खानेपानी योजना निर्माण तीव्र

वीरेन्द्रनगर– जाजरकोटको नलगाड नगरापलिकाले शुद्ध खानेपानी वितरण गर्न आयोजना निर्माणमा तीव्रता दिएको छ । पालिकाले वर्षेनी नमुना कार्यक्रम बनाएर खानेपानी योजना निर्माण गर्न थालेपछि यहाँका स्थानीय खुसी भएका छन् । सम्भाव्यता अध्ययन गरेर आवश्यकताका आधारमा खानेपानी योजना निर्माण गर्दै लिएको उपप्रमुख देवका लामिछानेले बताइन् ।
वडा बस्तीका योजना छनोट गर्दा शुद्ध खानेपानी पिउन पाउने जनताको अधिकारलाई स्थापित गर्न योजना निर्माण गर्न निर्देशन दिएको उनले बताइन् । प्रदेश तथा संघ सरकारसँगै विकास साझेदार निकायसँग समन्वय गरेर नलगाडका स्थानीयका घर–घरमा पानी पुर्याउने अभियानलाई तीव्रता दिइएको उनको भनाइ छ । कतै सौर्य उर्जामार्फत लिफ्ट गरेर त कतै पानीको स्रोत जम्मा गरेर भएपनि पानी पुर्याउने काम भएको उनले बताइन् ।
सडक निर्माण गर्दा खानेपानीका मुहानमा क्षति भए पनि त्यसलाई हल गर्न विस्तृत योजना बनाएर काम भइरहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा पनि दर्जनौं खानेपानीका योजना सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । भूकम्प पछि केही ठाउँमा पानीका मुहान सुकेका कारण सो ठाउँमा विकल्पको खोजीसमेत भएको नगरपालिकाले बताएको छ । पानीका स्रोत भएपनि आर्थिक अभावका कारण घर आँगनमा ल्याउन नसक्ने स्थानीयलाई सहयोग गरेर पानीको अभाव पूर्ति गरिएको छ ।
सडकको कच्ची कटानका काम अधिकांश ठाउँमा भइसकेकाले खानेपानी, सिँचाईतर्फ बढी ध्यान दिनु परेको नगरपालिकाले जनाएको छ । स्थानीयलाई सक्रिय रुपमा सहभगी गराएर योजना निर्माण गरिएको छ । स्थानीय तहको बजेट निर्माण गर्दा विकास साझेदार निकायलाई पानीको समस्या हल गर्ने खालका कार्यक्रममा जोड दिन आग्रह गरिएको छ । नलगाडमा सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनासमेत लागू भएको छ ।
आयोजनाका सरसफाई तथा स्वच्छता सम्बन्धी अवस्था बुझन विज्ञको टोली अनुगमन समेत गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) इकाइले सरसफाइ तथा स्वच्छताको क्षेत्रमा काम भइरहेको नलगाड वास इकाइ संयोजक चन्द्रबहादुर पुनले जानकारी दिए ।
विस्तारित खानेपानी सुरक्षाअन्तरर्गत सागबारी खानेपानी आयोजना नलगाड–३ टट्टा र सालघारी खानेपानी आयोजना नलगाड–७ गरी दुई वटा खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेको संयोजक पुनले बताए । आयोजनाको मुख्य लक्ष्य सरसफाइ तथा स्वच्छता कायम गरी सभ्य र सुसंस्कृत समाजको परिकल्पना गर्नु रहेको बताउँदै संयोजक पुनले ५९ वटा आधारभूत शौचालय, २५० वटा सुधारिएका शौचालय, ३९४ वटा हात धुने स्थान निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए ।
आगामी वर्ष आर्थिक वर्ष २०८२/०८३ मा परियोजनाले ६ वटा खानेपानी आयोजना, ५ वटा शौचालय र पूर्ण सरसफाइ टोल घोषणा गर्ने गर्ने लक्ष्य राखेको संयोजक पुनले जानकारी दिए । स्थानीय जनप्रतिनिधि, आमा समुह, किशोरी समुह, बाल क्लव, स्वयंसेविका, विद्यालयको सहयोगमा वास इकाइको सहजीकरणमा पूर्ण सरसफाइ अभियान अगाडी बढाइने संयोजक पुनले बताए ।
सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना नेपाल सरकार र फिनल्याण्डबीचको द्विपक्षिय सम्झौता अनुसार सञ्चालित आयोजना हो । नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपेली युनियनको सहयोगमा सबैका लागि दीगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाले कर्णाली प्रदेशका स्थानीय तहमा आयोजना सञ्चालनमा रहेका छन् । परिणामका क्षेत्रमा सबैका लागि खानेपानी सरसफाई तथा स्वच्छता सेवाका लैंगिक समानता तथा सामाजिक समावेशीकरण, सक्षम वातावरण निर्माण लगायतका उद्देश्य रहेका छन् ।
त्यस्तै जलवायु उत्थानशिल सुरक्षित र निरन्तर खानेपानीको आपुर्ति र दिगो सरसफाई कार्यक्रमको लक्ष्य रहेको छ । खानेपानी र सरसफाई जस्ता आधारभूत सेवामा स्थानीयको पहुँच, गुणस्तर र पानी सुरक्षाको सुनिश्चितताका साथै स्थानीय सेवा प्रदायकको क्षमता अभिवृद्धि गरी मानव अधिकारमा आधारित मापदण्ड अनुसार योजना तर्जुमा र बजेट विनियोजन गरी सेवा प्रवाहमा आयोजनाले लगानी गर्दै आएको छ ।