सुन संचितीमा रुसले चीनलाई उछिन्यो

मस्को-रुसको केन्द्रीय बैंक (सीबीआर) ले गत महिना आफ्नो सुनको संचितीलाई झन्डै २० मेट्रिक टनले वृद्धि गरेको छ । यो सहित रुसको सुनको संचिती १ हजार ८ सय ५७ टनप पुगेको छ । बैंकले २०१५ को मार्चदेखिनै प्रत्येक महिना आफ्नो संचितीलाई बढाउदै आएको छ ।
चीनलाई उछिनेपछि हाल रुस सुन संचितीको मामिलामा शीर्ष पाँचको सूचीमा परेको छ । चीनको सुन संचित १ हजार ८ सय ४३ टन कायम भएको छ । विगत १५ वर्षको अवधिमा मस्को र बेइजिङले आक्रामक रुपमा सुनको संचितीलाई बढाउदै लगेका छन् । अमेरिकी डलरमाथिको निर्भरता कम गर्नका लागि रुस र चीनले सुनको संचितीलाई बढाउदै लगेका हुन् ।
“चाख लाग्दो विषय के छ भने रुस र चीनले आफ्नो सुनको संचितीलाई सार्वजनिक र प्रबद्र्धन गर्दै आएका छन् । उनीहरुले सुनलाई रणनीतिक मौद्रिक सम्पत्तिको रुपमा प्रबद्र्धन पनि गरेका छन् । उनीहरुले यो विषयलाई गोप्य पनि राखेका छैनन् । तर यसको विपरित अमेरिकाले भने सुनको संचितीलाई कम गर्दै लगेको छ,” सिंगापुरका बुलियन स्टार विज्ञ रानाम म्यानलीले डिसेम्बरमा बताएका थिए ।
अमेरिका विश्वकै ठूलो सुन संचितीको मुलुक रहदै आएको छ । अमेरिकासँग हाल ८ हजार १ सय ३४ टन सुनको संचिती रहेको छ । यो अनुपात परिक्षण गर्नका लागि असम्भव देखिएको छ ।
“अमेरिकाको सुनको संचितीको बारेको अवस्था अपारदर्शी र गोप्य रहदै आएको छ । अमेरिकी सुनको संचितीको बारेमा स्वतन्त्र लेखा परिक्षण पनि भएको छैन । यूएस मिन्ट र फेडरल रिजर्भले कसैलाई पनि अमेरिकाको सुनको संचितीको बारेमा जानकारी पनि गराएको छैन,”म्यानलीले बताए ।सुन संचितीको मामिलामा जर्मनी दोस्रो स्थानमा रहदै आएको छ । जर्मनीसँग ३ हजार ३ सय ७४ टन सुनको संचिती रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २ हजार ८ सय १४ टन सुन रहेको छ । चौथो स्थामा फ्रान्स रहेको छ ।
रुसको केन्द्रीय बैंकले सुनको खरिदको गतीलाई दोब्बर भन्दा बढीले बढाएको गोल्ड अर्गको तथ्यांकले देखाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशलाई भू–राजनीतिक जोखिमबाट कम असर परोस भन्ने लक्ष्य निर्धारण गरेकाले बैंकले देशको सुनको संचितीलाई लगातार बढाउदै लगेको हो । सन् २००० देखि रुसी सुनको संचितीमा ५ सय प्रतिशत भन्दा बढीले वृद्धि भइसकेको छ ।
रुस यो बहुमूल्य धातुको उत्पादनको मामिलामा पनि तेस्रो ठूलो मुलुक बनेको छ । रुसमा हुने गरेको उत्पादनको सरकारले दुई तिहाई खरिद गर्दै आएको छ । यसलाई स्थानिय बैंकबाट सरकारले खरिद गर्दैै आएको हो । रुसले सुनको खरिद गर्नुका पछाडि संचितीलाई विविधिकरण गर्नु पहिलो कारण भएको केन्द्रीय बैंकले जनाएको छ ।