बुटवलको नीति तथा कार्यक्रम
छिमेकी पालिकालाई समेटेर महानगरपालिकामा स्तरोन्नति गर्ने

बुटवल– बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार सुरु भएको नगरसभाको १७औं अधिवेसनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, सीप तथा रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको छ । त्यस्तै कृषि, पर्यटन, उद्योग व्यापार जस्ता क्षेत्रको समुन्नतिमा जोड दिइएको नगरप्रमुख पाण्डेले बताए । छिमेकी पालिकालाई समेटेर बुटवललाई महानगरपालिकाको रुपमा स्तरोन्नति गर्ने नीति कार्यक्रममा उल्लेख छ ।
बुटवललाई उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, सबै विद्यालयमा सूचना प्रविधिको प्रयोग गर्नेलगायतका विषय नीति कार्यक्रममा समावेश छन् । नगर प्रमुख उपविजेता र नगर उपप्रमुख उपविजेताको नाममा कार्यक्रम सञ्चालन गरिने उपमहानगरले जनाएको छ । बुटवलमा अहिले नगर प्रमुख र उपप्रमुखका नाममा विभिन्न कार्यक्रम सञ्चालन भएका छन् ।
आगामी वर्ष गत स्थानीय निर्वाचनमा नगर प्रमुख र उपप्रमुखमा दोस्रो बढी मत ल्याउने उम्मेद्वारको नाममा कार्यक्रम सञ्चालन गरिने नगर प्रमख पाण्डेले जानकारी दिए । सार्वजनिक स्थलमा सुर्ती, चुरोट सेवन र बेचबिखनमा नियन्त्रण गर्दै लगिने कुरालाई पनि मुख्य रुपमा समेटिएको छ । शिक्षातर्फ छोरी पढाउँ, समाज बनाउँ अभियान सञ्चालन गरिने छ । जसअन्तर्गत बुटवल टेक्निकल इन्स्च्यिुट बीटीआईमार्फत ४० छात्रालाई नि:शुल्क अध्ययन गराइने बताइएको छ ।
त्यस्तै बीटीआईमै डिप्लोमा तहका इन्जिनियरिङ विषय र अटोइन्जिनियरिङमा स्नातक तह सञ्चालन गर्न पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्यतर्फ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि बाआमासँग नगर प्रमुख कार्यक्रमलाई थप व्यवस्थित गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई २ सय बेडमा क्षमता बिस्तार गरी आमा सुरक्षा कार्यक्रम लागु गर्ने उल्लेख छ । सार्वजनिक निजी साझेदारीमा बुटवलमा एक सय बेडको ट्रमा सेन्टर स्थापना गर्ने उपमहानगरले जनाएको छ ।
सूचना प्रविधितर्फ डिजिटल पालिका र ई–पालिका अवलम्बन गरी सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमुखी बनाइने वडासमेतको सहभागीतामा सीसीटीभी जडान प्रक्रियालाई अगाडि बढाइने उल्लेख छ । वडा न–१३ को जबई फुटबल मैदान र १६ नम्बर वडाको डहरगाउँमा क्रिकेट रंगशाला निर्माण गर्न पहल गर्ने नीति कार्यक्रममा बताइएको छ । प्याराग्लाइडिङ, बन्जीजम्प जिपलाइनलगायतका साहसिक खेल सञ्चालनका लागि प्रोत्साहन गरिने उपमहानगरले बताएको छ ।
बुटवललाई प्लास्टिकको झोला मुक्त क्षेत्र बनाउने, उपमहानगरको फोहोर संकलन र बिसर्जनका लागि साझेदार संस्थासँग सहकार्य गरेर प्रविधिको उपयोग गर्ने, शहरका मुख्य चोक, चौराह र अन्य आवश्यक स्थानमा फिल्टरसहितको शुद्ध खानेपानी र सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने, सरसफाइ नीति विपरित काम गर्ने टोल विकास संस्थालाई कार्यपालिका बैठकले विघटन गर्ने नगर प्रमुख पाण्डेले बताए ।
योगी कुटीदेखि चिडिया खोलासम्म, रामनगरदेखि तामनगरसम्म, बेलबार बेथरी सडक, तामनगर शुद्धोधन सडकलाई हरियाली सडकको रुपमा सौन्दर्यकरण गर्ने, एक सामुदायिक वन एक पोखरी र एक पार्कको अभियानलाई निरन्तरता दिइने, तिनाउ जलाधार कार्यक्रमलाई निरन्तरता दिने, हरित शहरको रुपमा स्थापित गर्न एक घर तीन रुखको नीति लिइने नगरसभामा बताइएको छ । जितगढी पूर्वको तिनाउ किनारमा आरती केन्द्र स्थापना गरिने उल्लेख छ ।
पर्यटनतर्फ बुटवललाई पर्यटकीय विश्राम स्थलका रुपमा स्थापित गर्ने, कालिकापथ, ट्राफिक चोक, अमरपथलगायतका स्थानमा रात्रीकालिन बजारको रुपमा विकास गर्ने नीति कार्यक्रममा भनिएको छ । ‘घुमौ बुटवल’ अभियानअन्तर्गत बुटवल भ्रमण वर्ष घोषणा गर्ने, पर्यटकीय स्थलको सम्पदा सूची तयार गर्नेलगायतका कार्यक्रम रहेका छन् ।
कृषितर्फ बुटवल १५ मा कृषि उपज संकलन केन्द्र निर्माणका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गरिने, विदेशबाट फर्किएर कृषिलाई मुल पेशा बनाएका किसानलाई प्रोत्साहन गर्न सम्मान गरिने, दुग्घ किसानलाई प्रतिलिटर ३ रुपैयाँका दरले अनुदान दिने उपमहानगरले जनाएको छ । यस्तै बुटवलको छिमेकी तिलोत्तमा नगरपालिकाले पनि बिहीबार नै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नीति कार्यक्रममा वैज्ञानिक कृषि प्रणालीको सम्मान दिगो ‘कृषि तिलोत्तमाको अभियान’ अन्तर्गत नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाइने उल्लेख छ । त्यसका लागि परम्परागत खेती प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक एवम् वैज्ञानिक खेती प्रणाली अवलम्बन गर्न कृषकलाई प्रोत्साहित गर्ने नगर सभामा तिलोत्तमाका मेयर रामकृष्ण खाणले बताए ।
युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि उत्पादन र कृषि उद्यम गर्ने उत्कृष्ट कृषक एवम् उद्यमीलाई पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरिने बताइएको छ । १० विगाहा क्षेत्रफल वा सो भन्दा बढी क्षेत्रफलको जग्गा चक्लाबन्दी गरी खेती गर्ने र २० विगाहा क्षेत्रफल भन्दा बढी जग्गामा समूह बनाई सामुहिक खेती गर्ने समूहलाई लागत साझेदारीमा ट्याक्टर तथा थ्रेसर खरिदमा अनुदान उपलब्ध गराइने तिलोत्तमाले जनाएको छ ।
तिलोत्तमा नगरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित र बसाइ अवधि बढाउन कुञ्जपार्क रात्रीकालीन उद्यानमा निर्माणाधिन म्युजिकल वाटर फाउण्टेन निर्माण गर्ने, वडा–११ को ढाक्रेबास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ । शंकरनगर वनबाटिकाभित्र निर्माणाधिन तिलोत्तमा बहुउद्देश्यिय भ्यू टावर तिलोत्तमा नगरपालिकाको आफ्नै स्रोतमार्फत निर्माण सम्पन्न गरी यसै वर्ष सञ्चालन गर्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।
गुणस्तरीय सडक निर्माण तथा मर्मतका लागि पूर्वाधार एम्बुलेन्ससहितको प्राविधिक टिम बनाई परिचालन गर्ने, नगर तथा वडास्तरका योजनाको संख्या घटाई गुणस्तरीय योजना कार्यान्वयनका लागि टुक्रे योजना एकीकृत गरी सोही बमोजिमका योजना सिफारिस गर्ने नीति अबलम्बन गरिने कार्यक्रममा बताइएको छ ।