएको बताए ।
बिहीबारको बैठकबाट सो विधेयकको दफवार छलफल टुंग्याएर प्रतिवेदन तयार गरी संसद सचिवालयमा दर्ता गराएको सभापति कुँवरले बताए । उनले शुक्रबारको प्रदेश सभाको बैठकमा सो प्रतिवेदन प्रस्तुत गरिने बताए ।

संसद् स्थगित
प्रदेश सांसद्हरू जनयुद्ध दिवस मनाउन गएपछि उपस्थिति कम हुने भएकाले प्रदेश सभाको बिहीबार आह्वान गरिएको बैठक स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराएको थियो । प्रदेश सभाको अर्को बैठक शुक्रबार (आज) १ बजे दिउँसो बस्ने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बताए । उनका अनुसार बिहीबारको बैठकमा निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफवार छलफल गरी अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले सभामा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्ने विषय सूची थियो । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले सो विधेयक पास गर्न प्रस्ताव पेश गरी सो विधेयक पास गर्ने कार्यसूची समेत थियो । तर बैठक स्थगित भएपछि बिहीबार सो विधेयक पास हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्