Logo

ठोरी गाउँपालिकाको बजेट सार्वजनिक

अन्य स्थानीय तह गाउँसभाको तयारीमा

वीरगन्ज – ठोरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी वर्षको लागि ५१ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाको आम्दानीका मुख्य स्रोतहरूमा आन्तरिक राजस्व, राजस्व बाँडफाँड, अन्य आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण र जनसहभागिता रहेको छ ।

गाउँपालिकाले आन्तरिक राजस्वबाट ३० लाख रुपैयाँ प्राप्त हुने लक्ष्य छ । संघ र प्रदेशबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट कुल ७ करोड ४ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यसमध्ये संघबाट ६ करोड ९७ लाख रुपैयाँ र प्रदेशबाट ७ लाख रुपैयाँ प्राप्त हुनेछ । साबिक स्थानीय निकायबाट हस्तान्तरण भई प्राप्त रकम, बेरुजु असुली र गत वर्षको नगद मौज्दात गरी अन्य आय शीर्षकमा ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।

त्यस्तै अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा वित्तीय समानीकरण अनुदानबापत ९ करोड ३७ लाख, सशर्त अनुदानबापत २१ करोड ४२ लाख, समपूरक अनुदानबापत ५० लाख, विशेष अनुदानबापत १ करोड १२ लाख, स्थानीय शासन सामुदायिक विकास कार्यक्रमबापत ३ लाख ९२ हजार, र सामाजिक सुरक्षा भत्ताबापत ९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

यसैगरी, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा वित्तीय समानीकरण अनुदानबापत ६५ लाख, सशर्त अनुदानबापत ५० लाख, विशेष अनुदानबापत ३० लाख र समपूरक अनुदानबापत २० लाख रुपैयाँ रहने अनुमान गरेको छ । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष गोकुली कुमारी रेग्मीले बुधबार प्रस्तुत गरेको बजेट पारित भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले बताए ।

यसैबीच ठोरी बाहेक पर्साका अन्य स्थानीय तहहरू गाउँसभाको तयारीमा जुटेका छन् । मधेश प्रदेशको एक मात्र महानगर वीरगन्जको नगरसभाको तयारीका लागि कार्यपालिका बैठक सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिकाको नगरसभा असारको ८ र ९ गते आह्वान गर्ने प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बताए ।

पर्साको तीनवटा नगरपालिकामध्ये पर्सागढी नगरपालिकाले पनि असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको नगरप्रमुख गोकर्ण पाठकले बताए । पोखरिया नगरपालिकाको नगरसभाको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले बताए । असार ९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको उनले बताए ।

त्यसैगरी बहुदरमाई नगरपालिकाको नीति तथा कार्यक्रम असार ८ गते ल्याउने तयारी गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवका अनुसार असार ८ गते नीति तथा कार्यक्रम ल्याउने र त्यसपछि बजेट प्रस्तुत गरिने छ । सखुवा प्रसौनी गाउँपालिकाको असार १० भित्रै नीति तथा कार्यक्रम आउने गाउँपालिकाका सूचना अधिकारी अरविन्द ठाकुरले जानकारी दिए ।

जगरनाथपुर गाउँपालिकाले पनि असार ९ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले बताए । धोविनी गाउँपालिकाको पनि असार १० गते भित्रै नीति तथा कार्यक्रम आउने प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले बताए ।

पटेर्वा सुगौली गाउँपालिकाले पनि असार १० गते भित्रमै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले बताए । १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा जीराभवानी, कालिकामाई, पकाहामैनपुर र छिपहरमाई गाउँपालिकाको भने नीति तथा कार्यक्रमको अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्