Logo

भैरहवा सेजमा चार उद्योग थपिँदै

भैरहवा– विशेष आर्थिक क्षेत्र भैरहवा (भैरहवा सेज) मा थप चार उद्योग सञ्चालनमा आउने भएका छन् । तीन नेपाली र एक भारतीय लगानीका उद्योग खुल्न लागेका हुन् । सञ्चालनको तयारीमा रहेका उद्योगहरुमा स्वस्तिक उद्योग, डाटा वल्र्ड, इमिटेसन मेटल क्राफ्ट र स्पट इलेक्ट्रिक रहेको भैरहवा सेजका कार्यालय प्रमुख एवं इन्जिनियर सबुत डुम्रेले बताए ।

स्वस्तिक स्टिलका भाँडाकुँडा बनाउने उद्योग हो । डाटा सेन्टर सेवामूलक उद्योग हो भने इमिटेसन मेटलले प्लाटेनियम, रेडियम, चाँदीलगायत धातुका गरगहना उत्पादन गर्नेछ । एक प्लट लिएर उद्योग सञ्चालनको अन्तिम तयारीमा रहेको स्वस्तिकले पूर्वाधार निर्माणका साथै मेसिनरी जडान कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

तीन महिनाभित्रै उत्पादन सुरु गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख डुम्रेले जनाए । त्यसैगरी डाटा वल्र्डले २ प्लट लिएको छ भने इमिटेशन मेटल र स्पट इलेक्ट्रिकले एक/एक प्लट लिएर उद्योग सञ्चालनको तयारीमा छन् । स्पट इलेक्ट्रिक भारत गुजरातको कम्पनी हो । यो कम्पनीले विद्युतीय साइकलको पार्टस् ल्याएर यहाँ एसेम्बल गरी विद्युतीय साइकल उत्पादन गर्नेछ ।

यसअघि भैरहवा सेजमा स्थापना भएका ११ उद्योगमध्ये ९ वटा अहिले चालु अवस्थामा छन् । ती उद्योगहरु शक्ति मिनरल्स, विस्तार ग्लोबल, ब्रिलियन्ट लाइट, तिरुपति मेटल, आरसि इण्डष्ट्रिज, इको नेपाल इनर्जी, हिमालयन ग्रेनाइट, हिमालयन इको इण्डष्ट्रिज र एस पोलिमर्स प्रालि हुन् । पञ्चकन्या एसएस एक्सपोटर्स र जयबुद्ध मेटल क्राफ्ट भने अहिले बन्द छन् ।

सञ्चालनमा रहेका ९ वटा र सञ्चालनमा आउन लागेका ४ उद्योगले सेजको ६८ प्लटमध्ये ३३ प्लट ओगटेका छन् । त्यसैगरी भाटभटेनी समूहले अन्य व्यवसायीसँग मिलेर सञ्चालन गर्न लागेको गार्मेन्ट उद्योग पनि शिलान्यास गरी काम अघि बढिरहेको डुम्रेले बताए । यो गार्मेन्ट उद्योगले ५ प्लट लिएको छ । सञ्चालनमा रहेका उद्योगमा सबैभन्दा धेरै शक्ति मिनरल्सले ८ प्लट लिएको छ ।

यो उद्योगले चुनढुंगा प्रशोधन गर्दछ । त्यस्तै ४ प्लट लिएको बिस्तारले स्टीलका भाँडाकुँडा उत्पादन गर्दै आएको छ भने चारै प्लट लिएको इको नेपालले फर्निस आयल उत्पादन गर्दछ । त्यसैगरी ३ प्लटमा सञ्चालनमा रहेको हिमालयन ग्रेनाइटले मार्बल टायल उत्पादन गर्दछ । २ प्लट लिएको तिरुपति मेटल इण्डष्ट्रिज र २ प्लटमै सञ्चालनमा रहेको आरसि इण्डस्ट्रिजलेले पुराना ब्याट्रीको लिड प्रशोधन गरी नयाँ लिड बनाइरहेका छन् ।

एक प्लट लिएको एस पोलिमर्शले प्लास्टिकका झोला, बोतल प्रशोधन गरी प्लास्टिकको दाना उत्पादन गर्छ । चालु अवस्थामा नरहेका पञ्चकन्याले २ र जयबुद्धले १ प्लट लिएका छन् । पञ्चकन्याको उद्योग सञ्चालनमा नरहे पनि उद्योगबाट उत्पादित स्टिलका टंकीहरु पर्याप्त मौज्दात रहेकाले भारत तथा नेपालमा बिक्री गर्दै आएको छ । धातुका सामान उत्पादन गर्ने जयबुद्धको एक सञ्चालकको निधनपछि यो उद्योग बन्द छ ।

सेज भैरहवाले निकासी गर्न सुरु गरेको ५ वर्षको अवधिमा गत पुस मसान्तसम्म कुल ४ अर्ब ५३ करोडको सामानहरू भारत निकासी एवं आन्तरिक बजारमा गएको छ । सेजका उद्योगबाट उत्पादित सामान निकासी र आन्तरिक बजारमा खपतका लागि २०८१ वैशाखमा कुल उत्पादनको ३० प्रतिशत निकासी र ७० प्रतिशत आन्तरिक बजारमा खपत गर्न सकिने ऐन सरकारले ल्याएको थियो ।

उद्योग सञ्चालनको पहिलो ३ वर्ष उत्पादित सबै सामान स्वदेशमै खपत गर्न सकिने प्रावधान छ । सेजभित्रै सबस्टेशन निर्माण सकिएको छ । सेजभित्रका उद्योगमा आवश्यक कच्चा पदार्थ ल्याउँदा भन्सारमा सतप्रतिशत छुट छ भने उद्योग सुरु भएको पहिलो पाँच वर्ष आयकरमा सतप्रतिशत र त्यसपछि ५० प्रतिशत छुटको व्यवस्था ऐनमा छ । निकासी बढी गरेर व्यापार घाटा कम गराउने लक्ष्यसहित विशेष आर्थिक क्षेत्र स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्