Logo

वाणिज्य बैंकहरुले जेठमा दिए ३६ अर्ब कर्जा

काठमाडौं– चालु आर्थिक वर्षको अन्तिम समय हुन लाग्दा ऋण लगानीमा सुधार आएको छ ।

सरकार तथा अन्य निकायले पछिल्ला महिनाहरुका तुलनामा अहिले कर्जाको माग बढाएका छन् । यसले कर्जा विस्तार बढेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

गएको जेठमा मात्र वाणिज्य बैंकहरूले ३६ अर्ब कर्जा लगानी गरेका छन् । वैशाखमा ४ अर्ब रुपैयाँ घटेको कर्जा विस्तार जेठमा केही बढेको हो । वैशाखसम्ममा वाणिज्य बैंकहरूको कर्जा लगानी ४९ खर्ब ११ अर्ब रुपैयाँ थियो । जेठ मसान्तसम्म आउँदा ४९ खर्ब ४७ अर्ब पुगेको छ । यो तथ्यांकअनुसार जेठमा मात्र ३६ अर्ब रुपैयाँ कर्जा लगानी बढेको देखिन्छ ।

गत चैतसम्ममा वाणिज्य बैंकहरुले ४९ खर्ब १५ अर्ब कर्जा लगानी गरेका थिए । वैशाखमा ४ अर्ब घटेर ४९ खर्ब ११ अर्ब रुपैयाँमा झरेको थियो । जेठमा भने ३६ अर्ब बढ्न पुगेको हो ।

यो वर्ष सबैभन्दा बढी कर्जा लगानी पुसमा भएको थियो । पुसमा ९४ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा त्यसपछि फेरि घटेको बैंकर्स संघको तथ्यांक छ । पुसमा ९४ अर्ब कर्जा लगानी भए पनि चैतमा वाणिज्य बैंकहरूले ६५ अर्ब लगानी गरेका थिए । यसपछि गत भदौमा ५६ अर्ब कर्जा लगानी भएकोमा साउनमा ५३ अर्बमा झरेको थियो । यस्तै, मंसिरमा ४२ अर्ब ऋण विस्तार भएकोमा त्यसपछि सोभन्दा कम कर्जा विस्तार भएको छ । गत असारको तुलनामा साउनमा २ अर्ब कर्जा विस्तार बढेको थियो । २०८१ असारमा ४५ खर्ब ७१ अर्ब पुगेको वाणिज्य बैंकहरूको कर्जा विस्तार साउनमा २ अर्ब बढेको थियो भने कात्तिकमा २ अर्ब घटेको थियो ।

बैंकहरूले २०८१ असारदेखि २०८२ जेठसम्ममा ३ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । गत आवको भन्दा अहिले कर्जा केही बढ्दै गएको तथ्यांकले देखाएको हो । यद्यपि, यो वृद्धि पर्याप्त वा अपेक्षित गतिको भने होइन । बैंकरहरूका अनुसार अहिले सुस्त गतिमै भए पनि कर्जा बढेको देखिएको छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ वैशाखमा ऋणात्मक रहेको कर्जा वृद्धि जेठमा केही बढेको बताउँछन् । ‘यो वृद्धि विगतको ट्रेन्डअनुसार नै छ । वैशाखमा घटेर जेठमा बढ्नु सकारात्मक हो,’ उनले भने ।

जेठपछि असारमा पनि कर्जा केही बढ्ने उनको अनुमान छ । यद्यपि, त्रैमासको अन्त्यमा किस्ता र ब्याज तिर्नुपर्ने भएकाले केही दबाब भने रहने देखिन्छ । बैंकहरूको कर्जा विस्तारमा भएको सामान्य वृद्धिलाई हेर्दा अर्थतन्त्रले सुस्त लयमै भए पनि गति लिँदै गएको जानकारहरुको बुझाइ छ । बैंकरहरू पनि अहिले केही हदसम्म कर्जाको माग हुन थालेको बताउँछन् । ‘अहिले विप्रेषण आप्रवाह बढेकाले निक्षेपमा सुधार भइरहेको अवस्थामा बैंकहरू कर्जा दिनका लागि सहज अवस्थामा छन्,’ अर्का एक बैंकरले भने । कर्जा सुस्त गतिमै वृद्धि भइरहे पनि अपेक्षित गतिमा अगाडि बढ्न नसकेको उनले बताए ।

सीईओ खालिङले पनि अहिले अर्थतन्त्रमा केही सुधार भएको बताए । ‘कर्जाको आधारमा भने सुधार हुन सकेको छैन । आयातमा केही सुधार भएकाले कर्जा विस्तार बढाउन सहयोग पुगेको हो,’ उनले भने । निर्माण क्षेत्रमा पछिल्ला महिनाहरूमा कर्जा प्रवाह बढिरहेको छ । यसले पनि समग्रमा कर्जा विस्तार देखिएको बैंकरहरू बताउँछन् । ‘एकातिर आयात बढ्दै गएको छ, अर्काेतिर निर्माण क्षेत्र पनि चलायमान हुँदैछ । त्यसकारण कर्जा विस्तार लयमा फर्कने दिशा उन्मुख छ,’ एक सीईओले भने ।

सानिमा बैंकका सीईओ निश्चल पाण्डेले अहिले जलविद्युत परियोजना निर्माण भइरहेका कारण त्यसतर्फको कर्जा बढेको बताए । परियोजना निर्माणले गति लिँदा समग्र कर्जा विस्तारमा यसले सकारात्मक माहोल सिर्जना गर्न लागेको उनको भनाइ छ । ‘अहिले हाइड्रोतिर कर्जा बढेको छ, मार्जिन लेन्डिङ पनि केही बढेको छ,’ उनले भने । आयात केही बढ्दा र मार्जिन लेन्डिङ कर्जाको नीतिमा लचकता अपनाउँदा कर्जा बढेको उनले बताए । अहिले केही मात्रामा घर कर्जा पनि बढेको छ । सीईओ पाण्डेले यसले अर्थतन्त्रमा सामान्य सुधार देखिए पनि अहिले नै सुधार भइहाल्यो भन्ने अवस्था भने नरहेको बताए ।

निर्माणको काम साउनदेखि असोजसम्म धेरै नहुने, मनसुन सक्रिय हुने लगायतका कारण कर्जाको माग नबढ्ने तर भदौपछि चाडपर्वको समयमा भने बढ्न सक्ने जानकारहरु बताउँछन् । राष्ट्र बैंकले पनि निर्माण क्षेत्रको कर्जा विस्तार अन्यको भन्दा राम्रो देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढाएको राष्ट्र बैंकको तथ्यांक छ । यसमा निर्माण क्षेत्रमा मात्रै १२.३ प्रतिशतले कर्जा प्रवाह बढेको छ । राष्ट्र बैंकका अनुसार यो क्षेत्रमा प्रवाहित कर्जा वैशाख मसान्तसम्ममा २ खर्ब ३३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा यस क्षेत्रमा २ खर्ब ७ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

गत वर्षको १० महिनासम्ममा ९.८ प्रतिशतले कर्जा प्रवाह बढेको थियो । गत साउनमा ०.४ प्रतिशतले ऋणात्मक रहेको निर्माण क्षेत्रमा प्रवाहित कर्जा त्यसयता बढ्दै गएको छ ।

निक्षेप ७० खर्ब नाघ्यो, कर्जा ६२ खर्ब
बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब नाघेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार यो रकम ७० खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरूमा ६२ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने विकास बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप रकममध्ये आधाभन्दा बढी मुद्दती निक्षेपमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुल निक्षेपबाट बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरूले ४९ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेका छन् । यस्तै, विकास बैंक तथा अन्य वित्तीय संस्थाहरूले लगानी गरेको कर्जा ६ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।

-बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ७८.३९ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्