Logo

हालसम्म प्रगति २३ प्रतिशत

एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डको कालोपत्र सुरु

विराटनगर– एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डमा कालोपत्रे कार्य सुरु भएको छ । एसियाली राष्ट्रहरूलाई सडक सञ्जालमार्फत जोड्ने दीर्घकालीन लक्ष्यसहित अगाडि बढाइएको एसियन हाइवे आयोजनाअन्तर्गत मोरङको लक्ष्मीमार्गबाट कालोपत्र सुरु भएको हो ।

निर्माणाधीन आयोजनाको पश्चिम खण्ड (इटहरी कार्यालय) प्रमुख जगत प्रजापतिका अनुसार १५ महिनाअघि सम्झौता भएको १२० किलोमिटर लामो सडक आयोजनाअन्तर्गत हालसम्म ९५.७६ किलोमिटर क्षेत्रमा निर्माण कार्य जारी छ । यसमध्ये करिब २३ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

‘पश्चिम खण्डमा यस आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ,’ प्रजापतिले भने, ‘जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न तीव्र रुपमा काम गरिरहेका छौं ।’ पूर्वी खण्डमा भने दमक कार्यालयबाट २१ प्रतिशत प्रगति भएको आयोजनाका पूर्वी प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए । पूर्वी खण्डमा समेत यसै आवभित्र १० किलोमिटर कालोपत्र गर्ने योजना रहेको पन्तको भनाइ छ ।

आयोजनामा हालसम्म पूर्वी खण्डमा ५० र पश्चिममा ७० वटा कल्भर्ट निर्माण भइसकेका छन् । बजार क्षेत्रमा ५० मिटर, ग्रामीण क्षेत्रमा ३३ मिटर र जंगल क्षेत्रका सडक २४ मिटर चौडा बनाइनेछ । एसियाली विकास बैंकको ८४.१ प्रतिशत ऋण तथा नेपाल सरकारको १५.९ प्रतिशत लगानीमा निर्माण भइरहेको यो आयोजनाको काम २०८० माघ १९ गतेबाट सुरु गरिएको हो ।

सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन सडक निर्माण गरिनेछ । मुख्य चार लेनमा तीव्र गतिका सवारी चल्नेछन् भने दुई सर्भिस लेनमा स्थानीय सवारीको आवागमन हुनेछ । सडक खण्डमा हालसम्म झापाको सीतापुरीदेखि इटहरीको लवीपुरसम्म ९५.७ किलोमिटर क्षेत्रमा काम भइरहेको छ । पूर्वी खण्डमा ४५ र पश्चिममा ५०.७ किलोमिटर सडक निर्माणको चरणमा छन् ।

झापा र मोरङका विभिन्न स्थानमा ३ सय मिटरभन्दा लामो ६ वटा सिग्नेचर पुल बनाइनेछ । त्यस्तै ३ वटा पुल ३ सय मिटरभन्दा लामा र २८ वटा पुल ३ सय मिटरभन्दा छोटा हुनेछन् । सडक निर्माणअन्तर्गत इटहरी क्षेत्रमा बूढीखोलादेखि लवीपुरसम्म तीन वटा ओभरपास बन्नेछन् । इटहरी चोकमा बन्ने ओभरपास ४२ मिटर चौडाइ र साढे ५ मिटर उचाइको हुनेछ ।

बाँकी दुई ओभरपास पूर्वतिर तालतलैया क्षेत्रमा र पश्चिमतर्फ इटहरी बसपार्क क्षेत्रको कलंकीमा निर्माण गरिनेछ । प्रस्तावित ओभरपासहरू ‘आरइ वाल’ प्रविधिमार्फत निर्माण हुने आयोजनाले जनाएको छ । यस्तै झापाको चारआली, विर्तामोड, चारपाने र मोरङको बलियामा पनि ओभरपास निर्माणको योजना छ । सडक निर्माणका क्रममा हाल विभिन्न स्थानमा डाइभर्सनमार्फत कल्भर्ट र पुल निर्माण भइरहेको छ ।

बर्खाअघि सबै डाइभर्सन बन्द गर्ने तयारीमा आयोजना जुटेको जानकारी इटहरीस्थित पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर पल्लव श्रेष्ठले दिए । निर्माण प्रक्रियामा ढिलाइको एउटा मुख्य कारण विद्युत पोल स्थानान्तरणमा भएको ढिलाइ हो । पूर्वी खण्डका सूचना अधिकारी आशिष देवका अनुसार हालसम्म २ हजार २५९ पोलमध्ये एक हजार ६५९ वटा मात्र सारिएको छ । बाँकी ६ सय पोल अझै सार्न बाँकी छन् भने तार सार्नमा समेत ढिलाइ भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीको बूढीखोलादेखि लवीपुरस्थित देवी खोलासम्मका संरचना हटाउन सूचना जारी गरिसकेको छ । प्रभावित संरचना धनीलाई ३५ दिनभित्र संरचना हटाउन भनिएको छ । एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्व–पश्चिम राजमार्गबाट नयाँदिल्ली र पाकिस्तानको कराँचीसम्म जोड्ने लक्ष्यसहित निर्माण हुँदैछ ।

नेपालमा यो आयोजना काँकडभिट्टादेखि लौकहीसम्म विस्तार गर्ने गरी कुल ३४ अर्ब ९१ करोड रुपैयाँमा निर्माणको सम्झौता भएको हो । निर्माण ठेक्का नेपालका कालिका कन्स्ट्रक्सन र चिनियाँ कम्पनी तुङ्गी कन्स्ट्रक्सनले संयुक्त रूपमा लिएका छन् । यो आयोजना सन् २०२४ फेब्रुअरी १ मा सुरु भएको हो भने सन् २०२७ फेब्रुअरी १ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्