रुद्राक्षमा रमाउँदै किसान «

रुद्राक्षमा रमाउँदै किसान

उदयपुर-पछिल्लो समय उदयपुरको ग्रामीण क्षेत्रका किसान रुद्राक्षको व्यावसायिक खेतीमा आकर्षित भएका छन् । रुद्राक्ष बिक्रीमा कुनै समस्या नभएपछि किसान यसतर्फ आकर्षित हुँदै गएका हुन् ।
काठमाडौँ, धरान, विराटनगर, जनकपुर लगायतका ठाउँका व्यापारीलाई खबर गर्न साथ घरमै आएर खरिद गर्न थालेपछि किसानले बिक्रीका लागि झण्झट व्यहोर्नु परेको छैन । उत्पादन भन्दा पनि बढी माग भएपछि किसानको आकर्षण अझ बढ्दै गएको छ ।
अन्य व्यापार व्यवसाय र खेती नै छाडेर गाउँघरका बारीमा किसानले व्यावसायिकरुपमा रुद्राक्षको खेती लगाएका हुन् । ५ रोपनी जग्गामा रुद्राक्षको व्यवासायिक खेती सुरु गरेका उदयपुरगढी गाउँपालिका–७ नाङ्ग्रागेका अम्बरबहादुर केप्छाकीले एउटै बोटबाट वार्षिक एक लाख रुपैयाँसम्म कमाई हुने गरेको बताए ।
“बहुमूल्य चौधमुखे रुद्राक्ष प्रतिगोटा १२ हजार रुपैयाँसम्म बिक्री गरेको छु,” उनले भने, “त्यस्ता कहिले काहिँ भेटिन्छन्, जुन अरुभन्दा मूल्यवान छन् ।” रोपेको करिव ५ वर्षमा रुद्राक्षले आम्दानी दिने गरेको उनले सुनाए । बैशाख जेष्ठमा फल्न सुरु गर्ने र साउन, भदौमा पाक्न थालेपछि चराचुरुङ्गीसमेतले फललाई आक्रमण गरी अन्यत्र लैजाने गरेकाले बहुमूल्य रुद्राक्षलाई सुरक्षा चाहीँ गर्नु पर्ने उनले बताए ।
टिप्ने समयमा रुद्राक्ष चोरी हुन थालेपछि कतिपय किसान रातभर कुरेर बस्ने गरेको पञ्चावतीका केशव पाण्डेले बताए । मनग्ये आम्दानी र कम झण्झट हुने भएपछि गाउँघरका छरछिमेकीले घरका आसपासमा विरुवा रोप्न सुरु गरेको पाण्डेको भनाई छ । नेपाली बजारमा एक्काइसमुखे रुद्राक्षको मूल्य ८० लाख रुपैयाँसम्म पर्ने गरेको सुनेको उनले बताए ।
हालसम्म उदयपुरमा १९ मुखे रुद्राक्षसम्म फलेको र ८० हजार रुपैयाँमा बेचबिखन भएको व्यवसायी बताउँछन् । उदयपुरगढी गाउँपालिकाको अधिकांश भूगोल चिसो मौसम, फोँट जग्गासँगै हावापानी मिलेको क्षेत्र भएकाले स्थानीयले रुद्राक्ष खेती सुरु गरेको गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरको भनाई छ ।
उनले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन रुद्राक्ष खेतीका लागि गाउँपालिकाले सहयोग गर्ने बताए । “रुद्राक्षको व्यावसायिक खेती आगामी वर्ष यो गाउँपालिकाभरी नै लगाउने गरी योजना बनाउँदै छौं” मगरले भने, “उदयपुरगढीका साथै छिमेकी रौतामाई गाउँपालिकामा पनि रुद्राक्षको खेती सुरु गरिएको छ ।”
उदयपुरगढी गाउँपालिका ४ का विष्णु पराजुली बहुमूल्य रुद्राक्ष बेचबिखन गरी घरपरिवार पाल्न सहज भएको बताउँछन् । उनले बहुमूल्य बाहेकका रुद्राक्षको माला बनाएर प्रतिमाला एक सय रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । रुद्राक्षको माला हिन्दु धर्मालम्बीले गीता पाठ गर्न र बौद्ध धर्मालम्बीले ध्यान गर्नु अघि प्रयोग गर्छन् । पछिल्लो समय पाहुनको स्वागत र कार्यक्रमका अतिथीलाई खादाको साटो रुद्राक्षको माला लगाइने चलन सुरु भएको छ । रुद्राक्षको माला वातावरणमैत्री, स्वास्थ्यका लागि लाभ र व्यावसायिक प्रवद्र्धनका हिसावले पनि उपयुक्त हुने भएकाले यसको माग बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्