६ महिनामा डेढ करोड राजस्व «

६ महिनामा डेढ करोड राजस्व

लमजुङ– बेंसीसहर नगरपालिकाले चालू आवको ६ महिनामा डेढ करोडभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको छ ।
चालू आव ०७६-७७ को अर्धवार्षिक प्रगतिअनुसार नगरपालिकाले आन्तरिक आयतर्फ विभिन्न शीर्षकमा १ करोड ५७ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जसमध्ये सबैभन्दा धरै एकीकृत सम्पत्ति कर उठ्ने गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै नक्सापास, घरबाटो सिफारिस लगायतका सिफारिस शुल्क, अभिलेखीकरण, व्यवसाय कर, बहाल करलगायत अन्य क्षेत्रबाट पनि राजस्व संकलन भएको नगरपालिकाकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले जानकारी दिए ।
बेंसीसहर नगरपालिकाकाले चालू आवमा ३ करोड २८ लाख १० हजार आन्तरिक राजस्व संकलन गर्ने अनुमानित लक्ष्य राखेको छ । नगरपालिकाले चालू वर्षको ६ महिनामा अनुमानित आयको ४८ प्रतिशत उपलब्धि हासिल गरेको छ । अर्धवार्षिक प्रगतिलाई हेर्दा चालू वर्षमा लक्ष्यअनुसार आन्तरिक राजस्व संकलन हुने देखिएको छ । आन्तरिक आयको क्षेत्र पहिचानका साथै क्षमताको आधारमा सबैलाई करको दायरामा ल्याउने प्रयासमा नगरपालिका लागिपरेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । जनतामा कर तिर्नुपर्छ भन्ने भावनाको क्रमशः विकास हुँदै गएको अहिलेको अवस्थामा केही व्यवसायीले भने कर तिर्न आनाकानी गरिरहेको नगर प्रमुख अर्यालको भनाइ छ ।
जनताले तिरेको करको नागरिककै हितमा उचित क्षेत्रमा प्रयोग गरिने समेत नगरप्रमुख अर्यालले बताए । विशेषगरी व्यवसाय कर र घरबहाल करसँगै ढुंगा, गिटी, बालुवाको ठेक्का प्रक्रियालाई व्यवस्थित बनाउनेतर्फ नगरपालिका लागिपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्