‘भिजिट मधेस–२०८३’
पर्यटनलाई ब्रान्ड बनाउनेसहितका योजना सार्वजनिक

बारा– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन विकास र प्रवर्द्धनको महत्त्वाकांक्षी योजनासहित भिजिट मधेस २०८३ घोषणा गरेको छ । घोषणासँगै पर्यटन बजारमा मधेस ब्रान्डले लय समात्ने विश्वासका साथ प्रदेश सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी उत्साही बनेका छन् ।
भिजिट मधेसले स्थानीय अर्थतन्त्रमा योगदान बढाउने, विदेशी मुद्रा आर्जन हुने तथा रोजगारी व्यापक बन्दै जानेमा निजी क्षेत्र उत्साहित बनेको हो भने प्रदेश सरकारले भिजिट मधेस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा मधेस नै ब्रान्डिङ हुने बिश्बास लिएको हो ‘भारतको अयोध्या मन्दिरमा आउने पर्यटकलाई जनकपुर डाइर्भट गर्ने गरी जानकी मन्दिर फोकस नै हाम्रो प्रमुख लक्ष्य हो । त्यसैअनुसार ‘भिजिट मधेस २०८३’ कार्यान्वयन हुने गरी घोषणा गरेका हाैं,’ मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहले भने, ‘जानकी मन्दिरलाई मुख्य आधार बनाएर प्रदेशका ४० पर्यटकीय स्थललाई रुटमार्फत कनेक्ट गर्छौं । यो वर्ष पूरै फोकस भिजिट मधेसमा केन्द्रित हुन्छौं र आगामी २०८३ वैशाख १ मा पर्यटनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ‘भिजिट मधेस २०८३’ सुरुआत गरेर मधेसलाई ब्रान्डको रुपमा परिचित गराउने योजना छ ।’
नाट्टाका मधेस प्रदेश अध्यक्ष मोहन शर्माले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका रणनीतिअन्तर्गत पर्यटन व्यवसायी र सरोकारवालासँगको छलफलपछि आएको ‘भिजिट मधेस २०८३’ले अब मधेस तेस्रो मुलुकका पर्यटकलाई अवलोकन र भारतका धार्मिक पर्यटकका लागि अनुष्ठान केन्द्र बन्ने बताए ।
‘घोषणा गरिसकेपछि पर्यटनमा लगानी केही निजी क्षेत्रबाट पनि बढ्छ । सरकारी क्षेत्रबाट पनि बढ्छ,’ अध्यक्ष शर्मा भन्छन्, ‘मधेस सरकारको घोषणा मात्रै देखिँदैन, सँगै पर्यटन प्रवर्द्धनमा तोकिएर बजेट नै छुट्याइएको छ । भिजिट मधेसले गति लिन्छ र यो सफल हुनेमा विश्वस्त छाैं ।’ हाल जनकपुर आउने ८० प्रतिशत पर्यटक भारतीय हुने गरेको नाट्टाको दाबी छ ।
‘अभियान सफल बनाउन निजी क्षेत्रको भन्दा राज्यको दायित्व बढी हुने गर्छ,’ शर्माले भने, ‘संघीय सरकारले समेत प्रदेशको यो अभियानमा चुनौती हुने ठाउँ जस्तै, अनावश्यक चेकजाँच, हवाई कनेक्टिभिटी, भन्सारलगायतमा सरलीकरण गरिदिनुपर्छ र भिजिट मधेसको लक्ष्य पूरा गर्न लगानीमा समेत साथ दिनुपर्छ ।’
हानका मधेस प्रदेश अध्यक्ष सुरेन्द्र श्रेष्ठले प्रदेश सरकारले अन्यत्रजस्तो चल्तीका लागि घोषणा मात्रै गर्ने र सम्बन्धित परियोजनाबारे वास्ता नगर्ने देखिए पनि ‘भिजिट मधेस २०८३’ घोषणामा त्यस्तो नदेखिएको बताए । उनले भने, ‘घोषणासँगै पर्यटनसँग जोडिएका महत्त्वपूर्ण क्षेत्रको विकास, सम्पदा संरक्षणलगायत काम पनि सँगै लैजाने रणनीति बजेटमै उल्लेख भएकाले पर्यटन व्यवसायीमा विश्वास र उत्साह थपेको छ ।’
होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले भिजिट मधेसले सेवामूलक व्यवसायमा थप लगानी बढ्ने, रोजगार व्यापक बन्दै जाने तथा मधेसमा पनि पर्यटन क्षेत्रको लगानीमा भविष्य सुरक्षित हुनेमा लगानीकर्तामा विश्वास बढ्ने धारणा व्यक्त गरे । पर्यटक लक्षित यसअघि नै मधेसमा एउटा पाँचतारे र दर्जन बढी तीनतारे होटल सञ्चालनमा छन् भने सिमरामै थप दुई पाँचतारे होटल निर्माण तयारी थालिएको छ ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा मधेसका ४० वटा प्रमुख पर्यटकीय गन्तव्यको स्तरोन्नति, ट्राभल एन्ड टुर समिट, भारतको अयोध्यामा जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्त्वको फिचर प्रचार तथा पर्यटन आवागमनमा सहजता ल्याउन प्रदेशका आठवटै जिल्ला सदरमुकाम जोड्ने पोडवे निर्माण गरिने उल्लेख छ । प्रदेश सरकारले ३ अर्ब ८ करोड ७१ लाख ७४ हजार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि बजेट छुट्याएको छ ।