Logo

उत्पादनको आधारमा ५० लाख प्रोत्साहन अनुदान

दाङ– जिल्लामा कृषकलाई उत्पादनको आधारमा करिब ५० लाख अनुदान प्रदान गरिएको छ । दूध र मासु उत्पादन गर्ने किसानले उत्पादन गरेर बिक्री गरेको आधारमा उक्त अनुदान रकम प्रदान गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीबाट दिइने प्रतिफलमा आधारित प्रोत्साहन अनुदान स्वरुप पाँच स्थानीय तहमा ४९ लाख ९९ हजार रुपैयाँ वितरण गरिएको हो । पशु सेवा केन्द्र दाङले आर्थिक वर्ष २०७५ देखि सुरु गरेको कार्यक्रम अहिले पनि जारी छ । केन्द्रले सहकारी तथा फर्ममार्फत किसानलाई अनुदान दिने गरी यो कार्यक्रम सुरु गरेको थियो ।

सहकारी तथा फर्ममा दूध तथा मासुको विवरण राखेर त्यसैको आधारमा कार्यालयले अनुदान दिने व्यवस्था छ । कार्यालयले दूधमा प्रतिलिटर दुई रुपैयाँ, ज्यूँदो खसी बोकामा प्रति केजी २५ रुपैयाँ, राँगा र बंगुरमा प्रतिकेजी १५/१५ रुपैयाँ, माछामा प्रतिकेजी १० रुपैयाँ र अण्डामा प्रतिहजार गोटामा दुई सय ५० रुपैयाँका दरले अनुदान दिँदै आएको छ । किसानसम्म पुग्ने सबैभन्दा प्रभावकारी अनुदान प्रतिफलमा आधारित अनुदान भएकोले प्रभावकारी भएको कार्यालयका सूचना अधिकारी कृष्ण न्यौपाने बताए ।

सहकारी तथा फर्ममार्फत किसानकै खातामा पैसा जाने गरेको उनले बताए । किसानले रकम पाए, नपाएको बैंक स्टेटमेन्ट नै हेर्ने तथा पटक–पटक अनुगमन पनि हुने गरेको उनको भनाइ छ । ‘डेरी, फर्म अथवा सहकारीले किसानबाट लिएको दूध तथा मासुको रेकर्डअनुसार किसानलाई अनुदान दिने व्यवस्था छ’ उनले भने,‘मापदण्ड तोकेर मासु तथा दूधको कारोबार भने भएको हुनुपर्छ ।’ कार्यालयका अनुसार सहकारी तथा फर्मले मासिक सात हजार लिटर, निजी फर्म, डेरी तथा उद्यमीले दुई हजार पाँच सय लिटर दूध कारोबार गरेको हुनुपर्ने व्यवस्था छ ।

यस वर्ष प्रतिफलमा आधारित अनुदानका लागि २३ आवेदन दर्ता गरेका आवेदक संख्यामध्ये फिल्ड भेरिफिकेशन तथा मूल्यांकन समितिबाट आठ वटा अस्वीकृत भएका थिए । अनुदानको लागि स्वीकृत भएका १० सहकारी र पाँच निजी फर्म थिए । जसमा दुग्ध कारोबार गर्ने ६ वटा सहकारी, मासुको कारोबार गर्ने चार सहकारी परेका थिए । स्वीकृत भएका आवेदकहरूको फर्ममा प्रोत्साहनबापत जाने रकम ६६ लाख भए पनि कार्यालयको स्वीकृत बजेट ५० लाख रुपैयाँ मात्रै भएकोले सोही परिधिमा रहेर अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।

पशु सेवा केन्द्र दाङले आवेदक पाँच पालिकाका सहकारी तथा फर्ममार्फत अनुदान वितरण गरेको हो । दूधतर्फ आठ सय ४२ किसानलाई १६ लाख ५२ हजार वितरण गरिएको छ । खसीबोकाको मासुतर्फ पाँच सय ६८ किसानलाई १३ लाख नौ हजार वितरण गरिएको छ । अण्डा र माछातर्फ पाँच निजी फर्मलाई २० लाख ३८ हजार वितरण गरिएको छ ।

कार्यालयका अनुसार दुग्धतर्फ किसान दुग्ध उत्पादक सहकारी संस्था, लमही–३ मार्फत एक सय ७७ किसानले उत्पादन गरेको एक लाख ४४ हजार लिटर दूधमा दुई लाख १८ हजार रुपैयाँ वितरण गरिएको छ । त्यस्तै हाम्रो पहुँच बहुउदेश्यीय सहकारी संस्थामार्फत् ८० किसानले उत्पादन गरेको एक लाख ९८ हजार लिटर दूधका लागि दुई लाख ९९ हजार, बाघमारे सहकारी संस्था बबई–५ मार्फत एक सय आठ किसानले उत्पादन गरेको एक लाख ७८ हजार लिटर दूधको लागि दुई लाख ६९ हजार रुपैयाँ वितरण गरिएको छ ।

निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड लमही–१ मार्फत दुई सय ५३ किसानले उत्पादन गरेको तीन लाख ६५ हजार लिटर दूधको पाँच लाख ५१ हजार, दीप कृषि सहकारी संस्था शान्तिनगर–२ मार्फत एक सय सात किसानले उत्पादन गरेको एक लाख दुई हजार लिटर दूधको लागि एक लाख ५५ हजार र जनता बहुमुखी तथा दुग्ध उत्पादक सहकारी संस्था तुलसीपुर–१८ मार्फत् एक सय १७ किसानले उत्पादन गरेको एक लाख चार हजार लिटर दूधको एक लाख ५७ हजार रुपैयाँ अनुदान दिएको छ ।

खसीबोकातर्फ पशु सेवा दाङले ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था– १३ मार्फत ५७ किसानले उत्पादन गरेको आठ हजार किलो मासुबापत एक लाख ५५ हजार, कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लमही–९ मार्फत ४२ हजार किलो मासु उत्पादन गरेका तीन सय ५६ किसानलाई आठ लाख सात हजार, समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लमही–२ मार्फत १० हजार किलो मासु उत्पादन गरेका ६२ किसानलाई एक लाख ९४ हजार र निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लमही–१ मार्फत आठ हजार किलो मासु उत्पादन गरेका ९३ किसानलाई एक लाख ५१ हजार रुपैयाँ अनुदान दिएको छ ।

अण्डातर्फ दीपक कुखुरा फर्म दंगीशरण– ५ लाई तीन लाख १७ हजारबापत ५९ हजार अनुदान दिइएको छ । माछातर्फ न्यू स्वर्गद्वारी कृषि फर्म लमही–३ लाई ६५ हजार किलो उत्पादनबापत सात लाख ३८ हजार, लामा फिस हाउस लमही–३ लाई ४६ हजार किलो उत्पादनबापत पाँच लाख ३२ हजार, पोख्रेल माछा फर्म लमही– ३ लाई ३९ हजार किलो माछा उत्पादनबापत चार लाख र निक मत्स्य पालन लमही–१ लाई २२ हजार किलो माछा उत्पादनबापत दुई लाख ५६ हजार रुपैयाँ अनुदान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्