जलजलाका २० उद्यमी सम्मानित

पर्वत– पर्वतको जलजला गाउँपालिकाका उत्कृष्ट २० जना उद्यमी सम्मानित भएका छन् । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वुद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत पालिकाभित्रका उत्कृष्ट २० उद्यमीहरूलाई सम्मान गरिएको हो ।
उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत पहिलो चरणबाट छनोट भएका ४० उद्यमीहरूले तयार गरेको व्यावसायिक योजनाका आधारमा २० जना छनोट भएका हुन् । जलजलाका ९ वटै वडाबाट एक सय ५४ जना उद्यमीहरूले आवेदन दिएका उद्यमीको उद्देश्य, सोच, वित्तीय अवस्था, नवप्रवर्द्धन, उद्यमको वर्तमान अवस्थालगायतको सूचकका आधारमा पहिलो चरणमा ४० जना उद्यमी छनोट भएका थिए ।
छनोट भएका उद्यमीहरूलाई तालिम दिएर व्यावसायिक योजना तयार गर्न लगाई दोस्रो चरणमा २० जना उत्कृष्ट उद्यमी छनोट गरी सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले बताइन् । उनका अनुसार, उद्यमी आफैले तयार गरेको व्यावसायिक योजनालाई विज्ञ सम्मिलित टोलीद्धारा मूल्यांकन गर्न लगाएर दोस्रो चरणका उत्कृष्ट उद्यमी छनोट गरिएको थियो ।
उद्यमीलाई न्यूनतम ५० हजार रुपैयाँबराबरको प्रविधि खरिदका लागि जनही नगद २५ हजार सहयोग प्रदान गरिएको छ । प्रस्तावनाको महत्त्व, उद्यमशील क्षमता र सोच, ग्राहकसँगको सम्बन्ध, लगानीको अवस्था, वर्तमान स्रोत साधन, आम्दानीका स्रोत, प्रमुख साझेदार, बुद्धिमुखी योजना, सामाजिक प्रभाव र विस्तार, स्थानीय ज्ञान सीपको उपयोगलगायतको आधारमा उत्कृष्ट उद्यमी छनोट गरिएको हो ।
छनोट भएका उद्यमीलाई वृद्धिमुखी योजना सम्बन्धी उद्यम शिविर सञ्चालन गरी तालिम प्रदान गरिनेछ भने भोटिङमार्फत २५ प्रतिशत र ७५ प्रतिशत उद्यमको अवस्थाबारे स्थलगत अनुगमन गरेर उत्कृष्ट १० उद्यमी छनोट गरिने कार्यक्रमका फिल्ड अफिसर भगवती पुनले जानकारी दिइन् । उत्कृष्ट १० मा छनोट हुने उद्यमीलाई उद्यम प्रवर्द्धनका लागि ५० प्रतिशत साझेदारी रहने गरी जनही नगद एक लाख ५० हजार रुपैयाँका दरले पूरक अनुदान दिइने उल्लेख छ ।
त्यसैगरी पालिकाभरबाट सर्वोकृष्ट हुने एक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप एक लाख ५० हजारको दरले पूरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । जलजलामा प्रदेश सरकारको ४० लाख, पालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवर्द्धन र रोजगारी सिर्जनमा टेवा पुर्याउने अपेक्षा गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।
उनले कृषकहरूलाई उद्यमी बनाउन, रोजगार सिर्जना गर्दै पालिका र राष्ट्रको अर्थतन्त्रमा समेत सघाउन कार्यक्रमले सघाउने बताए । उत्कृष्ट उद्यमीमा छनोट भएका सावित्री खत्री र नरबहादुर खत्रीले उद्यमशीलताको विकास गर्न र उद्यमीलाई प्रोत्साहन गर्न कार्यक्रमले सहयोग गरेको बताए ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्था तथा सम्बन्धित पालिकाको सहकार्यमा जलजलासँगै बागलुङको बडीगाड, गोरखाको सिरानचोक, तनहुको म्याग्दे, नवलपुरको हुक्सेकोट गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागु गरिएको छ ।