Logo

सगरमाथाको उत्पत्ति र दिगोपन

सगरमाथा हिमाल आरोहण गर्न सक्नुसँग जुनसुकै देशका पर्वतारोहीका लागि पनि आफ्नो प्रतिष्ठा जोडिएर रहेको हुन्छ । हरेक वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ठूलो भीडभाड हुने गरेको छ । हुन पनि पछिल्लो समय बर्सेनि कम्तीमा अवस्था हेरेर ४ देखि साढे ४ सय जनाको संख्यामा नेपाली एवम् विदेशी पर्वतारोहीले सगरमाथा आरोहण गरिरहेका छन् भने उनीहरूका साथमा जाने सरदार, प्रमुख गाइड तथा अन्य सहयोगीहरू गरेर बर्सेनि ७ सय ८० देखि ८ सय ३० जनासम्म पर्वतारोही सगरमाथा हिमालको शिरमा पाइला राख्न सफल भइरहेका छन् । त्यस्तै गरेर उनीहरूका साथमा जाने कुक, किचेन ब्वाइ, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, सम्पर्क अधिकृत, याक–नाक, एवम् प्रकारले चौँरी गोठालोसमेत गर्दा लगभग २ हजार जनाको ठूलो भीडभाड हुने गरेको छ, सगरमाथा हिमालको आधार शिविरमा । २ हजारको भीड सगरमाथा आधार शिविरमा ७५ दिनसम्म निरन्तर जारी रहने गर्छ ।

समग्रमा सरकारले पटक–पटक गरेर ४ सय ७६ वटा हिमाल पर्वतारोहणका लागि खुला गरेको छ । त्यसो भए तापनि बर्सेनि सगरमाथामै पर्वतारोहीको ठूलो भीड हुने गरेको देखिन्छ । यस्तो किन भइरहेको छ त ? सरकारले यसको सटीक एवम् चित्तबुझ्दो जवाफ दिन सक्दैन । हुन सक्छ, सगरमाथा विश्वको एकमात्रै अग्लो र ‘आइकोनिक’ हिमालका रूपमा स्थापित भएकाले गर्दा प्रायः सबै पर्वतारोहीको आकर्षण सगरमाथामै रहेको होस् । हालसम्म लगभग ९ हजार पर्वतारोहीले १२ देखि १३ हजार पटकसम्म आरोहण गर्न सफल भएका छन् । नौ हजार पर्वतारोहीले १२–१३ हजार पटक आरोहण गर्न कसरी सफल भए ? भन्दा एकै व्यक्तिले आठौँ–नवौँदेखि तीसौँ–एकतीसौँ पटकसम्म सगरमाथा आरोहण गरिसकेका छन् ।

सोलुखुम्बु जिल्लाको थामे गाउँका कामीरिता शेर्पाले सन् २०२४ को वसन्त ऋतुमा एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेर ३० औँ पटक सगरमाथा आरोहण गरेका थिए भने उनै कामीरिताले यो वर्ष (सन् २०२५) को वसन्त ऋतुमा ३१ औँ पटक सगरमाथा आरोहण गरेर गत वर्षको आफ्नै विश्व कीर्तिमान भंग गरेका छन् । अहिलेसम्म सगरमाथा आरोहणको सन्दर्भमा कामीरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण गरेर दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन् । त्यस्तै सोलुखुम्बुकै पासाङदावा (पा दावा) शेर्पाले पनि यही वर्षको वसन्त ऋतुमा २९ औँ पटक सगरमाथा हिमाल आरोहण गरेर दोस्रो धेरै पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही बन्न सफल भएका छन् ।

भूगर्भविद् एवम् वैज्ञानिकहरूका अनुसार सगरमाथा हिमाल ‘ग्रे लाइमस्टोन’ले बनेको हो । सगरमाथा हिमाल आजभन्दा १ करोड ५२÷५३ लाख वर्षदेखि १ करोड ५९–६० लाख वर्षअघि उत्पत्ति भएको हो । टेथिस महासागर टेक्टोनिक प्लेट सर्ने–चल्ने क्रममा वा भनौँ ‘अप–हिभल’ सिद्धान्तअनुसार सगरमाथा हिमालले अहिलेको रूपमा आकार लिएको हो । अहिले अस्तित्वमा नरहेको ‘टेथिस महासागर’ त्यो बेला आजको एसिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रसम्म पैmलिएको थियो । करिब ४०–४१ मिलियन वर्षअघि ‘टेथिस महासागर’ उत्तरतर्फ सर्दै गएर आजको आल्पस पर्वतमालाका साथै हिमालय पर्वतमाला बनेको हो । त्यस्तै गरेर करिब ८०–८१ मिलियन वर्षअघिको समयमा आजको भारत ६ हजार ४ सय किलोमिटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो ।

सगरमाथा हिमाल आरोहणको इतिहास हेर्दाखेरि सन् १९२१ सम्म पुग्नुपर्ने हुन्छ । त्यसयता सन् २०२४ को वसन्त ऋतुसम्म नेपाललगायत विभिन्न देशका करिब ८ हजार पर्वतारोहीले १२–१३ हजार बढी पटक आरोहण गरेका छन् । त्यसको कारण भनेको एकै जना पर्वतारोहीले एकभन्दा बढी पटक सगरमाथा आरोहण गरेकाले हो ।

सगरमाथा हिमाल आरोहीका लागि मात्रै आकर्षणको विषय नभएर सगरमाथा आरोहण गर्न अनुमतिपत्र वा भनौँ परमिट जारी गरेबापत कमाइ गर्ने नेपाल सरकारका साथै सगरमाथा हिमाल आरोहण गराउने विभिन्न पर्वतारोही कम्पनीहरूका लागि पनि धेरै आकर्षणको विषय बनेको छ । यसो हुनुको कारण नेपाल सरकारले सगरमाथा आरोहण गर्न आउने विभिन्न देशका पर्वतारोहीबाट ठूलो मात्रामा सलामी दस्तुर संकलन गर्ने गर्छ । त्यस्तै विभिन्न देशका पर्वतारोहीहरूलाई सगरमाथा हिमाल आरोहण गर्न आकर्षित गर्दै विभिन्न सञ्चारमाध्यममा विज्ञापन निकालेर आह्वान गर्दै नेपालसम्म ल्याएर सगरमाथा आरोहण गराउने स्वदेशी तथा विदेशी पर्तारोहण कम्पनीले पनि ठूलो मात्रामा कमाइ गर्ने गरेका छन्, सगरमाथा हिमालबाट ।

त्यस्तै, सगरमाथा आरोहीका साथमा जाने कुक, किचेन ब्वाइ, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, सम्पर्क अधिकृत, लुक्ला तथा नाम्चेबजारबाट भारी खेप्ने–बोक्ने याक–नाक र चौँरीको गोठालोसमेत गर्दा कम्तीमा पनि २१–२२ सय जनाले बर्सेनि राम्रै कमाइ गर्ने गर्छन् । नेपाल सरकारले मात्रै सगरमाथा हिमाल आरोहण गर्न अनुमति जारी गरेबापत बर्सेनि ६५–६६ देखि ७३–७४ करोड आम्दानी गरिरहेको देखिन्छ । त्यसैले सगरमाथा हिमालले प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा बर्सेनि अर्बौं रकमबराबरको विदेशी मुद्रा आय आर्जन गरिरहेको देखिन्छ ।

तर, यसरी ‘सुनको फुल पार्ने कुखुरी’को रूपमा रहेको सगरमाथा हिमाललाई दीर्घकालसम्म बचाउनका लागि अब हामी लागिपर्ने कि नपर्ने ? गम्भीर प्रश्न खडा भएको छ । त्यसैले सगरमाथा हिमालको कमाइबाट हामी मक्ख मात्रै नपरी सगरमाथा हिमालको दिगोपना र दीर्घकालसम्म बचाइराख्नेतर्फ हामीले तत्कालै केही न केही कदम चाल्नैपर्छ । सन् २०२२ को फेब्रुअरी ५ मा बीबीसी नेपाली सेवाले आफ्नो अनलाइन संस्करणमा प्रकाशित गरेको रिपोर्टअनुसार सगरमाथा हिमालको आसपास रहेका हिमनदीमा विगत २ हजार वर्षदेखि जमेर रहेको बरफ केही वर्षअघिदेखि तीव्र गतिमा पग्लन थालेको छ । सो रिपोर्टमा जनाइएअनुसार ७ हजार ९ सय मिटरको उचाइमा रहेको साउथ कोल र त्यसवरिपरि रहेको ग्लेसियरको बरफ पग्लिने क्रम पनि ८० गुणाले छिटो रहेको देखाएको छ । यसले सगरमाथा हिमालको भविष्य नकारात्मक रहेको संकेत गर्दै छ ।

निश्चय नै अब सगरमाथा हिमालको आयु छोटिँदै छ, सगरमाथाको आयु घट्दै छ । त्यसैले सोचौँ त, केही गरी सगरमाथा हिमालको आयु लामो समयसम्म रहेन भने के होला ? वा सगरमाथा हिमालको आयु लामो समयसम्म रहे तापनि सगमाथामा हिउँ पर्न छाड्यो अथवा भनौँ बरफ जम्न छाड्यो भने ढुंगैढुंगा र कडा चट्टानी भीर–पहराका बाटो भएर मात्रै सगरमाथा हिमालको शिरमा पुग्न ‘जस्तै मै हुँ’ भन्ने नामुद पर्वतारोहीलाई पनि धेरै गाह्रो र असम्भवजस्तै हुनेछ । यो वर्षको वसन्त ऋतुमा ३१ औँ पटक सगरमाथा आरोहण गर्न सफल भएका कामीरिता शेर्पाका अनुसार पहिले–पहिले जुन महिनाको ५, ६ तारिखसम्म पनि आइस जमेर धेरै कडा रूपमा रहन्थ्यो, आइस जमेको हुन्थ्यो । फलतः आइसमा गाडेको ‘आइस स्क्रु’ निकाल्न गाह्रो हुन्थ्यो । तर, अहिले त मे महिनाको २६, २७ तारिखतिरै सगरमाथाको क्याम्प–२ मै खोला बग्न थालेको छ । त्यसैले बेला छँदैखेरि हामी सबैले सगरमाथा हिमालको दिगोपना र लामो आयु राख्ने सम्बन्धमा गम्भीर छलफल गरौँ है ।

प्रतिक्रिया दिनुहोस्