कास्कीमा घर जग्गा कारोबार बढ्दो

पोखरा– कास्कीमा घर जग्गा कारोबार पछिल्लो समयमा बढ्न थालेको छ । सरकारले नीति नियम केही खुकुलो र लचिलो बनाएसँगै कारोबार बढ्न थालेको व्यवसायीले बताएका छन् । गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघ पोखराका निवर्तमान अध्यक्ष अरुणस्तोम त्रिपाठीले कास्कीमा घर जग्गा कारोबार बढ्न थालेको बताए । चितवनको भन्दा केही कम भएपनि गण्डकी प्रदेशमा घर जग्गा कारोबार बढेको उनले बताए ।
कोभिडअघिको अवस्थामा घर जग्गा कारोबारको अवस्था आउन अझै केही वर्ष कुर्नुपर्ने उनको तर्क थियो । मालपोत कार्यालय कास्कीमा पछिल्लो वर्षमा राजस्व वृद्धि हुनुले पोखरामा घर जग्गासहित रजिष्ट्रेशन पास गर्नेको संख्या वृद्धि भएको मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेलले बताए । पछिल्ला वर्षमा कार्यालयमा राजस्व बढी संकलन हुन थालेको छ ।
कार्यालयले विगत दुई वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व बढी संकलन गर्न सफल भएको प्रमुख पौडेलले दाबी गरे । चालु आर्थिक वर्षको ९ महिनामा कार्यालयले एक अर्ब ३६ करोड ७० लाख राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले एक अर्ब ४३ करोड ५१ लाख रुपैयाँँ राजस्व संकलन गर्न सफल भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब ३४ करोड २ लाख राजस्व संकलन भएको थियो ।
कार्यालयले रजिष्ट्रेशनबाट मात्र ७७ करोड २८ लाख राजस्व संकलन गर्दा अन्य प्रशासनिक शुल्कबाट भने ११ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । त्यसै गरी पुँजीगत लाभकरबाट ४८ करोड ६ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ । शहरी क्षेत्रमा ६ हजार २८४ र ग्रामीण क्षेत्रमा १ हजार ३४ वटा गरी ७ हजार ३१८ वटा रजिष्ट्रेशन लिखितको संख्या रहेको मालपोत कार्यालय कास्कीले दिएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै धितो कारोबारतर्फ ७ हजार ४४ वटा रहेको छ । धितो कारोबार गर्ने शहरी क्षेत्रमा ६ हजार ५१५ हुँदा ग्रामीण क्षेत्रमा ५२९ वटा मात्र रहेको प्रमुख पौडेलले बताए । संकलन भएको उक्त राजस्व प्रदेश सरकार, संघीय सरकार हुदै स्थानीय पालिकालाई राजस्व बाँडफाँटसमेत भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तरसम्म गण्डकी प्रदेश सरकारले ४१ करोड ९४ लाख राजस्व प्राप्त गरेको छ भने पोखरा महानगरपालिकाले ४३ करोड ७७ लाख राजस्व पाएको छ ।
संघीय सरकारले पुँजीगत लाभकर शीर्षकमा ४८ करोड ६ लाख रुपैयाँँ राजस्व संकलन गरेको छ । त्यसैगरी, अन्नपूर्ण गाउँपालिकाले २३ लाख ९० हजार, माछापुच्छ्रे्र, गाउँपालिकाले ४६ लाख ८१ हजार र मादी गाउँपालिकालाई २३ लाख ७३ हजार रुपैयाँ राजस्व बाँडफाँट भएको हो । पछिल्लो समय कास्कीमा भएको जग्गा कारोबार, दाखिला खारेज र रजिष्ट्रेसन सम्बन्धी क्रियाकलापको वृद्धिले आम्दानी बढाउन सहयोग पुगेको कार्यालयले जनाएको छ ।
यसैबीच, अर्ब राजस्व संकलन गर्ने कार्यालयको भवन भने जीर्ण र पुरानो हुँदा कर्मचारी र सेवाग्राहीलाई सास्ती भोग्नु परेको छ । पुरानो मोडलका ब्लक ब्लकमा जस्ताका छानो भएका भवनमा आवश्यक डकुमेन्टसमेत राख्न मुस्किल भएको कर्मचारीले गुनासो गरे । एउटै भवनमा सबै सेवा दिने गरी भवन निर्माण गर्नसके सेवाग्राहीलाई समेत सहज हुने स्थानीयले बताए ।